📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goनेपालमा आएको विनाशकारी बाढीपछि त्रासदी, पुनर्मिलन र बिछोडका हृदयविदारक कथाहरू अहिले संसार भरिकै मिडियामा आइरहेका छन्।
तीमध्ये आफ्नी नव-विवाहित श्रीमतीसहित परिवारका सदस्यहरू बाढीमा बेपत्ता भएपछि बेलायतबाट नेपाल पुगेर उनीहरूको खोजीमा भौँतारिरहेका ३४ वर्षीय प्रमोद पौडेलको पीडादायी कथा बेलायती सञ्चारमाध्यममा विशेष चर्चाको विषय बनेको छ।
बिबिसी, द सन लगायतका मिडियाले उनको स्टोरीलाई प्रमुखताका साथ लेखेका छन्।
गत बुधवार बिहान बेलायती समयअनुसार झन्डै ४:१५ बजे अर्थात् नेपालमा बिहानको करिब ९ बजेका बेला प्रमोद र उनकी श्रीमती सुमित्राबिच फोनमा छोटो कुराकानी भएको थियो।
कुराकानी सामान्य र छोटो थियो। फोन राख्नुअघि सुमित्राले प्रमोदलाई सधैँ झैँ भनेकी थिइन्–”आइ लभ यु!”
३४ वर्षीय प्रमोद र २५ वर्षे सुमित्राको विवाह तीन महिनाअघि गत जुन महिनामा मात्रै भएको थियो। बिहे गरेको केही समयमै श्रीमतीलाई आफ्नो परिवारसँग छाडेर प्रमोद बेलायत फर्किएका थिए।
नुवाकोटको विदुर नगरपालिकास्थित सोले बजारमा जन्मे हुर्केका प्रमोद करिब १६ वर्ष अघि १८ वर्षको उमेरमा बेलायत पुगेका थिए। अहिले बेलायती नागरिक समेत रहेका उनी त्यहाँ फुड ट्रक व्यवसाय चलाउँछन् र साथीभाइबिच “पेड्रो” नामले परिचित छन्।
विपद् पछि आफन्त खोज्नेमा प्रमोद एक्ला भने होइनन्। अहिले खण्डहर जस्तै बनेका सोले बजार र बेत्रावतीमा हरेक दिन हराएका आफन्तहरू खोज्न आउनेको भीड नै छ।

बाढीले उजाड बनाएको उनको संसार
“आइ लभ यु!” भन्ने सुमित्राको त्यो वाक्य नै उनले श्रीमतीबाट सुनेको अन्तिम वाक्य बन्न पुग्यो।
त्यो कुराकानीको केही मिनेटपछि नै प्रकृतिले रचेको बज्रपातले आफ्नो जीवनमा के आइपर्छ भन्ने प्रमोदलाई सामान्य आभाससम्म थिएन।
त्यही दिन बिहान ठ्याक्कै त्यही समयतिरै तिब्बततर्फको हिमालबाट आएको बरफ, ढुङ्गा र हिलोसहितको भीषण हिमाली सुनामीले नेपालका कैयौँ बस्तीहरू तहसनहस पार्यो। त्यही बाढीले प्रमोदको जन्मथलो सोले बजारलाई पनि उजाड बनायो। छिमेकी बेत्रावती बजार पनि सोतर भयो।
प्रमोदकी पत्नी सुमित्रा, ५२ वर्षीय आमा तुल्सा, ३१ वर्षीय भाइ प्रदीप र ६४ वर्षीय काका माधव पनि सोही बाढीमा बेपत्ता भए।
बाढीको खबर सञ्चार माध्यममा जताततै फैलियो। तुरुन्तै घरमा सम्पर्क गरेका उनको परिवारका कसैसँग पनि फोन सम्पर्क हुन सकेन।
गह्रौँ मन र परिवारका सदस्यहरू भेटिइहाल्लान् कि भन्ने केही आशा बोकेर उनी शुक्रवार हतार-हतार नेपाल उडे।
उनको घर पुग्ने पुल पनि बाढीले बगाइदिएका कारण उनी शनिवार केही आफन्तहरूसँगै करिब २,००० मिटर उचाइको पहाडी बाटो हिँडेरै आफ्नो घर सोले बजार पुगे।
शनिवार देखी नै उनी आफ्ना प्रियतमहरू आमा, श्रीमती, भाइ र काकाको खोजीमा भौँतारिरहेका छन्। तर अहिलेसम्म न सास भेटिएको छ, न लास।
“म अहिले कस्तो महसुस गरिरहेको छु भनेर वर्णन गर्ने शब्द नै मसँग छैन। म अझै पनि मेरो परिवार भेटिनेमा आशावादी छु र भगवानसँग प्रार्थना गरिरहेको छु।” उनले बेलायती मिडियालाई दिएको प्रतिक्रियामा भनेका छन्।
विपद् पछि आफन्त खोज्नेमा प्रमोद एक्ला भने होइनन्। अहिले खण्डहर जस्तै बनेका सोले बजार र बेत्रावतीमा हरेक दिन हराएका आफन्तहरू खोज्नेको भीड नै छ।
बाढीअघि नुवाकोटको सोले बजारमा झन्डै ६० घर र १५० भन्दा बढी बासिन्दा थिए। प्रमोदका अनुसार गाउँका करिब ९० प्रतिशत घर र बासिन्दा बाढीले बगाएको छ। आफ्नो जन्मथलो चिन्नै नसकिने गरी परिवर्तन भएको देखेर उनी स्तब्ध छन्।
यो एउटा परिवारको मात्र वियोग भने होइन। गत बुधवार देखी सिङ्गो नेपाल नै रोइरहेको छ। नेपालका छिमेकी र मित्रराष्ट्रहरूले यो पिडामा सहयोग र सहानुभूतिका मल्हम लगाइरहेका छन्। अनि देशको पिडामा विदेशमै छटपटाइरहेका प्रवासी नेपालीहरूले मन खुल्ला बनाएर आर्थिक सहयोग पठाइरहेका छन्।
आजै नेपाल सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो अहिलेसम्म यो विपत्तिमा परि कम्तीमा ९०३ जनाले ज्यान गुमाइसकेका छन् भने ४२२७ जना अझै बेपत्ता छन्। अनि एक लाखभन्दा बढी प्रत्यक्ष प्रभावित छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेका अनुसार यो महाविपत्तिबाट नेपाललाई पुनर्जीवन दिन ५ अर्ब डलर भन्दा धेरै रकमको आवश्यकता पर्नेछ। बजेट त ढिलो चाँडो जुट्ला, अनि भत्किएका पुल र सडक पनि बन्लान्।
तर प्रमोद र उनीजस्ता सयौँका लागि यो विपत्तिले खोसेको खुसी सायद अब कहिल्यै फर्कने छैन, र उनीहरूको मुटुमा परेको घाउ पनि कहिल्यै पुरिने छैन।








