📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- साना र एकल व्यवसायीलाई छुट्टै समूहको मान्यता।
- ५ अर्ब युरोको खरिदमा साना व्यवसायीको सहभागिता बढ्ने।
- पहिलो कर्मचारी भर्ना गर्दा हुने प्रशासनिक झन्झट हटाइने।
हेलसिन्की सहरले साना तथा एकल व्यवसायीको हितमा नयाँ नीतिगत परिवर्तन गरेको छ। नेपाली मूलका नगर काउन्सिलर कृष्ण रेग्मीको पहलमा ल्याइएको प्रस्ताव सहरको काउन्सिलबाट पारित भएको हो।
रेग्मीले सन् २०२५ को नोभेम्बरमा साना र एकल व्यवसायीको प्रवर्द्धनका लागि प्रस्ताव दर्ता गराएका थिए। उनले साना र एकल व्यवसायीको संस्था MYRY र रोजगार विशेषज्ञ मारिका कोस्कीसँग मिलेर यो प्रस्ताव तयार पारेका हुन्।
उक्त प्रस्तावमा विभिन्न दलका ३२ जना काउन्सिलरले हस्ताक्षर गरेका थिए। यसअघि हेलसिन्कीले साना तथा मझौला सबै व्यवसायलाई एउटै समूहमा राख्ने गर्थ्यो।
अब भने १० जनाभन्दा कम कामदार भएका साना र एकल व्यवसायीको आवश्यकतालाई सहरले छुट्टै सम्बोधन गर्नेछ। काउन्सिलमा भएको मतदानमा दुई महत्त्वपूर्ण बुँदा अत्यधिक बहुमतले पारित भएका छन्।
जसमा सार्वजनिक खरिदमा साना व्यवसायीको ट्र्याकिङ र पहिलो कर्मचारी भर्नामा सहयोग रहेका छन्।
हेलसिन्कीले वार्षिक करिब ५ अर्ब युरोको वस्तु तथा सेवा खरिद गर्छ।
अब हेलसिन्कीले यो खरिद रणनीतिमा साना व्यवसायीको छुट्टै अभिलेख राख्नेछ। यसबाट सहरको खरिद प्रक्रियामा साना व्यवसायीहरू अदृश्य हुने समस्याको अन्त्य हुने रेग्मीले नेपालीलाइनेनलाई बताए।
“एकल व्यवसायीलाई आफ्नो पहिलो कर्मचारी भर्ना गर्न निकै गाह्रो हुने गरेको छ,” उनले भने। “यसलाई सहज बनाउन हेलसिन्कीले अब प्रशासनिक झन्झट हटाउने उपाय ल्याउनेछ।
रेग्मी आफैँले सन् २०१० मा सरसफाइ क्षेत्रबाट फिनल्यान्डमा आफ्नो पहिलो एकल व्यवसाय सुरु गरेका थिए। दिनमा अरूको काम र राति आफ्नो व्यवसाय गर्दाको कठिनाइले आफूलाई यो कदम चाल्न प्रेरित गरेको उनले बताए।
साना व्यवसायीलाई सफल हुन सहरको नीतिगत सहयोग आवश्यक पर्ने रेग्मीको भनाइ छ। साना व्यवसायीले प्रगति गर्ने वातावरण पाएमा मात्र नयाँ रोजगारी सिर्जना हुने उनको विचार छ।
वृद्धि भाउचर र प्रभाव मूल्याङ्कनसम्बन्धी अन्य दुई प्रस्ताव भने तत्काल पारित भएनन्। धेरैले तटस्थ मतदान गरेकाले यी विषयमा अटम सेसनमा थप छलफल हुनेछ।
फिनल्यान्डमा साना तथा मझौला व्यवसायले अर्थतन्त्रमा ठूलो भूमिका खेल्छन्। हेलसिन्कीमा मात्र करिब ७८ हजार व्यवसाय छन्, जसमध्ये अधिकांश एकल वा १० जनाभन्दा कम कर्मचारी भएका साना (माइक्रो) व्यवसाय हुन्।
फिनल्यान्डको कानुनी र प्रशासनिक प्रणाली प्रायः ठूला कम्पनीको संरचनालाई ध्यानमा राखेर बनाइएको छ, जसले गर्दा साना व्यवसायीले एचआर (HR) वा कानुनी टोलीको अभावमा ठूलो जोखिम मोल्नुपर्छ।
यो नयाँ निर्णयले हेलसिन्कीमा व्यवसाय गरिरहेका वा भविष्यमा व्यवसाय सुरु गर्न चाहने नेपालीलगायत अन्य आप्रवासीहरूलाई ठूलो नीतिगत राहत दिने अपेक्षा गरिएको छ।








