0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    मैले हिजो हेलसिन्कीमा देखेँको एउटा नयाँ बाटो, एउटा नयाँ आशा

    कार्यक्रममा उपस्थित हुनुअघि मलाई लागेको थियो: यहाँ पनि उही सामान्य वेबसाइट डेभलपमेन्ट, सानातिना एप, वा सफ्टवेयर आउटसोर्सिङ्गका कुरा हुनेछन्। तर त्यहाँ प्रस्तुत भएका कम्पनीहरूका प्रस्तुति सुन्दा म छक्क परेँ।

    नोभेम्बरको चिसो स्याँठ र काला दिनको बिचमा हिजो हेलसिन्कीको एक भव्य कर्पोरेट कार्यालयभित्र भने एउटा बेग्लै खालको न्यानोपन र उत्साह देख्ने अवसर जुर्‍यो। मैले देखेको त्यो उत्साह कुनै राजनीतिक भेला वा परम्परागत सांस्कृतिक कार्यक्रमको थिएन; बरु नवप्रवर्तन, नयाँ सपना, र नयाँ भविष्य निर्माण गर्ने अठोटको उत्साह थियो।

    विकास अर्थशास्त्रमा एउटा निकै चर्चित र अलि पेचिलो अवधारणा छ। त्यसले भन्छ—जुन देशले केवल कच्चा पदार्थ मात्र उत्पादन र निर्यात गर्छन्, तिनीहरू कहिल्यै वास्तविक रूपमा धनी बन्न सक्दैनन्। यसको लामो सैद्धान्तिक व्याख्या छ, जुन यो लेखका पाठकका लागि त्यति रुचिकर नहोला।

    तर सामान्य भाषामा भन्दा उक्त अवधारणाको सार छ: कफी, मकै, चिया, जुट, र गलैँचाजस्ता कच्चा पदार्थ मात्र बेचेर कुनै पनि राष्ट्रले आर्थिक फड्को मार्न सक्दैन। धनी बन्न र समृद्धि हासिल गर्न कुनै पनि देशले केही न केही केही क्षेत्रमा ‘ब्रेक थ्रु’ गर्नुपर्छ।

    अर्थात् टेस्ला, एप्पल, वा चीनको अलिबाबा जस्ता कम्पनीहरू बनाएर मात्र कुनै पनि देश धनी बन्न सक्छ, समृद्ध बन्न सक्छ। फिनल्यान्डकै कुरा गर्ने हो भने ‘नोकिया’, ‘कोने’ र ‘वोल्ट’ जस्ता कम्पनीहरू भएमा मात्र देश धनी बन्ने सम्भावना रहन्छ।

    यो अवधारणा सन् १९६० को दशकतिरै ल्याटिन अमेरिकी विकास विद्वानहरूले अघि सारेका हुन्। अहिले यो तर्कलाई नेपालका अर्थशास्त्री तथा नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्व पौडेलले पनि विभिन्न अन्तर्वार्ताहरूमा बारम्बार दोहोर्‍याउने गरेको सुनेको छु।

    हुन पनि हो। हामी नेपालीहरूसँग यस्ता आफ्नै ‘ग्लोबल ब्रान्ड’ छैनन्। दशकौँदेखि हामी अर्काले बनाएका प्रविधिको उपभोक्ता मात्र बनिरह्यौँ वा अरूको प्रविधि बनाइदिने श्रमिक।

    तर हिजो हेलसिन्कीमा मैले जे देखेँ, त्यसले मलाई अलि सोच्न बाध्य बनायो र अलि आशावादी पनि बनायो। सायद यो सस्तो श्रम र सस्तो कच्चा पदार्थ निर्यात गर्ने नेपाल र नेपालीको भाष्य अबको केही वर्ष वा दशकमा बदलिनेछ। मलाई लाग्यो—कोही न कोही नेपाली अब प्राविधिक उथलपुथलको अग्रभागमा उभिनेछ र बनाउनेछ त्यस्तै केही नयाँ।

    फिनल्यान्डका नेपालीको पहिलो ‘टेक’ जमघट

    अहिले फिनल्यान्डको राजधानी हेलसिन्कीमा विश्वकै ठुलोमध्ये एक मानिएको स्टार्टअप मेला Slush चलिरहेको छ। आयोजकका अनुसार यो मेलामा विश्वभरबाट छ हजार स्टार्टअप, करिब चार हजार लगानीकर्ता, र दसौँ हजार सहभागी छन्।

    विश्वभरका लगानीकर्ता र उद्यमीहरूको कुम्भमेला चलिरहेकै मेसोमा फिनल्यान्डका नेपाली ‘टेक स्टार्टअप’ का लागि पनि एउटा जमघटको आयोजना भयो—स्टार्टअप एण्ड नेटवर्किङ इभेन्ट। फिनल्यान्डमा नेपाली समुदायले आयोजना गरेको यो यस किसिमको पहिलो ‘टेक-इभेन्ट’ थियो।

    यो जमघटको आयोजना न्यू हाइट्स विथ विकास नामक भिडियो पोडकास्टको सञ्चालकको रूपमा चिनिएका विकास गुरुङले भर्खरै खोलेको नयाँ कम्पनी ‘बाटो’ (Bato Oy) को नेतृत्वमा नोर्डेस, रेसिमेटरजस्ता नेपाली युवाहरूले हाँकेका कम्पनीहरूले गरेका थिए। करिब ९५% सहभागी नेपालीहरू नै रहेको उक्त कार्यक्रममा बस्दा लाग्थ्यो—हेलसिन्कीको मुटुमै नेपालले आफ्नै ‘मिनी स्लस’ आयोजना गरिरहेको छ, र भित्रभित्रै केही पाकिरहेको छ।

    कार्यक्रम नोर्डेस कम्पनीको मुख्यालयमा आयोजना गरिएको थियो, जुन आफैमा नेपाली उद्यमशीलताको एउटा जीवित प्रमाण जस्तो लाग्थ्यो। सिलिकन भ्यालितिरको टेक स्टार्टअपमा झैँ त्यहाँ आरामदायी र सुविधायुक्त अफिस थियो। आयोजकले पिज्जा, कफी, र अन्य खानेकुरा पनि निःशुल्क उपलब्ध गराएका थिए।

    थरी-थरिका इनोभेसन

    कार्यक्रममा उपस्थित हुनुअघि मलाई लागेको थियो: यहाँ पनि उही सामान्य वेबसाइट डेभलपमेन्ट, सानातिना एप, वा सफ्टवेयर आउटसोर्सिङ्गका कुरा हुनेछन्।

    तर त्यहाँ प्रस्तुत भएका कम्पनीहरूका प्रस्तुति सुन्दा म छक्क परेँ। ती कम्पनीले नयाँ अवधारणा मात्र लिएर आएका थिएनन्। कसैसँग हजारौँ सक्रिय प्रयोगकर्ताहरू थिए, कसैले फिनल्यान्डका विश्वविद्यालय र नगरपालिकाहरूसँग लोभ लाग्दा सम्झौता गरिसकेका थिए वा गर्ने चरणमा थिए।

    मैले सुनेकामध्ये सबैभन्दा रोचक भने आवेक्साना भन्ने ‘स्टार्ट अप’ लाग्यो।

    फिनल्यान्डमै पढेका नेपाली युवाले निर्माण गरेको उक्त प्लेटफर्ममा विश्वका करिब सबै देशका २० हजारभन्दा बढी थेसिस लेख्ने विद्यार्थी र उनीहरूका सुपरभाइजरहरू जोडिएका रहेछन्। उनीहरूले आफ्नो काममा एआईको व्यापक प्रयोग गरेको बताए।

    “कुन एआई प्रयोग गर्नुहुन्छ? च्याटजीपीटी कि अरू कुनै?” कम्पनीका संस्थापक मध्येका एक सूर्य यादवलाई मैले सोधेँ।

    “होइन, हामीले आफ्नै एआई सिस्टम विकास गरेका छौँ।” मेरो प्रश्न भुईँमा खस्न नपाउँदै उनले आत्मविश्वासका साथ जवाफ दिए।

    उनीहरूले केही वर्षदेखी नै आफ्नै प्लेटफर्मका प्रयोगकर्ताको डाटामा आधारित रहेर नयाँ एआई मोडल विकास गरेका रहेछन्।

    बजारमा उपलब्ध एआई टुल्सका सीमितताहरू औँल्याउँदै यादवले उनीहरूको एआई प्रणाली शैक्षिक अनुसन्धानका लागि कसरी बढी प्रभावकारी छ भन्ने लामो प्राविधिक व्याख्या गरे। कति त मैले बुझ्दा पनि बुझिन।

    तर उनको त्यो आत्मविश्वास र फिनल्यान्डका केही विश्वविद्यालयहरूले समेत उनीहरूको प्रणाली अपनाइसकेको तथ्यले मलाई उनको कुरामा विश्वास गर्न कर लाग्यो।

    त्यस्तै उत्साहप्रद कुराहरू नोर्डेसका सिइओ चेतन सिंह र रेसिमेटरका वरुण बस्यालले पनि सुनाए। पानीजहाजका लागि विभिन्न सामानहरू बनाउने नोर्डेसले आफ्नै स्पेसल बोट बनाउने तैयारी गर्दै रहेछ। रेसिमेटरले चाहिँ आफ्नो शाखा अमेरिकामा समेत विस्तार गरेर टेक्नोलोजीको प्रयोग गरी रेस्टुरेन्ट व्यवसाय क्षेत्रमा छुट्टै क्रान्तिको तैयारी गरेको रहेछ।

    वार्षिक लाखौँ युरोको कारोबार गर्ने यी कम्पनीहरूले फिनल्यान्डमा मात्र होइन, नेपालमा पनि आफ्नो टिम खडा गरेर दर्जनौँ नेपालीलाई रोजगारी पनि दिइरहेका रहेछन्।

    वार्षिक लाखौँ युरोको कारोबार गर्ने यी कम्पनीहरूले फिनल्यान्डमा मात्र होइन, नेपालमा पनि आफ्नो टिम खडा गरेर दर्जनौँ नेपालीलाई रोजगारी पनि दिइरहेका रहेछन्।

    आप्रवासी व्यवसायीका आफ्नै खाले सङ्घर्ष

    कार्यक्रम पछिको अनौपचारिक भेटघाटमा कग्निट लुक्ला एआईका संस्थापकहरूले सुनाएको कथाले आप्रवासी उद्यमीको यथार्थ चित्रण गर्थ्यो।

    आप्रवासी व्यवसायीको रूपमा सुरुमा दिनहरू असहज रहेको अनुभव उनीहरूले सुनाए। तर निरन्तरको प्रयासपछि अहिले उनीहरूले पनि फिनिस नगरपालिकाहरूसँग व्यवसायिक सम्झौता गर्ने क्रममा रहेछन्।

    कार्यक्रमको अर्को सुन्दर पक्ष यसको शालीनता थियो। त्यहाँ न कुनै चर्को भाषण थियो, न कुनै अनावश्यक होहल्ला। थियो त केवल शुद्ध जिज्ञासा, न्यानो सङ्गत र एक अर्कालाई माथि उकास्ने भावना।

    म जस्ता गैर-प्राविधिक (Non-tech) मानिसहरूका लागि पनि यो माहौल निकै रोचक, भावुक, र उत्साहित बनाउने खालको बन्यो।

    हेलसिन्कीमा लामो समयदेखि व्यवसायमा जमेका गोपाल अर्यालले पनि सायद त्यस्तै महसुस गरेका रहेछन्।

    “आजभन्दा १०–१५ वर्षअघि कोही विद्यार्थी भाइहरू आएर ‘हामी आफैँ वेबसाइट बनाउन सक्छौँ’ भन्दा हामी हाम्रै भाइहरूले वेबसाइट बनाउने भए भनेर औधी खुसी हुन्थ्यौँ।” अर्यालले भावुक हुँदै भने। “तर आज केही वर्षपछि यो स्तरको प्रगति देख्दा, एआई र ग्लोबल कम्पनीका कुरा सुन्दा म शब्दमा बयान गर्न नसक्ने गरी खुसी छु।”

    अर्यालको खुसीको सार थियोः हामी अब केवल भाँडा माझ्ने वा खाना पकाउने काममा मात्र सीमित छैनौँ, हामी ‘कोड’ लेख्दै छौँ र आफ्नै लागि र आफ्नो देशका लागि नयाँ भविष्य कोर्दै छौँ।

    कार्यक्रम सकेर घर फर्कँदा ट्रेनमा संयोगवश दुई नेपाली भाइहरूसँग भेट भयो। दुवै जना दिनभरि वोल्टमा खाना डेलिभरी गरेर फर्किँदै रहेछन्। दुबै जना आइटीका विद्यार्थी रहेछन् र Slush का बारेमा पनि पुरै जानकार रहेछन्।

    “कामले गर्दा जान भ्याइएन नि दाइ,” उनीहरू भन्दै थिए। “कामको यस्तो मारामार छ। छोड्ने कुरा पनि भएन।”

    केही बेर उनीहरूसँग रमाइलो गफ भो। एआईदेखि ब्लक चेनसम्म, एनपीएल देखि नेपालको जेनजी आन्दोलनसम्म, उनीहरू सबै कुराको जानकार रहेछन्। दुई वर्षदेखि फिनल्यान्डमा पढ्दै रहेछन्। एक जना चितवन र अर्का धरानका रहेछन्।

    पढाई सकेर आइटी क्षेत्रमै केही गर्ने र नेपालको विकासमा पनि सघाउने सपना रहेको पनि उनीहरूले सुनाए।

    दिनभरिको कामले थकित ती भाइहरू म भन्दा एक स्टप अघि नै ओर्लिए। उनीहरू ओर्लेपछि भने मेरो मन अलि अमिलो भयो।

    हुन त काम जस्तोसुकै भए पनि नराम्रो हैन। तैपनि लाग्यो—यस्ता तीक्ष्ण युवाहरू सायद अलि राम्रो देशमा जन्मिएका भए दिनभरि खाना बोक्ने भन्दा पनि आफ्नै स्टार्टअप चलाउने र रोजगारी सिर्जना गर्ने काममा लागिसकेका हुन्थे होला।

    ट्रेनबाट ओर्लदै गर्दा फेरी आफैले भर्खरै सहभागी भएर आएको कार्यक्रम सम्झिएँ र सोचेँ: The journey has already started. It’s just a matter of time.

    बाटोका संस्थापक विकास गुरुङ्ग। तस्बिरः नेपालीलाइनेन

    मनोज भुसाल
    मनोज भुसालhttps://nepalilainen.fi
    मनोज भुसाल नेपालीलाइनेनका संस्थापक तथा प्रधान सम्पादक हुन्। उनीसँग मिडिया उत्पादन र अनुसन्धानमा डेढ दशक भन्दा लामो अनुभव छ। उनले फिनल्यान्डको हेलसिन्की विश्वविद्यालयबाट Global Development Studies मा पिएचडी गरेका छन्। उनले स्नातक र स्नातकोत्तर तहको अध्ययन पनि फिनल्यान्डबाटै पुरा गरेका हुन्।

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप