स्पेनको अल्बासेटे प्रान्तको एक जीर्ण औद्योगिक गोदाम। बाहिरबाट हेर्दा त्यो कुनै परित्यक्त भवनजस्तो देखिन्थ्यो, तर भित्रको दृश्य कुनै भयानक चलचित्रको दृश्यभन्दा कम थिएन।
भुइँभरि ओछ्याइएका दर्जनौँ फोहोर म्याट्रेसहरू, हावा छिर्ने भेन्टिलेसनको अभाव र ३०० भन्दा बढी मानिसका लागि केबल केही शौचालय।
यही निसासिँदो कोठामा ३२२ जना आप्रवासी कामदारहरूको ‘युरोपेली सपना’ बन्धक बनेको थियो, जसमध्ये केही बाहेक लगभग सबै नेपाली थिए।
गत साता स्पेनको प्रहरीले अपरेसन “याक” मार्फत एउटा यस्तो मानव तस्कर गिरोहको पर्दाफास गर्यो, जसले आधुनिक दासत्वको झल्को दिने गरी नेपाली युवाहरूको शोषण गरिरहेको थियो।
११ जनाको गिरफ्तारी र १८०,००० युरो नगद बरामदसँगै सार्वजनिक भएको यो घटनाले केवल आप्रवासी समस्या मात्र होइन, युरोपको कृषि अर्थतन्त्रको जगमा लुकेको शोषणको कालो सत्यलाई पनि उजागर गरिदिएको छ।
भिजिट भिसामा स्पेन, कृषि फार्ममा काम
नेपालमा एजेन्टहरूले पीडितलाई देखाएको सपना निकै लोभलाग्दो थियो—सेन्जेन भिसा, युरोपको पीआर र महिनाकै लाखौँ कमाई।
स्पेन पुगेपछि एउटा प्रतिष्ठित कृषि फार्ममा काम पाउने, बस्ने र खाने राम्रो व्यवस्था हुने लगायतका सपना बाढेर युवाहरूलाई स्पेन ल्याइएको थियो, त्यो पनि पर्यटक भिसामा।
स्पेनिस प्रहरीका अनुसार तस्करहरूको काम गर्ने शैली निकै योजनाबद्ध थियो। काठमाडौँ र दुबईमा रहेका रिक्रुटर्सहरूले छोटो अवधिको पर्यटक भिसाको बन्दोबस्त गर्थे।
सुरुमै शंका नहोस् भनेर उनीहरूलाई सिधै स्पेन नभई अन्य सेन्जेन देशहरू (जस्तै पोल्यान्ड, रोमेनिया) को भिसामा युरोप छिराइन्थ्यो।
जब उनीहरू म्याड्रिड-बाराजास विमानस्थलमा ओर्लिन्थे, तब वास्तविकताको पहिलो झापड लाग्थ्यो।
विमानस्थलबाट बाहिर निस्कनेबित्तिकै उनीहरूको पासपोर्ट खोसिन्थ्यो। त्यसपछि भेडाबाख्रा जस्तै भ्यानमा कोचेर अल्बासेटेको त्यही गोदाममा लगिन्थ्यो।
अल्बासेटेको त्यो गोदाम “आवास” होइन, “नरक” जस्तै थियो।
स्पेनी प्रहरीले सार्वजनिक गरेको भिडियो फुटेजमा देखिएको दृश्य कहालीलाग्दो छ—एकअर्कासँग टाँसिएका म्याट्रेसहरू, जहाँ सुत्ने कामदारहरूलाई खुट्टा तन्काउने ठाउँसमेत थिएन।
प्रहरीका अनुसार कामदारहरूलाई दिनको एक छाक मात्र खाना दिइन्थ्यो, त्यो पनि निकै सामान्य।
उनीहरूलाई हरेक दिन बिहान जीर्ण अवस्थाका भ्यानहरूमा कोचेर क्यास्टिल्ला-ला मान्चा, आरागोन र भ्यालेन्सियाका विशाल फिल्डहरूमा लगिन्थ्यो। त्यहाँ उनीहरूले लसुन, खुर्सानी र गोलभेँडा टिप्नका लागि दैनिक १४ घण्टासम्म कडा श्रम गर्नुपर्थ्यो।
स्पेनीस प्रहरी र स्पेनिस मिडियाका अनुसार उनीहरूलाई महिनौँसम्मको तलब पनि दिइएको थिएन वा निकै थोरै तलब दिइएको थियो। उल्टै उनीहरूसँग आवास शुल्क र खानाको नाममा पैसा मागिन्थ्यो।
बिरामी हुँदा औषधि थिएन, थाक्दा आराम थिएन।
कामदारहरूलाई फार्ममा लैजाने क्रममा गत अक्टोबरमा एउटा दुर्घटना भएपछि शोषणको घटना बाहिरिएको थियो। कामदारहरू बोकेको एउटा ओभरलोड भ्यान ग्रामीण सडकमा पल्टियो र उक्त दुर्घटनामा एक नेपाली कामदारको मृत्यु भयो।
प्रहरीले त्यही दुर्घटनाको अनुसन्धान गर्दै जाँदा अन्ततः यो विशाल गिरोहसम्म पुगेको हो।
प्रहरीका अनुसार कामदारहरूलाई दिनको एक छाक मात्र खाना दिइन्थ्यो, त्यो पनि निकै सामान्य।
सुरू भयो कानुनी लडाइँ
स्पेनिस प्रहरीले उक्त प्रकरणमा अहिलेसम्म ११ जनालाई पक्राउ गरेको छ, जसमा स्पेनी र पाकिस्तानी नागरिकहरू मुख्य योजनाकार रहेको विश्वास गरिएको छ। प्रहरीले कामका नक्कली सम्झौता पत्रहरू र पासपोर्टको थुप्रो पनि बरामद गरेको छ।
यो घटनाले स्पेनस्थित नेपाली समुदायलाई पनि स्तब्ध बनाएको छ।
एनआरएनए (NRNA) स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार अधिकांश नेपालीहरूको मुद्दा अहिले न्यायिक प्रक्रियामा छ।
“हामीले घटनाको जानकारी पाउनासाथ तीन पटक स्थलगत भ्रमण गर्यौँ,” श्रेष्ठले भने। “हाम्रो उपाध्यक्ष सुरेन्द्र भूजेलको संयोजनमा कानुनी र भाषा सहयोग साथै राहत सहायता दिइरहेका छौं।
डिसेम्बर १०-१२ सम्म अदालती सुनुवाइ जारी छ, जहाँ चार जना नेपाली कामदारले आफ्नो बयान रेकर्ड गराइसकेका छन्।
स्पेन सरकारले पनि यो घटनालाई गम्भीरतापूर्वक लिएको देखिन्छ। प्रहरीले नेपालको दूतावास र आप्रवासन मन्त्रालयसँग समन्वय गरी पीडितहरूलाई मानवीय आधारमा रेसिडेन्स पर्मिट उपलब्ध गराउने र श्रम निरीक्षणलाई तीव्रता दिने प्रक्रिया अघि बढाएको जनाएको छ।
आप्रवासीको आँसु बग्ने युरोपका कृषि फार्म
यो घटनाले युरोपको कृषि क्षेत्रमा देखिएको एउटा विरोधाभासपूर्ण सत्यको पटाक्षेप गरेको छ। युरोपमा मौसमी कामदारको रूपमा आउने तेस्रो विश्वका नागरिकहरू श्रम शोषण र ठगीको सिकार हुने क्रम घट्नुको सट्टा बढिरहेका छन्।
गत महिना मात्र यहीँ फिनल्यान्डका जङ्गलमा काम गर्ने भनेर ल्याइएका दर्जनौँ नेपालीहरू ठगी र श्रम शोषणको सिकार भएको घटना बाहिरिएको थियो।
सन् २०२४ मा स्पेनले ३ लाख १४ हजार कृषि अनुमति पत्र जारी गरे पनि अल्मेरिया, मर्सिया र ह्युस्का जस्ता कृषि केन्द्रहरूमा कामदारको माग पूर्ति हुन सकेको छैन। यही माग र आपूर्तिको खाडलले मानव तस्करहरूलाई खेल्ने मैदान दिएको स्थानीय मिडियाले लेखेका छन्।
युरोपका अन्य मुलुकहरूमा पनि ठगी, श्रम शोषण, र मानव बेचबिखनका घटनाहरू सामान्य भैसकेका छन्।
युरोपका सुपर मार्केटमा सस्तोमा पाइने लसुन वा गोलभेँडाको पछाडि कति धेरै तेस्रो विश्वका युवाहरूको पसिना, रगत र आँसु मिसिएको छ भन्ने कुरा सायद उपभोक्ताले कहिल्यै सोच्दैनन्। सायद अब त्यो पनि गम्भीरतापूर्वक सोच्ने बेला भएको छ।
अहिलेका लागि अल्बासेटेको त्यो गोदाम खाली भएको छ। तर त्यहाँका भित्ता र कुनाहरूमा नेपाली युवाहरूको पीडा, सुस्केरा, र चित्कार अझै लामो समयसम्म गुन्जिरहेको महसुस हुनेछ।





