संक्षेपमा
- अनिद्रा र डिप्रेसनका बिरामीलाई प्रकृतिमा समय बिताउन सुझाव।
- प्रकृतिसँगको सामीप्यले ६१ प्रतिशत बिरामीको निद्रामा सुधार।
- मधुमेह र उच्च रक्तचापको उपचारमा ‘नेचर प्रेस्क्रिप्सन’ प्रभावकारी।
फिनल्यान्डका चिकित्सकहरूले बिरामीको उपचारका लागि नयाँ अवधारणा ‘नेचर प्रेस्क्रिप्सन’ (प्रकृति सिफारिस) अघि सारेका छन्।
सामान्य डिप्रेसन, अनिद्रा र उच्च रक्तचाप जस्ता समस्यामा चक्की औषधिको सट्टा प्रकृतिमा समय बिताउनु प्रभावकारी हुने देखिएपछि ‘नेचर प्रेस्क्रिप्सन’को मत बलियो हुँदै गएको हो।
हेलसिन्की विश्वविद्यालयकी क्लिनिकल लेक्चरर डा. आन्निका कोल्स्टर यस अभियानकी मुख्य प्रवर्द्धक हुन्। उनले विगत २० वर्षदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको रूपमा काम गर्दै आएकी छन्।
प्रकृति केवल हेर्नका लागि मात्र नभई एक वैज्ञानिक प्रमाणमा आधारित स्वास्थ्य उपचार पद्धति भएको कोल्स्टरको दाबी छ। उनका अनुसार मधुमेह, मोटोपना र उच्च रक्तचाप जस्ता दीर्घकालीन रोगको उपचारमा यसले ठूलो भूमिका खेल्छ।
कोल्स्टरले फिनल्यान्डको सिपोमा ७९ जना बिरामीमा गरेको एक अध्ययनले प्रकृतिको शक्ति पुष्टि गरेको छ। उनको अध्ययनमा आठ हप्तासम्म प्रकृतिमा समय बिताउने ६१ प्रतिशत सहभागीको निद्रामा उल्लेख्य सुधार देखिएको थियो।
उक्त अध्ययनमा मधुमेह र डिप्रेसनका लक्षण भएका व्यक्तिहरू सहभागी थिए। व्यायाम गर्ने समूहको तुलनामा प्रकृतिमा रमाउने समूहले राम्रो स्वास्थ्य लाभ गरेको अध्ययनले देखाएको थियो।
कोल्स्टरले छिमेकी देश स्वीडेनको उदाहरण पनि दिइन्। त्यहाँ सामान्य डिप्रेसनका लागि ‘एसएसआरआई’ जस्ता एन्टी-डिप्रेसेन्ट औषधिहरू सिफारिस गरिँदैन। स्विडेनले त झन् स्विडेन प्रेस्क्रिप्सन भन्ने टुरिजम अभियान नै चलाएको छ। उक्त अभियान अन्तर्गत विदेशका डाक्टरहरूले बिरामीलाई स्विडेनको शान्त प्रकृतिमा समय विताएर रोग निको पार्न सिफारिस गर्न सक्छन्।
यता फिनल्यान्डमा पनि प्रकृतिमा समय विताउनुको फाइदाका बारेमा थप प्रमाणहरू जुट्दै गएका छन्।
सामूहिक रूपमा प्रकृतिमा समय बिताउँदा झनै धेरै फाइदा हुने डा. कोल्स्टरले तर्क छ। उनी खास गरि वृद्धवृद्धाहरूमा हुने एक्लोपनलाई धूम्रपान जत्तिकै खतरनाक मान्छिन्।
अशक्त वा बाहिर जान नसक्ने बिरामीहरूका लागि पनि विकल्पहरू छन्। कोठाभित्रै चराको आवाज सुन्ने वा वनस्पतिको बासना लिने गर्नाले पनि स्वास्थ्यमा फाइदा पुग्छ।
फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देश मानिनुको एउटा मुख्य कारण यहाँको वनजङ्गल र प्रकृतिसँगको निकटता पनि हो। यहाँका चिकित्सकहरूले ‘ग्रीन केयर’ अवधारणा अन्तर्गत बिरामीलाई जङ्गलमा हिँड्ने (फरेस्ट बाथिङ) सल्लाह दिने गर्छन्।
फिनल्यान्डको ७५ प्रतिशत भूभाग जङ्गलले ढाकेको हुनाले यहाँका बासिन्दाका लागि प्रकृतिसँग जोडिन निकै सहज छ।





