📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- ५३ आवेदकहरूबाट ११ जना फेलो छानिए।
- दुई वर्षे स्वैच्छिक कार्यक्रममा हुनेछन् सहभागी।
- पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सम्पन्न हुँदै।
फिनल्यान्डमा नेपाली भाषाको सामुदायिक पत्रकारितालाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालीलाइनेनले सुरु गरेको सामुदायिक मिडिया फेलोसिप कार्यक्रमका लागि ११ जना फेलो चयन भएका छन्।
चयन भएका फेलोहरूको पहिलो अभिमुखीकरण यसै सप्ताहन्तमा संचालन भइरहेको छ।
कुल ५३ जना आवेदकहरूबाट विभिन्न मापदण्डका आधारमा छानिएका उनीहरूले दुई वर्षसम्म स्वैच्छिक रूपमा नेपाली समुदाय, आप्रवासी जीवन, फिनल्यान्डका सामाजिक विषय तथा स्थानीय गतिविधिबारे समाचार, फिचर, फोटो, भिडियो, अडियो र सामाजिक सञ्जाल सामग्री तयार तथा सम्प्रेषण गर्नेछन्।
यो कार्यक्रम फिनल्यान्डभर रहेका नेपाली पत्रकार तथा पत्रकारितामा रुचि राख्ने युवाहरूलाई लक्षित गरी सुरु गरिएको हो।
अङ्ग्रेजी पत्रकारितामा रुचि हुनेहरूले नेपालीलाइनेनकै प्रकाशकद्वारा संचालित The New Finland मा समेत आफ्ना सामग्री प्रकाशन गर्न सक्नेछन्।
फेलोहरूले समय-समयमा तालिम, नेपालीलाइनेनको आधिकारिक इमेल र प्रेस कार्ड प्राप्त गर्नेछन्। उनीहरूले नेपालीलाइनेनसँग काम गर्ने र आफ्नो व्यक्तिगत पोर्टफोलियो विकास गर्ने अवसर पाउनेछन्।
पहिलो पटक सुरु गरिएको यो फेलोसिपका लागि कुल ५३ आवेदन प्राप्त भएको थियो। पत्रकारिता, मिडिया उत्पादन, सामुदायिक संलग्नता, डिजिटल मिडियाको अनुभव, नयाँ मिडियाप्रतिको रुचि तथा फिनल्यान्डमा रहेको नेपाली समुदायका विषयमा चासोलगायत विभिन्न मापदण्डका आधारमा ११ जनालाई चयन गरिएको हो।
फिनल्यान्डमा नेपाली समुदायका मुद्दा, उपलब्धि र अनुभवहरूलाई अझै धेरै स्थान दिन नेपालीलाइनेनले यो पहल सुरु गरेको हो।
बहुसांस्कृतिक वातावरणमा आप्रवासीहरूलाई सञ्चार माध्यमसँग जोड्न र नयाँ प्रतिभालाई व्यावसायिक पत्रकारिताका सीप सिकाउन यो फेलोसिप कार्यक्रम प्रभावकारी हुने नेपालीलाइनेनको विश्चास छ।

प्रियस पोखरेल
लाउरिया युनिभर्सिटी अफ एप्लाइड साइन्सेसमा सर्भिस डिजाइन अध्ययनरत पोखरेलसँग डिजिटल मिडिया र वेबसाइट व्यवस्थापनको अनुभव छ। हाल उनी मार्केटिङ तथा डिजिटल मिडिया व्यवस्थापनमा संलग्न छन् र फोटोग्राफीमा विशेष रुचि राख्छन्।
सुविन गुरुङ
फोटो पत्रकारिताको पूर्वअनुभव भएका गुरुङ फोटोग्राफी र फोटो पत्रकारितामा रुचि राख्छन्। उनी फिनल्यान्डको युभास्कुलामा बस्छन्।
ज्योति भण्डारी
व्यवस्थापनमा स्नातकोत्तर भण्डारीसँग नेपालका विभिन्न मिडिया हाउसहरूसँग काम गरेको तथा प्रेस सम्बन्धी इभेन्ट व्यवस्थापन गरेको अनुभव छ। उनले विगतमा कर्पोरेट क्षेत्रमा ब्रान्डिङ्गको काम पनि गरेकी छन्।
एलिशा लिम्बू
पूर्वी नेपालको तेह्रथुमकी लिम्बू हाल साताकुन्ता युनिभर्सिटी अफ एप्लाइड साइन्सेस पोरीमा नर्सिङ अध्ययनरत छिन्। साहित्य लेखन र पत्रकारितामार्फत नेपाली समुदायको आवाज उठाउने उनको रुचि छ।
सन्दीप बहादुर पोखरेल
सामाजिक सञ्जाल विशेषगरी फेसबुक र टिकटकमा सक्रिय पोखरेल खेलकुद तथा सामुदायिक कार्यक्रम सम्बन्धी सामग्री निर्माणमा रुचि राख्छन्। उनी कोक्कोला क्षेत्रमा बस्छन्।
शोभित थापा
पेसाले सफ्टवेयर इन्जिनियर थापा नेपाली साहित्यमा गहिरो रुचि राख्छन्। उनिसँग सेतोपाटीको साहित्यपाटीमा लेखेको लामो अनुभव छ।
रिदम लामिछाने
अर्थ साइन्स एन्ड सस्टेनेबिलिटीमा स्नातकोत्तर गरेका लामिछाने वातावरणीय अनुसन्धान र दिगो विकासका विषयमा रुचि राख्छन्। वैज्ञानिक विषयलाई सरल र प्रभावकारी ढङ्गले लेखन तथा डिजिटल मिडियामार्फत प्रस्तुत गर्नु उनको रुची हो।
मुक्ति पौडेल
पेसाले आईटी इन्जिनियर पौडेल विगत १५ वर्षदेखि फिनल्यान्डमा बस्दै आएका छन्। एआई, स्वास्थ्य सेवा र आर्किटेक्चर क्षेत्रमा एक दशकभन्दा लामो अनुभव भएका उनी वैदिक ज्योतिषका अध्येतासमेत हुन्। उनले विगतमा पनि पटक-पटक नेपालीलाइनेनमा लेखिसकेका छन्।
रूपक दाहाल
हाल फिनल्यान्डमा हस्पिटालिटी क्षेत्रमा कार्यरत दाहाल राजनीति र समसामयिक विषयमा रुचि राख्छन्। तथ्यमा आधारित सामग्री, सामाजिक सञ्जाल र भिडियो निर्माणमा उनको रुची र अनुभव छ। उनले एस्पोको लेप्पाभारा क्षेत्रमा नेपालीलाइनेन र हेलसिन्की सानोमातले गरेको वोल्ट राइडरहरु बारेको रिपोर्टिङ्गको फिल्ड संयोजन गरेका थिए।
सञ्जय चालिसे
हेलसिन्कीमा बसोबास गर्ने चालिसे समुदाय केन्द्रित सामग्री निर्माणमा रुचि राख्छन्। फिनल्यान्डमा रहेका नेपालीहरूको गतिविधि, अनुभव र आवाजलाई मिडियामार्फत प्रस्तुत गर्ने उनको लक्ष्य छ। उनी फिनल्यान्डमा रहेको नेपाली युवाहरुको एमआरआर समुहसँग पनि आवद्ध छन्।
सागर गौतम
मेट्रोपोलिया युनिभर्सिटी अफ एप्लाइड साइन्सेसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत गौतम डिजिटल सामग्री निर्माण र सामाजिक सञ्जालमा अनुभव भएका व्यक्ति हुन्। प्रविधि र प्रभावकारी सञ्चारलाई जोडेर काम गर्नु उनको रुचि हो।








