📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goयो 'प्रिमियम' सामाग्री हाम्रा सदस्यका लागि मात्र।
यो 'प्रिमियम' सामाग्री पढ्न हाम्रो 'सहयोगी सदस्य' बन्नुहोस्।
Buy Now — 59 €/Year 4.90 €/ month · Cancel anytimeपहिले नै सदस्य हुनुहुन्छ? तलबाट लग-इन गर्नुहोस्।
हाम्रो सहयोगी सदस्य बन्दा तपाई प्रयोगका सर्तहरू र गोपनीयता नीति अनुसार आफ्नो डेटा प्रशोधन गर्न सहमत हुनुहुन्छ।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- विश्वकै ठूलो जहाजको श्रेणीमा समावेश।
- फिनिस इन्जिनियरिङको उत्कृष्ट आधुनिक नमुना।
- स्वच्छ ऊर्जा र दिगो पर्यटनको पहल।
कल्पना गर्नुहोस् एउटा यस्तो सहर जुन समुन्द्रको बीचमा तैरिरहेको छ, जहाँ सडकको सट्टा पानीका फोहराहरू छन्, र हरेक बिहान झ्याल खोल्दा नयाँ देशको क्षितिज देखिन्छ। यो कुनै काल्पनिक कथा नभएर फिनल्यान्डको तुर्कुस्थित मियर तुर्कु शिपयार्डमा जन्मिएको इन्जिनियरिङको एउटा विशाल चमत्कार होः स्टार अफ द सिज।
नेपालीलाइनेनको यो लेखमा हामी उक्त जहाजको विशेषता, सुविधाहरू, र यति ठुला जहाजहरू फिनल्यान्डमा कसरी निर्माण हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौँ।
रोयल क्यारिबियन इन्टरनेसनलको यो दोस्रो ‘आइकन क्लास’ जहाजले गतवर्ष अगस्टमा आफ्नो पहिलो व्यावसायिक यात्रा सुरु गरेदेखि नै विश्व पर्यटन बजारमा हलचल पैदा गरेको छ। करिब २५०,८०० ग्रस टन भार भएको यो विशाल जहाजले समुद्री यात्राको परिभाषा मात्र बदलेको छैन, यसले फिनल्यान्डको औद्योगिक साखलाई पनि विश्वस्तरमा चम्काएको छ।
फिनल्यान्डको सामुद्रिक उद्योग विश्वकै उत्कृष्ट मानिन्छ। मियर तुर्कुका प्रमुख कार्यकारी अधिकृत कासिमिर लिन्डहोमका अनुसार एउटा आइकन क्लास जहाज निर्माण गर्दा करिब २ अर्ब युरो खर्च हुन्छ, जसको ७० प्रतिशत हिस्सा फिनल्यान्डमै रहन्छ। यसले फिनल्यान्डमा करिब १३,००० व्यक्तिको रोजगारीलाई प्रत्यक्ष सहयोग पुऱ्याउँछ।
रोयल क्यारिबियनले गत अप्रिलमा थप दुईवटा यस्तै जहाजको अर्डर मियर तुर्कुलाई दिएको छ, यसले फिनल्यान्डको अर्थतन्त्रमा अर्बौँ डलरको योगदान पुऱ्याउने निश्चित छ।
विलासिता र सुविधाका भण्डार
हामी धेरैले क्रुज चढेर एस्टोनिया र स्टकहोम जाँदा विशाल पानीजहाज देखेका छौँ। तर स्टार अफ द सिज पानीजहाज भने त्यो भन्दा अझै विशाल, शानदार, र सुविधा सम्पन्न हुन्छन्।
स्टार अफ द सिज केवल एउटा जहाज मात्र नभएर आठवटा फरक-फरक ‘छिमेकी’ (Neighborhoods) हरूमा विभाजित एउटा गतिशील सहर हो भनेर पनि चर्चा गरिएको छ।
अनि यसमा रहेका सुविधाहरूले जोकोहीलाई मन्त्रमुग्ध पार्छन्।
यो विशाल जहाजमा १८ तला छन्। अनि यसले ५,६१० देखि ७,६०० जनासम्म यात्रीहरू र २,३५० जना चालक दलका सदस्यहरू बोक्न सक्छ। आरामका लागि “चिल आइल्याण्ड” मा सातवटा पोखरी र नौवटा व्हर्लपुलहरू छन्। साथै परिवारका लागि “सर्फसाइड” र वयस्कहरूका लागि मात्र “क्लाउड १७” नामक पोखरी क्षेत्र पनि छुट्याइएको छ।
जहाजमा ब्रोडवे-शैलीका कार्यक्रमहरू, लाइभ संगीत, र कमेडी क्लबहरू छन्। यसका साथै यात्रीहरूलाई विश्वभरिका परिकारहरूको स्वाद चखाउन ४० भन्दा बढी रेस्टुरेन्ट र बारहरूको व्यवस्था गरिएको छ।
जहाजमा समुन्द्रको बीचमा विश्वकै ठूलो वाटर पार्क छ, जसमा ६ वटा अत्याधुनिक स्लाइडहरू रहेका छन्। जहाजको अगाडिको भागमा अवस्थित विशाल सिसाको डोममा रात्रिकालीन मनोरञ्जनका लागि पानीका फोहरा र एक्रोब्याटिक्स देखाइन्छ।
जति धेरै विलासिता, त्यति नै धेरै वातावरणीय चुनौतीहरू पनि थपिन्छन्। रोयल क्यारिबियनले स्टार अफ द सिजलाई आफ्नो अहिलेसम्मकै सबैभन्दा दिगो जहाज भएको दाबी गरेको छ। यो जहाज तरल प्राकृतिक ग्यासबाट चल्छ, जसले परम्परागत इन्धनको तुलनामा कार्बन उत्सर्जन २५ प्रतिशतले घटाउँछ।
यद्यपि, वातावरणविद्हरूले यसको आलोचना पनि गरेका छन्। इन्टरनेसनल काउन्सिल अन क्लिन ट्रान्सपोर्टेसन (ICCT) को एक प्रतिवेदन अनुसार LNG को प्रयोग गर्दा ‘मिथेन स्लिप’को जोखिम रहन्छ, जुन कार्बन डाइअक्साइडभन्दा बढी हानिकारक हरितगृह ग्यास हो।
रोयल क्यारिबियनका अधिकारीहरूले यसलाई स्वीकार गर्दै भविष्यमा ‘बायो-फ्युल’ र ‘हाइड्रोजन सेल’ प्रविधिमा जाने तयारी भइरहेको बताएका छन्।
हेर्नुहोस् भिडियोः
कसरी बनाइन्छन् यस्ता विशाल जहाज?
यस्ता विशाल क्रुज जहाजहरूको निर्माण प्रक्रिया निकै जटिल र व्यवस्थित हुन्छ, जुन मुख्यतया ठूला ब्लकहरू जोडेर गरिन्छ।
सुरुमा इन्जिनियरहरूले जहाजको विस्तृत डिजाइन तयार गर्छन् र त्यसपछि स्टिलका विशाल पाताहरूलाई काटेर साना खण्डहरू बनाइन्छ। यी खण्डहरूलाई एकसाथ जोडेर ठूला ब्लकहरू तयार पारिन्छ, जसलाई पछि विशाल क्रेनको सहायताले डकयार्डमा एकअर्कामाथि जोडिन्छ।
यो प्रक्रियालाई ‘ब्लक कन्स्ट्रक्सन’ भनिन्छ, जसले जहाजको संरचनालाई बलियो र सन्तुलित बनाउन मद्दत गर्छ।
जहाजको निर्माणमा प्रयोग हुने सामग्री र प्रविधिबारे ‘नेभल आर्किटेक्चर एण्ड मरिन इन्जिनियरिङ’ का अध्ययनहरूले पुष्टि गरेअनुसार उच्च गुणस्तरको स्टिल र आधुनिक वेल्डिङ प्रविधिले जहाजलाई समुद्रको तीव्र दबाब र छालहरू थेग्न सक्षम बनाउँछ।
जहाजको तल्लो भागमा राखिने ‘ब्यालास्ट ट्याङ्क’ र ‘स्टेबिलाइजर’ हरूले यसको गुरुत्वाकर्षण केन्द्रलाई नियन्त्रणमा राख्छन्, जसले गर्दा यति ठूलो संरचना पनि पानीमा सजिलै तैरिन र सन्तुलन कायम राख्न सक्छ।
अन्तिम चरणमा जहाजको भित्री भागमा इन्जिन, विद्युतीय प्रणाली र विलासी सुविधाहरू जडान गरिन्छ। जहाजको स्थिरता र सुरक्षा सुनिश्चित गर्न विभिन्न कम्प्युटर सिमुलेसन र हाइड्रोडायनामिक परीक्षणहरू गरिन्छन्। यी वैज्ञानिक विधिहरूले गर्दा नै स्टार अफ द सीजजस्ता विशाल जहाजहरू हजारौं यात्रु बोकेर सुरक्षित रूपमा महासागरमा यात्रा गर्न सक्षम हुन्छन्।








