📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- २० लाख युरो मूल्य बराबरको झन्डै सय किलो गाँजा उत्पादन।
- १५ जनामाथि लागूऔषध, सम्पत्ति शुद्धीकरण र कर छलीको आशङ्का।
- १४ किलो गाँजा र हजारौँ युरो नगद जफत।
फिनल्यान्डको राजधानी क्षेत्रमा लामो समयदेखि गाँजा खेती र बिक्री गर्दै आएको एक ठूलो समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सन् २०१९ देखि २०२६ सम्मको अवधिमा उक्त समूहले झन्डै सय किलो गाँजा उत्पादन गरेको प्रहरीको भनाइ छ।
उत्पादित गाँजाको बजार मूल्य करिब २० लाख युरो रहेको अनुमान गरिएको छ। समूहले मुख्यतया एउटा ठूलो भाडामा लिएको घरमा गाँजा खेती गर्ने गरेको थियो।
यसका अलावा समूहका अन्य सदस्यले ग्यारेज र आफ्नै अपार्टमेन्टमा पनि गाँजा हुर्काएका थिए। एक आरोपितले उपकरण र मलमा मात्रै दशौँ हजार युरो खर्च गरेको बताएका थिए।
यो प्रकरणमा १५ जनामाथि गम्भीर प्रकृतिको लागूऔषध, सम्पत्ति शुद्धीकरण र कर छलीको दायरामा अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा ११ जनालाई हिरासतमा राखिएको थियो भने तीन जना अझै थुनामा छन्।
“आरोपितहरूले गाँजाको उत्पादन बढाउन लामो समयदेखि उपकरण र प्रविधिको विकास गरिरहेका थिए,” प्रहरीका अनुसन्धान प्रमुख तथा क्रिमिनल कमिसार यान्ने युलिनेनपा भन्छन्।
प्रहरीले सुराकी र गोप्य अनुसन्धान प्रविधिको प्रयोग गरेर उनीहरूलाई पत्ता लगाएको हो। प्रहरीका अनुसार सङ्गठित अपराधमा यस्ता गोप्य प्रविधिहरू प्रयोग हुने गर्छन्।
लागूऔषध बिक्रीबाट प्राप्त रकम विभिन्न व्यक्ति र कम्पनीहरूमार्फत शुद्धीकरण गरिएको थियो। केही कम्पनीहरू विदेशमा समेत दर्ता भएको र गम्भीर कर छलीका घटना पनि फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले १४ किलो गाँजा र हजारौँ युरो नगद बरामद गरिसकेको छ। प्रारम्भिक अनुसन्धान सकिएपछि मुद्दा अभियोजनका लागि सरकारी वकिलकहाँ जानेछ।
फिनल्यान्डमा गाँजाको उत्पादन, बिक्री र प्रयोग कानुनी रूपमा वर्जित छ।








