📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- फिनल्यान्डका प्रमुख मिडियाद्वारा नेपालको बाढी र विपत्तिलाई उच्च प्राथमिकता।
- नेपालमा रहेका फिनिस नागरिकको सुरक्षा र एकजना बेपत्ता भएको आशंका।
- भूकम्प, हिमपहिरो र जलवायु परिवर्तनका कारण दुर्घटना भएको फिनिस विज्ञको निष्कर्ष।
नेपालमा आएको विनाशकारी बाढीको समाचारले फिनल्यान्डका प्रमुख सञ्चारमाध्यममा पनि व्यापक स्थान पाएको छ।
फिनल्यान्डका सार्वजनिक प्रसारण संस्था YLE, प्रमुख दैनिक Helsingin Sanomat, Ilta-Sanomat, Iltalehti, Aamulehti र MTV Uutiset लगायतका सञ्चारमाध्यमले नेपालको विपत्तिबारे समाचार प्रकाशित गरेका छन्।
राष्ट्रिय सञ्चारमाध्यमसँगै फिनल्यान्डका विभिन्न स्थानीय पत्रपत्रिकाले पनि घटनाबारे रिपोर्टिङ गरेका छन्। उनीहरूले मृतक र बेपत्ताको संख्या तथा भौतिक क्षतिको विवरण मात्र प्रस्तुत गरेका छैनन्, विपत्तिको सम्भावित कारण र यसले फिनिस नागरिकलाई पारेको प्रभावबारे पनि विशेष चासो देखाएका छन्।
घटनामा अहिलेसम्म १६५ जनाको शव फेला परेको छ भने हजारभन्दा धेरै सम्पर्कबिहिन छन्।
फिनल्यान्डका प्रमुख मिडियाहरूले मानवीय क्षतिसँगै त्यहाँ रहेका फिनिस नागरिकको अवस्था र विपत्तिका वैज्ञानिक कारणहरूलाई सूक्ष्म रूपमा विश्लेषण गरेका छन्।
फिनल्यान्डको परराष्ट्र मन्त्रालयका अनुसार करिब ३० जना फिनिस नागरिकले आफू नेपाल भ्रमणमा जाने जानकारी दिएका थिए। नेपाल पर्यटन बोर्डबाट प्राप्त विवरणअनुसार घटनापछि एक फिनिस नागरिक सम्पर्कविहीन रहेको जानकारी सार्वजनिक भएको छ।
यद्यपि, फिनल्यान्डको परराष्ट्र मन्त्रालयसँग अहिलेसम्म फिनिस नागरिक घाइते वा मृतकको सूचीमा परेको पुष्टि भएको जानकारी छैन।
फिनल्यान्डको सबैभन्दा ठूलो दैनिकमध्ये एक Helsingin Sanomat ले नेपालको विपत्तिबारे प्रकाशित समाचारमा “बाढीमा कम्तीमा १६० जनाको मृत्यु, नेपालमा करिब ५०० विदेशी पर्यटक बेपत्ता” भन्ने शीर्षक प्रयोग गरेको छ।
समाचारमा नेपालको विपत्तिको मानवीय क्षति र विदेशी पर्यटकको अवस्थालाई प्रमुख विषय बनाइएको छ।
फिनल्यान्डको अर्को प्रमुख मिडिया Iltalehti ले घटनालाई “भयानक विपत्तिले नेपाललाई तहसनहस बनाएको” भन्दै रिपोर्ट गरेको छ।
YLE ले खोज्यो विपत्तिको वैज्ञानिक कारण
फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE ले नेपाल विपत्तिबारे धेरै रिपोर्टिङ गरेको छ। तीमध्ये एउटा रिपोर्टिङ घटनाको कारण र हिमालय क्षेत्रमा बढ्दो वातावरणीय जोखिमतर्फ केन्द्रित छ।
उसले हेलसिन्की विश्वविद्यालयको भूकम्प विज्ञान संस्थानकी प्रमुख सुभी हेइनोनेनसँग कुरा गर्दै नेपालको अचानक आएको बाढी तथा पहिरोबारे वैज्ञानिक विश्लेषण प्रस्तुत गरेको छ।
रिपोर्टअनुसार प्रारम्भिक रूपमा विपत्तिको पछाडि भूकम्प हुन सक्ने आशंका गरिएको छ। सम्भावित रूपमा हिमालय क्षेत्रमा आएको भूकम्पका कारण चट्टान र हिउँ खसेर तल बगिरहेको नदीमा पुगेपछि अचानक ठूलो पानीको बहाव सिर्जना भएको हुन सक्ने अनुमान गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण संस्था USGS का अनुसार नेपालको सीमाना नजिक तिब्बत क्षेत्रमा बिहानै करिब ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको केन्द्र करिब १० किलोमिटर गहिराइमा रहेको बताइएको छ।
काठमाडौँस्थित ICIMOD का प्रतिनिधि सस्वता सन्यालले CNN सँग कुरा गर्दै हिउँपहिरोले नदी अवरुद्ध गरेर त्यसपछि अचानक ठूलो पानीको बहाव सिर्जना गरेको हुन सक्ने बताएका थिए। YLE सँगको कुराकानीमा हेइनोनेनले पनि यो व्याख्यालाई सम्भावित मानेकी छन्।
उनका अनुसार भूकम्प आफैंमा अत्यन्त शक्तिशाली थिएन। तर हिमाली क्षेत्रमा पहिल्यै केही पग्लिएको हिउँ वा अस्थिर भूभाग रहेको अवस्थामा तुलनात्मक रूपमा सानो भूकम्पले पनि ठूलो हिमपहिरो वा पहिरो निम्त्याउन सक्छ।
उनका अनुसार भूकम्पको केन्द्र जमिनको सतहसँग जति नजिक हुन्छ, त्यसले हिउँ तथा पहिरो निम्त्याउने सम्भावना त्यति नै बढी हुन सक्छ। पछिल्लो भूकम्पको केन्द्र पनि सतहको तुलनात्मक रूपमा नजिक थियो।
YLE को रिपोर्टमा विपत्तिको अर्को सम्भावित कारणका रूपमा हिमताल विस्फोटका कारण आएको बाढीलाई पनि उल्लेख गरिएको छ।
हिमनदी पग्लिँदै जाँदा त्यसबाट बनेको ताल प्राकृतिक बाँध फुटेर अचानक ठूलो मात्रामा पानी तलतिर बग्दा यस्तो बाढी आउन सक्छ।
हेइनोनेनका अनुसार हिमालय क्षेत्र विश्वका अन्य धेरै क्षेत्रको तुलनामा तीव्र गतिमा तातिरहेको छ। तापक्रम बढ्दै जाँदा हिमनदीहरू पग्लिने क्रम तीव्र भइरहेको छ र कतिपय हिमाली भूभाग थप अस्थिर बन्दै गएका छन्।
उनले पछिल्ला वर्षहरूमा नेपालमा भारी वर्षासँग सम्बन्धित ठूला बाढी तथा पहिरोका घटनासमेत बढेको उल्लेख गरेकी छन्।
नेपालको पछिल्लो विपत्तिलाई एउटा स्थानीय प्राकृतिक घटनाका रूपमा मात्र नभई हिमालयमा भइरहेको तीव्र वातावरणीय परिवर्तन र जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने उनको तर्क छ।
थप पहिरोको जोखिम
MTV Uutiset ले भने अहिलेको विपत्तिपछि उद्धार तथा राहत कार्यमा आउन सक्ने थप जोखिमबारे ध्यान केन्द्रित गरेको छ।
MTV का मौसमविद् आलेक्सी योकेलाका अनुसार नेपालमा जारी उद्धार कार्य सहज हुने सम्भावना कम छ। यसको मुख्य कारण नेपालमा अहिले पनि मनसुन जारी छ।
आगामी दिनमा सो क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको र यसले उद्धार कार्यलाई थप कठिन बनाउन सक्ने योकेलाले बताएका छन्।
तर समस्या उद्धार कार्य कठिन हुनुमा मात्र सीमित छैन। भारी वर्षाका कारण थप पहिरो र माटो बग्ने घटना हुन सक्ने जोखिमसमेत रहेको उनको भनाइ छ।
तर योकेलाका अनुसार बुधबार देखिएको स्तरको ठूलो बाढी र विपत्ति सामान्य घटना होइन।
MTV को रिपोर्टले पनि विपत्तिको सम्भावित कारणलाई जलवायु परिवर्तनसँग जोडेको छ। योकेलाका अनुसार यसपटकको ठूलो पहिरो हिमनदीले बनाएको प्राकृतिक बाँध फुटेका कारण आएको हुन सक्ने देखिन्छ। यस्तो संरचना अस्थिर हुँदै गएमा भविष्यमा पनि यस्ता घटना दोहोरिन सक्ने जोखिम हुन्छ।
जलवायु परिवर्तनका कारण हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्। त्यसले हिमतालको आकार बढाउनुका साथै हिमाली क्षेत्रमा प्राकृतिक बाँध र भूभागको स्थिरतामा असर पार्न सक्छ।
यसकारण अहिलेको घटना तत्कालको भूकम्प, हिमपहिरो वा हिमताल फुट्नेसँग सम्बन्धित भए पनि यसको पछाडि रहेको दीर्घकालीन जलवायु जोखिमलाई बेवास्ता गर्न नसकिने फिनिस विशेषज्ञहरूको विश्लेषण छ।








