📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- फिनल्यान्डमा रहेका नेपालीद्वारा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग।
- एनआरएनए फिनल्यान्ड लगायतका संस्थाद्वारा सरकारी कोषमा सहयोगका लागि अपिल।
- अन्तर्राष्ट्रिय बैंक कार्ड प्रयोगकर्ताका लागि सरकारले ल्यायो नयाँ अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे।
नेपालको रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उब्जेको मानवीय संकटमा राहतस्वरूप फिनल्यान्डमा रहेका नेपालीहरूले तीव्र रूपमा सहयोग सङ्कलन र हस्तान्तरण गरिरहेका छन्।
फिनल्यान्डका नेपालीहरूले स्वतःस्फूर्त व्यक्तिगत र समुहगत रूपमा केही सयदेखि एकैजनाले एक लाख रुपैयाँसम्म सहयोग पठाएको पाइएको छ।
यसरी सहयोग पठाइएका कैयौँ पेमेन्टका ‘स्क्रिन सट’नेपालीलाइनेनले हेरेको छ।
सरदरमा प्रतिव्यक्ति ५ हजारदेखि १० हजार नेपाली रुपैयाँसम्म सहयोग पठाइएको देखिन्छ। सहयोगको वास्तविक आँकडा प्राप्त गर्न कठिन भए पनि कुल रकम दसौँ लाख भएको सहजै आकलन गर्न सकिन्छ।
फिनल्यान्ड सरकारले अहिलेसम्म कुनै सहयोगको घोषणा गरेको छैन्। परराष्ट्र मन्त्रालयले घटनामा एकजना फिनिस नागरिक हराएको भने पुष्टि गरेको छ।
फिनिस परोपकारी संस्था Fida ले अहिले तत्कालका लागि ३० हजार युरो सहयोग उपलब्ध गराएको जनाएको छ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) फिनल्यान्ड र फिनिस नेपाली समाज लगायतका संस्थाहरूले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै रकम पठाउन सबैमा आह्वान गरेका छन्।
मातृभूमिमा परेको यो विपद्का बेला हरतरहबाट सहयोग गर्न नेपालीलाइनेन पनि हाम्रा सम्पूर्ण पाठकमा अनुरोध गर्दछ।
फिनल्यान्डबाट कसरी गर्ने सहयोग?
नेपालका बैंक खाता, खल्ती वा ई-सेवा प्रयोग गर्नेहरूले सिधै यहीँबाट नेपाली रुपैयाँमा सहयोग पठाउन सक्छन्।
त्यसैगरी विदेशमा बस्ने तर नेपाली पेमेन्ट सेवा प्रयोग गर्न नसक्ने साथै अन्तर्राष्ट्रिय बैंक कार्ड प्रयोगकर्ताका लागि नेपाल सरकारले नयाँ अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे https://pmdrf.nchl.com.np को व्यवस्था गरेको छ।
यो माध्यमबाट व्यक्ति, संघसंस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायले समेत आर्थिक सहयोग पठाउन सक्नेछन्। नेपाली बैंक खाता वा वालेट नचलाउनेका लागि यो नै सहयोग पठाउने उत्तम उपाए हो।
कार्ड प्रयोग नगरी बैंक खातामै पठाउन चाहानेले पनि आफ्नो फिनल्यान्डको बैंक ट्रान्सफर अथवा TapTap, Wise, Revolut जस्ता सेवाहरू प्रयोग गरि रकम पठाउन सक्नेछन्।
नेपाल सरकारले हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकसहित बैंकका खाता सहयोगका लागि सार्वजनिक गरेको छ।

भदौ १० मा रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। रसुवा, चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्व लगायतका जिल्लामा क्षति पुगेको छ।
प्रभावित क्षेत्रमा सरकारले खोजी तथा उद्धार कार्य जारी राखेको छ। यसैबीच देशी-विदेशी संघसंस्थाहरूले पनि सहयोगको घोषणा गर्न थालेका छन्।








