📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- फिनल्यान्डको पूर्वी खाडी क्षेत्रमा उडान र जल यातायातमा रोक।
- लात्भियाको आकाशमा लडाकु विमानद्वारा एक ड्रोन नष्ट।
- रुसको लेनिनग्राड क्षेत्रमा ३७ वटा ड्रोन खसालिएको दाबी।
फिनल्यान्डको सेनाले सम्भावित ड्रोन खतराका कारण पूर्वी फिनल्यान्डको खाडीमा उडान र जल यातायातमा रोक लगाएको छ। सोही समयमा लात्भियाले पनि आफ्नो आकाशमा उडिरहेको एउटा ड्रोन खसालेको जनाएको छ।
फिनल्यान्डको सेनाले आज बिहान ४ बजेर ११ मिनेट जाँदा सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यसको जानकारी दिएको हो। यो कदमलाई सम्भावित ड्रोनहरूका कारण अपनाइएको सावधानी भएको सेनाले बताएको छ।
Puolustusvoimat on ottanut käyttöön itäisellä Suomenlahdella tilapäisen ilmailun ja merialueen rajoituslueen klo 04.00.
— Puolustusvoimat (@Puolustusvoimat) August 14, 2026
Tarkista voimassa olevat ilmailun rajoitukset: https://t.co/zPRShGXU4G
ja merivaroitukset: https://t.co/eGVEml3uzA
फिन ट्राफिकका अनुसार कोत्का सहर अगाडिको समुद्री क्षेत्र उडानका लागि बन्द गरिएको छ। यो समरका बेला फिनल्यान्डले पूर्वी खाडी क्षेत्रमा यस्तो प्रतिबन्ध लगाएको यो केही पटक भइसकेको छ।
लात्भियामा खसालियो ड्रोन
उता लात्भियाको सशस्त्र बलले पनि बिहान सबेरै हवाई खतराको चेतावनी दिएको थियो।
“भित्र सुरक्षित रहनुहोस् र शंकास्पद वस्तु देखे नजिक नजानुहोस्,” लात्भियाको सेनाले सामाजिक संजालमा लेखेको थियो।
बिहान करिब ४:४५ बजे लात्भियाले मित्रराष्ट्रका लडाकु विमानले ड्रोन खसालेको जानकारी दियो। त्यसपछि रुस र बेलारुसको सिमाना नजिकका क्षेत्रमा दिइएको हवाई खतराको सुचना हटाइएको थियो।
लात्भियामा खसालिएको ड्रोन कुन देशको हो भन्ने खुलाइएको छैन। गत महिनाहरूमा फिनल्यान्डमा पनि केही युक्रेनी ड्रोनहरू खसेका थिए।
फिनल्यान्ड र लात्भिया दुवै नेटो गठबन्धनका सदस्य हुन् र दुवैको सिमाना रुससँग जोडिएको छ। पछिल्लो समय नर्डिक तथा बाल्टिक क्षेत्रमा जासुसी ड्रोन तथा सम्भावित हवाई अतिक्रमणको खतरा बढेको हुनाले यो क्षेत्रका मुलुकहरुले आफ्नो हवाई सुरक्षामा उच्च सतर्कता अपनाउँदै आएका छन्।
यसैबीच रुसले आफूमाथि लक्षित गरि पठाइएका ३७ वटा ड्रोन खसालिएको दाबी गरेको छ। उस्त-लुगा तेल बन्दरगाहमा आक्रमण हुँदा आगलागी पनि भएको रुसले जनाएको छ।
रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण बाल्टिक र नर्डिक क्षेत्रको सुरक्षा संवेदनशीलता पछिल्ला वर्षहरूमा थप बढेको छ।
अपडेट ११ः०० बजेः फिनल्यान्डको रक्षा बलका अनुसार बिहान पूर्वी भागको सुओमेनलाह्ती क्षेत्रमा लागेको उडान क्षेत्र निषेध अन्त्य भैसकेको छ। निषेध सम्भावित खतरालाई ध्यानमा राखी सावधानी स्वरूप गरिएको थियो। तर फिनल्यान्डतिर कुनै ड्रोन आएको भेटिएको छैन, र अवस्था अहिले सामान्य छ।








