📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- हेलसिन्कीको जनसङ्ख्या ७ लाख पुगेको तथ्याङ्क सार्वजनिक।
- सन् २०७० सम्म जनसङ्ख्या १० लाख नाघ्ने अनुमान।
- जनसङ्ख्या वृद्धिको मुख्य कारण आप्रवासन।
फिनल्यान्डको राजधानी हेलसिन्कीको जनसङ्ख्या सात लाख पुगेको छ। हेलसिन्की महानगरका अनुसार जनसङ्ख्या वृद्धिको मुख्य कारण विदेशबाट रोजगारी र अवसरको खोजीमा आउने आप्रवासीहरू हुन्।
सन् २०१२ को अगस्टमा हेलसिन्कीको जनसङ्ख्या ६ लाख पुगेको थियो। त्यसको ठिक १४ वर्षपछि अगस्ट २०२६ को मध्यतिर यो सङ्ख्या ७ लाख पुगेको हो।
पछिल्ला दुई वर्षमा हेलसिन्कीको जनसङ्ख्या वृद्धिदर झनै तीव्र बनेको छ। आगामी वर्षहरूमा वार्षिक ८ देखि ९ हजारसम्म नयाँ मानिस थपिने महानगरको नयाँ प्रक्षेपण छ।
यही गतिमा जनसङ्ख्या बढेमा सन् २०३८ सम्ममा हेलसिन्कीको जनसङ्ख्या ८ लाख पुग्नेछ। त्यस्तै सन् २०७० सम्ममा यो सङ्ख्या १० लाख नाघ्ने अनुमान गरिएको छ।
जनसङ्ख्या वृद्धिको मुख्य हिस्सा आप्रवासनले ओगटेको छ। वार्षिक जनसङ्ख्या वृद्धिको करिब ८० प्रतिशत हिस्सा फिनल्यान्डका अन्य ठाउँ वा विदेशबाट आउनेहरूको हुन्छ।
अन्तर्राष्ट्रिय आप्रवासन नै अहिले सहर वृद्धिको सबैभन्दा ठुलो स्रोत बनेको छ। सन् २०२५ मा मात्रै विदेशबाट ३,२०० भन्दा बढी मानिस थपिएका थिए भने आगामी दिनमा वार्षिक करिब ५ हजार विदेशीहरू हेलसिन्की आउने अनुमान छ।
“पछिल्ला वर्षहरूमा विदेशबाट हेलसिन्की आउने क्रम निकै बढेको छ,” सहरकी अनुसन्धानकर्ता हेर्ता सुदानलाम्मी भन्छिन्। “भविष्यमा पनि सहरको जनसङ्ख्या वृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय आप्रवासन नै हुनेछ।”
समग्र फिनल्यान्डको तुलनामा हेलसिन्कीको जनसङ्ख्या कम उमेरको छ। यहाँको औसत उमेर ३९ वर्ष छ भने समग्र फिनल्यान्डको ४४ वर्ष रहेको छ।
हेलसिन्की भाषिक रूपमा पनि धेरै विविध बन्दै गएको छ। सन् २०२५ को अन्त्यसम्ममा यहाँका २१ प्रतिशत बासिन्दाको मातृभाषा फिनिस, स्विडिस वा सामी बाहेक अन्य रहेको छ।
हेलसिन्कीका १९ प्रतिशत बासिन्दा विदेशमा जन्मिएका हुन् र १३ प्रतिशत विदेशी नागरिक हुन्।
फिनल्यान्ड यतिबेला जनसाङ्ख्यिकीय सङ्कटबाट गुज्रिरहेको छ। देशभरि वृद्धवृद्धाको सङ्ख्या बढ्दै गएको छ भने जन्मदर घट्दो क्रममा छ।
यस्तो अवस्थामा देशको अर्थतन्त्र, स्वास्थ्य सेवा र निर्माण क्षेत्रलाई चलायमान राख्न आप्रवासी कामदारहरूको ठुलो आवश्यकता पर्छ।
हेलसिन्कीले विदेशीहरूलाई आकर्षित गर्न र उनीहरूलाई सहरमा स्थापित गराउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। पासिला र कालासातामा जस्ता क्षेत्रमा भइरहेको भौतिक पूर्वाधारको विकासले आप्रवासीहरूलाई रोजगारीका नयाँ अवसरहरू सिर्जना गरिरहेको छ।
हेलसिन्कीमा १५७ भन्दा बढी मातृभाषाहरू बोलिनुले हेलसिन्की बिस्तारै युरोपकै एक प्रमुख बहुसांस्कृतिक सहरका रूपमा विकास भइरहेको प्रस्टै देखिन्छ।








