विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा सानो न्युक्लियर रिएक्टरको परीक्षण हुँदै

यस प्रकारको रिएक्टर मोडुललाई पूर्ण स्केलमा भौतिक रूपमा परीक्षण गरिएको यो पहिलो पटक हो।

.संक्षेपमा.


  • स्टेडी एनर्जीले १५-२० मिलियन युरो लगानीमा परीक्षण प्लान्ट निर्माण गर्दै।
  • पूरानो कोइला प्लान्टलाई परीक्षण केन्द्रमा रूपान्तरण गरिने।
  • सन् २०२५ को अन्त्यदेखि निर्माण कार्य शुरु हुने।

फिनल्यान्डको राजधानी हेलसिन्कीमा रहेको पुरानो सालमिसारी कोइला विद्युत केन्द्रलाई लघु मोडुलर न्युक्लियर रिएक्टरको परीक्षण केन्द्रमा रूपान्तरण गरिने भएको छ। स्टेडी एनर्जी र ऊर्जा कम्पनी हेलेनबीच भएको सम्झौता अनुसार यो परियोजना अघि बढ्न लागेको हो।

यो परीक्षण केन्द्रले वास्तविक न्युक्लियर इन्धन प्रयोग नगरी विद्युतीय तापक प्रणालीको माध्यमबाट रिएक्टरको कार्यप्रणाली परीक्षण गर्नेछ। स्टेडी एनर्जीले विकास गरेको एलडीआर-५० रिएक्टर तापन प्रणालीका लागि विशेष रूपमा डिजाइन गरिएको र यसले ५० मेगावाट सम्म तापीय क्षमता उत्पादन गर्न सक्ने बताइएको छ।

परियोजना प्रबन्धक आन्ती तेरास्विर्ताका अनुसार यस प्रकारको रिएक्टर मोडुललाई पूर्ण स्केलमा भौतिक रूपमा परीक्षण गरिएको यो पहिलो पटक हो।

हेलेनका प्रमुख कार्यकारी अधिकृत ओल्ली सिर्क्काले यस परियोजनालाई राजधानीमा फोसिल फ्युल अर्थात् जीवाश्म इन्धनबाट टाढा जाने एक महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे।

कम्पनीले सन् २०३० सम्म कार्बन तटस्थता र सन् २०४० सम्म दहन-मुक्त ऊर्जा उत्पादनको लक्ष्य राखेको छ। यस परियोजनाले हेलसिन्कीको कार्बन उत्सर्जनमा करिब ३० प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ।

विज्ञापन
विज्ञापन सकियो

स्टेडी एनर्जीका अनुसार एलडीआर-५० रिएक्टरको विशेषता भनेको कम दबाब र मध्यम तापमानमा सञ्चालन हुनु हो। यसले प्राविधिक जटिलता घटाउनुका साथै लागत प्रभावी सुरक्षा संयन्त्रको प्रयोग सम्भव बनाउँछ। उक्त रिएक्टरमा दुई तहको दबाब भाँडो हुन्छ जसको बीचको खाली स्थान पानीले भरिएको हुन्छ। प्राथमिक ताप निकासी प्रणाली असफल भएको खण्डमा पानी उम्लेर वाफ बन्छ र पम्प वा विद्युतीय शक्तिको आवश्यकता बिना नै तापलाई बाहिर निकाल्छ।

परीक्षण केन्द्रको लिज अवधि सन् २०२८ सम्म रहनेछ। यस अवधिमा हेलेनले आफ्नो न्युक्लियर ऊर्जा कार्यक्रम अन्तर्गत थप तयारी गर्ने जनाइएको छ। कम्पनीले संयुक्त ताप र विद्युत रिएक्टर वा समर्पित तापन रिएक्टरका लागि सम्भावित स्थानहरूको मूल्यांकन गरिरहेको र यस वर्षको अन्त्यसम्ममा उपयुक्त स्थानहरूको घोषणा गर्ने योजना बनाएको प्रेस नोटमा उल्लेख गरेको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप