विश्वको सबैभन्दा ठूलो संगीत प्रतियोगिता युरोभिजन सङ्ग कन्टेस्ट २०२५ को दोस्रो सेमिफाइनलमा फिनल्यान्डकी एरिका विकमानले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएकी छिन्। स्विट्जरल्यान्डको बासेलमा भएको प्रतिस्पर्धामा अन्तिम प्रस्तुतिकर्ताको रूपमा देखा परेकी विकमानले पूर्व अनुमान अनुरूप नै फाइनलमा स्थान सुरक्षित गरिन्।
बिहीबार राति सम्पन्न भएको दोस्रो सेमिफाइनलमा १६ देशका कलाकारहरूले प्रतिस्पर्धा गरेका थिए। जनमतको आधारमा छनोट गरिएको यस प्रतियोगितामा फिनल्यान्डका साथै लिथुआनिया, इजरायल, आर्मेनिया, ग्रीस, माल्टा, लाटभिया, लक्जेमबर्ग, अस्ट्रिया र डेनमार्कले फाइनलमा स्थान बनाए। आगामी शनिबार १७ मे मा हुने फाइनलमा कुल २६ देशले प्रतिस्पर्धा गर्नेछन्।
फाइनलमा सेमिफाइनलबाट छानिएका २० देशका साथै ‘बिग ५’ भनिने बेलायत, फ्रान्स, जर्मनी, इटली र स्पेन तथा गत वर्षको विजेता स्विट्जरल्यान्ड स्वतः सहभागी हुनेछन्। फाइनल प्रतियोगिता फिनल्यान्डको समय अनुसार राति १० बजे शुरू हुनेछ।
फिनिश टेलिभिजनमा फाइनल प्रतियोगिताको प्रसारण फिनिश, स्वीडिश, रसियन, सामी (इनारी र उत्तरी सामी) र युक्रेनी भाषाहरूमा हुनेछ।

मलाई डर लाग्छ कि मलाई केही पनि आउँदैन
– एरिका विकमान, फिनल्यान्डकी युरोभिजन प्रतियोगी
यस्तो छ एरिकाको विगत, झन्डै छोडेकी थिइन् साङ्गीतिक करियर
एरिका विकमानले ‘पेर्यान्ताइ’ डकुमेन्ट्रीमा आफू इम्पोस्टर सिन्ड्रोमबाट पीडित भएको बताएकी छिन्। YLE का अनुसार विकमानले केही महिना अगाडी मात्र आफ्नो करियर समाप्त गर्ने बारे समेत सोचेकी थिइन्। उनको एउटा प्रस्तुति नराम्रो भएको थियो र त्यसले उनलाई खुबै पिरोलेको थियो।
“मलाई स्टेजमा डर लाग्यो। त्यसपछि मलाई साँच्चै निराश महसुस भयो।” एरिकाले उक्त डकुमेन्ट्रीमा भनेकी छिन्। “म यहाँ स्टेजमा के गरिरहेको छु जस्तो लाग्यो। म एकदम बेकार छु जस्तो लाग्यो।”
पछिल्ला केही महिनादेखि एरिका निकै व्यस्त छिन् र त्यसले उनको सहनशक्तिमा पनि असर पार्न थालेको उनले खुलाइन्।
“म यो स्प्रिङ्गको सुरूदेखि नै थकित र क्लान्त छु। मेरो लागि यो स्प्रिङ्ग अक्टोबरमा नै UMK (Uuden Musiikin Kilpailu – नयाँ संगीत प्रतियोगिता) को लागि अभ्यास गर्न थाल्दा सुरु भएको थियो। त्यसपछि खासै फुर्सद मिलेको छैन।”
एरिकालाई इम्पोस्टर सिन्ड्रोम छ, जसका कारण उनी आफ्नो क्षमतामा शंका गर्छिन्।
“मलाई डर लाग्छ कि मलाई केही पनि आउँदैन,” उनले डकुमेन्ट्रीमा आफ्नो मनको कुरा खोलेकी छिन्।
“मलाई केही पनि आउँदैन भन्ने कुरा कुनै बेला सबैलाई थाहा हुनेछ भन्ने डर लाग्छ।”
बिहीबारको उनको प्रस्तुति धमाकादार रह्यो। इम्पोस्टर सिन्ड्रोमलाई छोड्ने हो भने उनलाई आफैलाई पनि थाहा छ कि उनी साँच्चै प्रतिभाशाली छिन्।
युरोभिजनमा फिनल्यान्डलाई फाइनलमा पुर्याएकी एरिकालाई नेपालीलाइनेनको पनि शुभकामना!





