📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Go.संक्षेपमा.
- इ-स्कूटर र हल्का विद्युतीय सवारी साधन चालकको उमेर हद १५ वर्ष।
- मादक पदार्थ सेवन गरी सवारी चलाउनमा कडाइ।
- हेल्मेट प्रयोग गर्न सिफारिस।
फिनल्यान्डको संसद्ले मंगलबार इ-स्कूटर र हल्का विद्युतीय सवारी साधन चालकहरूका लागि नयाँ कानुन पारित गरेको छ। यो कानुनले चालकको उमेर हद १५ वर्ष तोकेको छ। कानुनले १५ वर्षभन्दा कम उमेरका व्यक्तिलाई यस्ता सवारी साधन चलाउन वा उपलब्ध गराउन निषेध गरेको छ।
नयाँ कानुनमा मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्यलाई नियन्त्रण गर्न प्रोमिल सीमा ०.५ तोकिएको छ। अर्थात् मादक पदार्थ खाए नखाएको परिक्षण गर्दा १००० ग्राम रगतमा अधिकतम अल्कोहलको मात्रा ०.५ ग्राम तोकिएको छ। नयाँ कानुनले हेल्मेट प्रयोग पनि सिफारिस गरेको छ, जुन पहिले साइकल चालकहरूका लागि मात्र लागू थियो।
यो कानुनले स्कूटरबाहेक अन्य हल्का विद्युतीय सवारी साधनहरू, जस्तै वृद्धवृद्धा वा अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने तीन वा चार पाङ्ग्रे स्कूटरहरूलाई पनि समेटेको छ। यी सवारी साधनहरूको प्रयोगमा बढ्दो दुर्घटनाहरूलाई मध्यनजर गर्दै यी नियमहरू लागू गरिएको हो।
फिनल्यान्डको यातायात र सञ्चार मन्त्री लुलु रान्नेले १५ वर्षे उमेर हद जुन महिनाको मध्यसम्म (जुहान्नस) अघि नै लागू हुने बताएकी थिइन्।
यो कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्।

फिनल्यान्डले सडक सुरक्षालाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको छ।
फिनल्यान्डले सडक सुरक्षालाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको छ। विशेष गरी ‘भिजन जीरो’ अवधारणालाई अंगीकार गर्दै सडक दुर्घटनामा शून्य मृत्यु र गम्भीर चोटपटकको लक्ष्य राखिएको छ।
तर स्कूटर र हल्का विद्युतीय सवारी साधनहरूको प्रयोग बढेसँगै यी साधनहरूबाट हुने दुर्घटनाहरू पनि बढेका छन्। यो नयाँ कानुनले यस्ता सवारी साधनहरूको सुरक्षित प्रयोग सुनिश्चित गर्न र सडक दुर्घटना घटाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।








