.संक्षेपमा.
- जून १ देखि ग्रीष्म ऋतु अर्थात् समरको सुरुवात।
- विद्यालय बन्द, विभिन्न संगीत र सांस्कृतिक महोत्सवहरू।
- समर कटेज, पौडी, साउना, च्याउ र बेरी टिप्ने लगायतका चलन।
आज जून १ देखि फिनल्याण्ड लगायत उत्तरी युरोपका नर्डिक देशहरूमा आधिकारिक रूपमा ग्रीष्म ऋतु अर्थात् समरको सुरुवात भएको छ। आजदेखि ९० दिनसम्म चल्ने गर्मी मौसम फिनल्याण्डमा एक विशेष समय हो।
लामो, अँध्यारो र चिसो हिउँदपछि आउने गर्मी याम यहाँका बासिन्दाका लागि छुट्टै रौनक र ऊर्जा बोकेर आउँछ। तुलनात्मक रूपमा तातो देशबाट फिनल्यान्ड आएका आप्रवासीहरूका लागि पनि समर सिजन विशेष प्रिय लाग्छ।
फिनल्याण्डमा समरको आगमनलाई ठूलो उत्साहका साथ स्वागत गरिन्छ। जाडोमा सूर्यको प्रकाश अत्यन्त कम हुने हुँदा गर्मीका लामा दिनहरू र मध्यरातमा समेत देखिने सूर्यको प्रकाश (मिडनाइट सन) यहाँको प्रमुख आकर्षण हो।
समरमा मानिसहरू घर बाहिर निस्कन, प्रकृतिसँग रमाउन र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूमा संलग्न हुन रुचाउँछन्। विद्यालयहरू सामन्यतयाः बन्द रहन्छन् भने काम गर्ने मानिसहरूले पनि समरको बिदा पाउँछन्। यसले परिवारहरूलाई सँगै समय बिताउने र छुट्टी मनाउने अवसर प्रदान गर्दछ।
फिनल्याण्डमा “समर कटेज” (फिनिस भाषामा ‘मोक्की’) को संस्कृति निकै बलियो छ। अधिकांश फिनिस परिवारहरूको ग्रामीण इलाका र विशेष गरी तालको किनारमा सानो काठको घर हुन्छ जहाँ उनीहरू गर्मीको छुट्टी बिताउन जान्छन्। यी कटेजहरूमा आधुनिक सुविधा कम भए पनि प्रकृतिसँगको निकटता, तालमा पौडी खेल्ने, माछा मार्ने, डुङ्गा चलाउने र साउना (फिनिस स्नान) को आनन्द लिने अवसरले मानिसहरूलाई आकर्षित गर्दछ।
अधिकांश बासिन्दाहरू आफ्ना समर कटेज वा अन्यत्र छुट्टीमा जाने हुँदा खासगरि जुलाई महिनामा राजधानी हेलसिन्की प्रायः सुनसान देखिन्छ। हेलसिन्कीमा लामो समयदेखि नेपाली रेष्टुरेन्ट चलाएर बसेका एक नेपाली व्यवसायीका अनुसार खासगरी जुलाईमा व्यापार पनि अलि कम हुन्छ।
“पहिले पहिले त जुलाई निकै सुनसान हुन्थ्यो। आजभोली भने विदेशी र टुरिस्टहरू अलि बढेका कारण समरमा पनि अलि रौनक हुन्छ।” उनले सुनाए।
गर्मी मौसममा फिनल्याण्डभरी विभिन्न संगीत र सांस्कृतिक महोत्सवहरू पनि आयोजना गरिन्छन्। पोरी जाज, रुइस रक, फ्लो फेस्टिभल र सावोनलिन्ना ओपेरा फेस्टिभल जस्ता कार्यक्रमहरूले स्थानीय र अन्तर्राष्ट्रिय प्रतिभाहरूलाई आकर्षित गर्छन्। यस्ता कार्यक्रमले मनोरञ्जन मात्र नभई विद्यार्थीहरूका लागि ग्रीष्मकालीन रोजगारी अर्थात् समर जबका अवसरहरू पनि सिर्जना गर्दछन्। रेस्टुरेन्ट, क्याफे, पर्यटन क्षेत्र र कृषि फार्महरूमा पनि विद्यार्थीहरूले समर काम गर्ने गर्दछन्।
हजारौं तालहरूको देश भनेर चिनिने फिनल्याण्डमा गर्मीमा तालहरूमा पौडी खेल्नु, डुङ्गा बिहार गर्नु र पानीसँग सम्बन्धित अन्य गतिविधिहरू गर्नु सामान्य जीवनशैलीको हिस्सा हो।
फिनल्याण्डको भूगोल र जलवायुले यहाँको जीवनशैली र संस्कृतिमा गहिरो प्रभाव पारेको छ। छोटो तर प्यारो गर्मी मौसमलाई सकेसम्म पूर्ण रूपमा उपयोग गर्ने यहाँको परम्परा रहिआएको छ।

लामो, अँध्यारो र चिसो हिउँदपछि आउने समरले छुट्टै रौनक र ऊर्जा बोकेर आउँछ।
यो समय प्रकृतिमा नयाँ जीवन भरिने, फूलहरू फुल्ने र जताततै हरियाली छाउने समय पनि हो। मानिसहरू हाइकिङ जाने, जङ्गलमा गएर बेरी र च्याउ टिप्ने जस्ता गतिविधिमा पनि संलग्न हुन्छन्।
हाम्रा सम्पूर्ण पाठकहरुलाई पनि समरको धेरै शुभकामना!





