.संक्षेपमा.
- वातावरणवादी समूह एलोकापिनाको तीन दिने प्रदर्शन शुरू, आज पहिलो दिन।
- हेलसिन्की ओपेरा हाउस अगाडिको प्रदर्शनबाट कम्तीमा ५० पक्राउ।
- भोली र पर्सी पनि प्रदर्शन जारी रहने।
..पछिल्लो अपडेट @18:15
एलोकापिनाका प्रदर्शनकारीहरूलाई सडकबाट हटाइएको र सवै क्षेत्रमा यातायात सामान्य भएको प्रहरीले जनाएको छ।
- वातावरणीय आन्दोलन एलोकापिनाले हेलसिन्कीका दुई स्थानमा यातायात अवरुद्ध गरेको थियो। प्रहरीले धेरै प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ।
- प्रदर्शनका कारण सार्वजनिक यातायात प्रभावित भएको छ।
- वनको अत्यधिक कटान रोक्न, जैविक विविधता संरक्षण गर्न र वातावरणलाई हानि पुर्याउने अनुदानहरू हटाउन आन्दोलनकारीहरूले सरकारसँग माग गरेका छन्।
हेलसिन्की, फिनल्यान्ड – वातावरणवादी आन्दोलनकारी समूह एलोकापिनाले सोमबार दिउँसो ३ बजे हेलसिन्कीमा सुरु गरेको तीन दिने प्रदर्शनका क्रममा प्रहरीले करिब ५० आन्दोलनकारीलाई पक्राउ गरेको छ। प्रदर्शनले ओपेरा हाउस र कर कार्यालय अगाडि ट्राफिक पूर्ण रूपमा अवरुद्ध गरेको थियो।
वातावरणीय समूह ‘एक्सटिङ्क्सन रिबेलियन’को फिनल्यान्ड शाखा ‘एलोकापिना’का सयौं समर्थक र सदस्यहरू सिनेट स्क्वायरमा भेला भएर शहरको मुख्य सडक म्यानरहाइमिनतिय तिर र्याली गर्दै अगाडि बढेका थिए।
ओपेरा हाउस अगाडीको प्रदर्शन अन्त्य गर्न दिएको आदेश आन्दोलनकारी समूहले अस्विकार गरेपछि प्रहलीले पक्राउ गर्न सुरू गरेको थियो।
आन्दोलनकारीहरूले सरकारसँग वनको अत्यधिक कटान रोक्न, जैविक विविधता संरक्षण गर्न र वातावरणलाई हानि पुर्याउने अनुदानहरू हटाउन माग गरेका छन्।
एलोकापिनाको प्रदर्शनले हेलसिन्कीको मुख्य सडक म्यानरहाइमिनतिय र आसपासका क्षेत्रमा यातायात पूर्णरूपमा अवरूद्व भएको थियो। प्रहरीले आदेश नमान्ने प्रदर्शनकारीहरूलाई पक्राउ गर्न तयार रहेको चेतावनी पहिले नै दिएको थियो।
प्रहरीले प्रदर्शनका कारण सार्वजनिक यातायात विशेष गरी प्रभावित भएको बताएको छ। यातायात प्राधिकरण HSL का अनुसार धेरै बस रुटहरूमा पहिल्यै ढिलाइ भइसकेको थियो र यो ढिलाइ साँझ ५ बजेसम्म जारी रहने अनुमान गरिएको थियो।

एलोकापिना फिनल्यान्डमा वातावरणीय मुद्दाहरूमा ध्यानाकर्षण गराउनका लागि नागरिक अवज्ञा र सडक अवरोध जस्ता रणनीतिहरू अपनाउने एक सक्रिय समूह हो।
एलोकापिनाका प्रवक्ता रूट नाइकानेनले यो प्रदर्शनमा पक्राउको लागि तयार भएका ४०० जना विद्रोहीहरूको संख्या असाधारण रहेको बताइन्। उनले पुलिसको स्रोतसाधनलाई पार गर्नु नै उनीहरूको उद्देश्य रहेको र यसले निर्णयकर्ताहरूलाई प्रतिक्रिया दिन बाध्य बनाउने आशा व्यक्त गरिन्।
सोमबारसम्म यो हप्ताको प्रदर्शनमा भाग लिन लगभग १,५०० मानिसहरूले नाम दर्ता गराएका थिए। तीमध्ये लगभग ४०० जनाले आफूहरू प्रहरीद्वारा पक्राउ पर्न तयार रहेको बताएका थिए।
एलोकापिना फिनल्यान्डमा वातावरणीय मुद्दाहरूमा ध्यानाकर्षण गराउनका लागि नागरिक अवज्ञा र सडक अवरोध जस्ता रणनीतिहरू अपनाउने एक सक्रिय समूह हो। यो समूहले विगतमा पनि यस्ता प्रदर्शनहरू मार्फत सरकारको नीतिमा परिवर्तन ल्याउन दबाब दिने प्रयास गरेको छ।
(समाचार अपडेट जारी छ।)





