विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

दुई दशक देखिको परम्परा जारीः शुक्रवार फिनिस-नेपाली समाजको समर पिकनिक

करिब २० वर्षदेखि निरन्तर हुँदै आएको समर पिकनिकमा यो वर्ष पनि सयौंको सहभागिता रहने अनुमान। खानपिन, खेलकुद र नाचगानसहित विविध मनोरञ्जनात्मक कार्यक्रम हुने।

.संक्षेपमा.


  • फिनिस-नेपाली समाजद्वारा आयोजित समर पिकनिक जुन १३, शुक्रबारका दिन हेलसिन्कीको मुस्तापुरो पार्कमा।
  • कार्यक्रममा सहभागी हुन आ-आफ्नो खानेकुरा तथा बस्ने म्याट लिएर जानु पर्ने।
  • पिकनिकमा फिनल्यान्डमा बस्ने नेपालीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा।

हेलसिन्की – फिनल्यान्डमा बसोबास गर्दै आएका नेपालीहरुलाई लक्षित गरी फिनिस-नेपाली समाजले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि समर पिकनिक आयोजना गर्ने भएको छ। करिब दुई दशकदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको यो जमघट यस पटक यही जुन १३ शुक्रबारका दिन हेलसिन्कीको मुस्तापुरो (मिल्युपुरो) पार्कमा सम्पन्न हुन गइरहेको हो। समाजले सम्पूर्ण फिनल्यान्डवासी नेपालीहरुलाई उक्त पिकनिकमा सहभागी हुन निमन्त्रणा गरेको छ।

दिउँसो ४ बजेदेखि सुरु हुने पिकनिकमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। आयोजकले सबै सहभागीलाई केही खानेकुरा र बस्नका लागि म्याट वा चकटी लिएर आउन अनुरोध गरेको छ।

कार्यक्रममा सबैले ल्याएका खानेकुराहरु आपसमा बाँडेर खाने, विभिन्न खेलकुद प्रतियोगितामा सहभागी हुने, नाचगान गर्ने तथा अन्य मनोरञ्जनात्मक गतिविधिमा रमाईलो गर्ने अवसर मिल्नेछ।

यो पिकनिक फिनल्यान्डका विभिन्न स्थानमा अध्ययन, रोजगार, व्यवसाय लगायतका सिलसिलामा बसोबास गर्ने नेपालीहरुबिच भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि बन्ने विश्वास लिएको आयोजकले जनाएको छ।

फिनिस-नेपाली समाजका अध्यक्ष सञ्जु काउछाले नेपालीलाइनेनलाई बताए अनुसार विगत करिब २० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो कार्यक्रममा हरेक वर्ष सहभागीको संख्या पनि बढ्दै गएको छ। यो फिनल्यान्डमा बस्ने धेरै नेपालीहरुका लागि एक किसिमको पुनर्मिलन स्थल जस्तै बनेको काउछाले बताए। यस वर्ष पनि करिब ५०० जनासम्मको उपस्थिति हुन सक्ने अनुमान गरिएको उनले जनाए।

विज्ञापन
विज्ञापन सकियो

“हामीले अन्य संस्थाहरुसँग औपचारिक साझेदारी गरेका छैनौं, तर यो पिकनिक सबैका लागि खुला छ। नेपालीहरु मात्र नभई हरेक वर्ष केही विदेशीहरु पनि सहभागी हुने गरेका छन्।” काउछाले भने।

कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न हेलसिन्की सिटीबाट अनुमति लिइएको, मोबाइल शौचालयको व्यवस्था गरिएको र बालबालिकाका लागि खेल्ने ठाउँ पनि भएकाले पिकनिक बालबालिकामैत्री समेत रहेको उनले जानकारी दिए।

विगतमा पनि उक्त पिकनिकमा सहभागि भएका हेलसिन्कीको कानेल्माकीमा बस्ने एक नेपालीले शुक्रबारको पिकनिकमा सहभागी हुने तैयारी गरेको नेपालीलाइनेनलाई बताए।

“शुक्रवार त मौसम पनि राम्रो रहेछ,” उनले भने। “४ बजे काम सकिन्छ अनि उतैबाट मेट्रो लिएर जाने हो।”

पिकनिक स्थलमा खुला चौरमा बस्ने व्यवस्था अपर्याप्त हुन सक्ने भएकाले सबैलाई आ-आफ्नो लागि बस्ने कुरा र जगेडाको रुपमा छाताको व्यवस्था गर्न पनि सोसाइटीले अनुरोध गरेको छ।

पिकनिकमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। आयोजकले सबै सहभागीलाई केही खानेकुरा र बस्नका लागि म्याट वा चकटी लिएर आउन अनुरोध गरेको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप