फिनल्यान्डका राष्ट्रपति एलेक्सान्डर स्टबले मध्यपूर्वमा पछिल्लो समयमा देखिएको अस्थिरताका कारण प्यालेस्टाइनलाई मान्यता दिने प्रक्रिया हाललाई रोकिएको बताएका छन्। सोमबार कुल्तारान्तास्थित फिनिस राष्ट्रपतिको समर कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो कदम इजरायलले गत शुक्रबार इरानमाथि गरेको आक्रमणका कारण लिइएको बताए।
“अहिले फिनल्यान्डले प्यालेस्टाइनलाई मान्यता दिने समय होइन,” स्टबले भने।
राष्ट्रपति स्टबले प्यालेस्टाइनलाई मान्यता दिन चारवटा मुख्य आधारहरू पूरा हुनुपर्ने स्पष्ट पारे—पहिलो युद्धविराम, दोस्रो शान्तिवार्ता, तेस्रो दुई-राष्ट्र समाधानमा सहमति, र अन्त्यमा मान्यता दिने सम्भावना। उनले बढ्दो तनावको समयमा प्यालेस्टाइनलाई मान्यता दिने कदमबाट फिनल्यान्डलाई कुनै फाइदा नहुने धारणा व्यक्त गरे।
फिनल्यान्डका राष्ट्रपतिको आयोजनामा “परिवर्तनशील विश्वव्यवस्था” भन्ने विषयमा छलफल कार्यक्रम सञ्चालन भएको हो। उक्त दुई दिवसीय छलफलमा प्रशान्त क्षेत्रका परराष्ट्र मन्त्रीहरू समेत सहभागी थिए।
“सबै कुरा आपसमा जोडिएका छन्। एउटा राष्ट्रले आफ्नो परराष्ट्र नीति तीन स्तम्भहरू—मूल्य, चासो, र शक्तिमा आधारित रहेर सञ्चालन गर्छ।” राष्ट्रपति स्टबले छलफलमा भने।

अहिले फिनल्यान्डले प्यालेस्टाइनलाई मान्यता दिने समय होइन।
– एलेक्सान्डर स्टब, फिनल्यान्डका राष्ट्रपति
हरेक समरको यही समयमा आयोजना हुने कुल्तारान्ता छलफलमा यो वर्ष करिब १४० जना राजनीतिक नेताहरू, बुद्धिजीवीहरू, कर्मचारी, व्यवसायी, गैरसरकारी संस्थाका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।





