.संक्षेपमा.
- बालबालिका ओम्बड्सम्यान एलिना पेक्कारीनेनले विदेशी-मूलकी आमाले बच्चालाई पिटेको दाबी गरेकी थिइन्।
- घटनाको कुनै प्रमाण नपाइएको भन्दै प्रहरी र अभियोगकर्ताले छानबिन अन्त्य गरे।
- पेक्कारीनेनको सामाजिक सञ्जालमा आलोचना।
गत नोभेम्बरमा फिनल्यान्डका प्रेसमा एउटा अचम्मको घटना सार्वजनिक भयो। फिनल्यान्डका बालबालिकाको हितमा काम गर्ने ओम्बड्सम्यान (अर्थात् संरक्षक) एलिना पेक्कारीनेनले हेलसिन्कीको एउटा ट्राम स्टपमा विदेशी पृष्ठभूमिकी आमाले आफ्नो बच्चालाई प्राममा हिर्काएको देखेको दाबी गर्दै सामाजिक सञ्जाल X मा पोस्ट गरिन्। त्यसले मिडियामा ठुलो चर्चा पायो।
उनले उक्त घटनालाई फिनल्यान्डमा बालबालिकामाथि हुने घरेलु हिंसाको समस्यालाई उजागर गर्न प्रयोग गरिन्। उनले त्यति मात्र भनिनन् विदेशी मूलकी भएकाले उक्त आमालाई फिनल्यान्डमा बच्चा बच्चीलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने थाहा नभएको समेत जिकिर गरिन्। उनले “बाहिर त यस्तो हुन्छ भने बन्द कोठा भित्र के-के हुँदो हो” समेत भन्न भ्याइन्।
बालबालिकाकी संरक्षकबाटै आएको त्यस्तो अ-संवेदनशील टिप्पणीको धेरैले विरोध पनि गरे। प्रहरीले घटनाको अनुसन्धान सुरु गर्यो।
महिनौँको अनुसन्धान पछि हेलसिन्की प्रहरी र फिनल्यान्डको सरकारी अभियोजन कार्यालयले उक्त घटनमा दाबी गरिए बमोजिमको बच्चालाई पिटेको कुनै प्रमाण नभेटिएको भन्दै उक्त ‘केस’ बन्द गरेको छ।
भएको के थियो?
पेक्कारिनेनले विदेशी-मूलकी महिलाले बच्चालाई पिटेको दाबी गरे पनि उनको दाबीलाई अन्य प्रत्यक्षदर्शीहरूले असत्य भनेका थिए। एक प्रत्यक्षदर्शीले फिनिस मिडियाहरू इल्तालेह्ती र हेलसिन्की सानोमात लगायतलाई बताए अनुसार उक्त आमाले बच्चाको हातमा पन्जा लगाइदिन खोजेको देखेको बताएका थिए। उनका अनुसार आमा तनावमा थिइन् र निकै रिसाएकी थिइन्, तर आफ्नो बच्चालाई हात भने कुनै बेला पनि हालेकी थिइनन्। एक प्रत्यक्षदर्शीले यो सामान्य अभिभावकीय अवस्था भएको बताए भने अर्काले पेक्कारिनेनको व्यवहारलाई “डरलाग्दो” भनी वर्णन गरे।
हेलसिन्की प्रहरीले दुई प्रत्यक्षदर्शी र ११२ मा फोन गरि प्रहरीलाई बोलाउने व्यक्तिसँग सोधपुछ गरेका थिए। तर कसैले पनि आक्रमण भएको देखेको बताएनन्।
पेक्कारिनेनको सामाजिक सञ्जाल पोस्टले फिनल्यान्डमा व्यापक ध्यानाकर्षण गर्यो र उनको अभिव्यक्तिको सत्यता र औचित्यमाथि प्रश्न उठाउँदै संसदीय संरक्षक (Parliamentary Ombudsman) समक्ष उजुरी समेत परेको छ। उनले उक्त आमाको विदेशी पृष्ठभूमिलाई जोड दिँदै “फिनल्यान्डको चलन नजानेको” र “बन्द ढोकाभित्र के हुन्छ” भनी प्रश्न उठाएकी थिइन्, जुन आपत्तिजनक थियो।
फिनल्यान्डमा बालबालिका संरक्षकको भूमिका बालबालिकाको अधिकार र कल्याणको वकालत गर्नु हो। पेक्कारिनेनले आफ्नो पोस्टमार्फत् बालबालिकामाथि हुने घरेलु हिंसाको मुद्दालाई उजागर गर्न खोजेको बताएकी थिइन्। तर उनको घटनाको वर्णन र साक्षीहरूको बयानबीचको अन्तरले उनको जिम्मेवारी र संवेदनशीलतामाथि बहस छेडेको छ।

फिनल्यान्डमा बालबालिका संरक्षकको भूमिका बालबालिकाको अधिकार र कल्याणको वकालत गर्नु हो।
विदेशी पृष्ठभूमिका व्यक्तिहरूलाई लक्षित गरी गरिएको टिप्पणीले सामाजिक तनाव निम्त्याउन सक्ने भन्दै उनको आलोचना भएको थियो, र भइरहेको छ।





