विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमै जन्मेपनि विदेशी पृष्ठभूमि भएकाले खेप्छन अनेकौ चुनौती र भेदभाव

फिनल्यान्डमै जन्मिएका र फिनिस शिक्षा प्राप्त गरेका युवाहरू पनि सामाजिक र श्रम बजारमा सफल हुन सङ्घर्ष गरिरहेका छन्। यदि स्थिति सुधार नभए धेरैले फिनल्यान्ड छाड्ने विचार गरिरहेको पछिल्लो सरकारी प्रतिवेदनले औँल्याएको छ।  

.संक्षेपमा.


  • विदेशी पृष्ठभूमि भएका फिनल्याण्डमा जन्मिएका १८-२९ वर्ष उमेरका युवाहरूमा बेरोजगारी दर उच्च।
  • फिनल्याण्डमा जन्मिएका विदेशी पृष्ठभूमिका व्यक्तिहरूको संख्या ९०,००० पुग्यो।
  • फिनिस भाषामा पोख्त भएपनि भेदभाव खेप्न बाध्य।

फिनल्याण्डमा जन्मेका विदेशी मूलका युवाहरू रोजगारी र शिक्षामा आफ्ना फिनिस साथीहरूभन्दा पछाडि परिरहेको एक सरकारी प्रतिवेदनले देखाएको छ। आर्थिक मामिला तथा रोजगार मन्त्रालयले जारी गरेको उक्त प्रतिवेदनअनुसार फिनल्याण्डमा जन्मेका विदेशी मूलका १८ देखि २९ वर्ष उमेर समूहका युवाहरूमा बेरोजगारी दर उच्च रहेको पाइएको हो।

प्रतिवेदनले औंल्याएअनुसार यो समूहका युवाहरू फिनिस मूलका युवाहरूको तुलनामा काम वा शिक्षाबाट बाहिर रहने सम्भावना बढी छ। फिनल्याण्डको तथ्याङ्क विभागको तथ्याङ्कमा आधारित यस अध्ययनले उनीहरूले उच्च शिक्षा हासिल गर्ने वा पूरा गर्ने सम्भावना पनि कम रहेको देखाएको छ। मन्त्रालयको परिभाषाअनुसार यदि कुनै व्यक्तिको दुवै वा एकमात्र अभिभावक पनि फिनल्याण्डबाहिर जन्मेका हुन् भने उनीहरूलाई विदेशी पृष्ठभूमिको मानिन्छ।

“फिनल्याण्डमा जन्मे-हुर्केका र आप्रवासी मूल भएका युवाहरूको एउटा ठूलो समूह छ, जो काम वा अध्ययनमा अरूसरह सफल हुन सकिरहेका छैनन्,” मन्त्रालयको एकीकरण एकाइकी प्रमुख विशेषज्ञ मिना साभलाले बताइन्।

विगत एक दशकमा फिनल्याण्डमा जन्मेका विदेशी पृष्ठभूमिका मानिसहरूको संख्या ३०,००० बाट तीन गुणा बढेर ९०,००० पुगेको छ। तीमध्ये कम्तिमा १५,००० चाहिँ १८ देखि २९ वर्ष उमेरका छन् र उनीहरूले फिनल्याण्डमै शिक्षा हासिल गरेका छन्। अधिकांश हेलसिन्की महानगर क्षेत्रमा बसोबास गर्छन्, जहाँ रोजगारीका अवसरहरू बढी छन्।

भाषामा निपुण भए पनि भेदभाव

विज्ञापन
विज्ञापन सकियो

फिनिस भाषामा पोख्त भएपनि विदेशी पृष्ठभूमि भएका जागिर आवेदकहरूले भर्ना प्रक्रियामा अक्सर भेदभावको सामना गर्नुपरेको देखिएको छ। धेरै रोजगारदाताहरूले गैर-फिनिस नाम सुन्ने बित्तिकै भाषा सीप कमजोर भएको अनुमान लगाउने गर्छन्।

यस्तै एक अनुभव सिभिल इन्जिनियर जमि‍ला मोहमदसँग छ, जो हाल हेलसिन्कीको माल्मीमा एक क्याफे सञ्चालन गर्छिन्। उनले फिनिस भाषाको दक्षता नपुगेको भन्दै जागिर अस्वीकृत भएको तितो अनुभव सुनाइन्, जबकि उनी फिनिस भाषामा अब्बल थिइन्। “रोजगारदाताको जवाफमा फिनिस भाषाको सीप आवश्यक रहेको उल्लेख थियो,” उनले भनिन्। यसअघि उनले राजधानी क्षेत्रको प्रतिष्ठित वेस्टर्न मेट्रो विस्तार परियोजनामा काम गरेकी थिइन्।

प्रमुख विशेषज्ञ साभलाका अनुसार पछिल्ला वर्षहरूमा भर्ना प्रक्रियामा हुने पूर्वाग्रह केही घटे पनि यसले अझै पनि नियुक्तिसम्बन्धी निर्णयहरूमा असर पारिरहेको छ।

रोजगारीमा देखिने यो असमानता क्षेत्रगत तथ्याङ्कमा पनि स्पष्ट देखिन्छ। तथ्याङ्क विभाग फिनल्याण्डको २०२३ को आँकडाअनुसार आप्रवासी पृष्ठभूमिका कामदारहरू प्रायः हेरचाह क्षेत्र (care sector) मा कार्यरत छन्।

युवाहरूको भोगाइ र आकांक्षाहरू

हेलसिन्कीमा जन्मेकी बीस वर्षको हाराहारीकी सगल दुवाले डाक्टर बन्ने आकांक्षा राख्छिन्। हाल अध्ययनबाट विश्राम लिएकी उनले आफ्नी साथीसँग मिलेर आप्रवासी पृष्ठभूमिका मानिसहरूलाई सहयोग गर्न एक महिला संगठन स्थापना गरेकी छिन्। नर्स रहेकी आफ्नी आमाले छोराछोरीलाई उच्च शिक्षाका लागि सधैं प्रेरित गरेको उनी बताउँछिन्।

२६ वर्षीय सकरिए अली किशोर अवस्थामा फिनल्याण्ड आएका थिए। सोमालियामा जन्मेका र केन्यामा हुर्केका उनी आफ्नी दिदीसँग बस्न यहाँ आएका हुन्। हाल उनी भान्तास्थित लाउरिया युनिभर्सिटी अफ एप्लाइड साइन्सेजमा सामाजिक सेवा विषयमा अध्ययनरत छन्। अध्ययन सुरु गर्नुअघि उनले फ्लायर वितरण, सरसफाइ, जहाज सफाइ, कारखाना मजदुर, सुरक्षा गार्ड र ट्याक्सी चालकजस्ता विभिन्न शारीरिक श्रमका कामहरू गरे।

उनले फिनल्याण्डको अनिवार्य सैन्य सेवा पनि पूरा गरे। उक्त अनुभवलाई उनी पूर्ण समानताको दुर्लभ अवसरको रूपमा वर्णन गर्छन्। “सैन्य सेवाको दौरान मलाई फिनिस नागरिक हुनुमा गर्व थियो। सबैले एउटै लुगा लगाउँथे, एउटै खाना खान्थे र एउटै नियम पालना गर्थे। मानिसहरू कडा परिश्रमको आधारमा अघि बढ्थे,” अलीले भने।

तर सैन्य सेवापछि भने आफ्ना फिनिस सहपाठीले समान योग्यता हुँदाहुँदै पनि आफूभन्दा छिटो र राम्रो रोजगारीका अवसरहरू पाएको उनले महसुस गरे। अली हाल आफूले स्थापना गरेको ‘सोमाली स्टुडेन्ट्स अफ फिनल्याण्ड’ नामक समूहका अध्यक्ष छन्। उनी भन्छन्, “यदि अवस्था सुधार भएन भने धेरै आप्रवासी पृष्ठभूमिका विद्यार्थीहरू देश छोड्ने विचारमा छन्।”

फिनिस भाषामा पोख्त भएपनि विदेशी पृष्ठभूमि भएका जागिर आवेदकहरूले भर्ना प्रक्रियामा अक्सर भेदभावको सामना गर्नुपरेको देखिएको छ।

मन्त्रालयकी विशेषज्ञ साभलाले क्षेत्रीय रोजगारी सुधार पनि एक चिन्ताको विषय भएको बताइन्। रोजगारीका अवसरहरू हेलसिन्कीमा मात्र केन्द्रीकृत नगरी फिनल्याण्डभरि विस्तार गर्नुपर्ने उनको धारणा छ। “यी युवाहरूका लागि राम्रो क्षेत्रीय रोजगारी सहयोग आवश्यक छ,” उनले भनिन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप