0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    इयु अर्थतन्त्रलाई घातक हुनेछ ट्रम्पको ३०% भन्सार शुल्क, फिनल्यान्डमा पर्नेछ यस्तो असर

    निर्यातमा आधारित अर्थतन्त्र भएकाले ट्रम्पको ३०% ट्यारिफ फिनल्यान्डका लागि ठूलो झट्का हुनेछ।

    .संक्षेपमा.


    • ट्रम्पद्वारा युरोपेली संघबाट आयात हुने सबै सामानमा ३० प्रतिशतको भारी भन्सार शुल्क घोषणा।
    • यो कदमले विश्वव्यापी आपूर्ति श्रृंखलामा बाधा पुर्‍याउने, वस्तुहरूको मूल्य बढाउने।
    • युरोपेली आयोगले प्रभाव मूल्यांकन गरी जवाफी कारबाही गर्ने।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (EU) बाट आयात हुने सामानमा ३० प्रतिशतको भारी भन्सार शुल्क अर्थात् ‘ट्यारिफ’ लगाउने घोषणा गरेका छन्। उनको यो निर्णयसँगै अमेरिकाले आफ्ना ‘सहयोगी राष्ट्रहरू’सँगको व्यापार तनावलाई नयाँ उचाइमा पुर्‍याएको छ।

    ट्रम्पले गत शनिवार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत यो नयाँ शुल्क अगस्ट १ देखि लागू हुने जानकारी दिएका हुन्।

    “दुर्भाग्यवश हाम्रो सम्बन्ध पारस्परिक हुन सकेन,” ट्रम्पले लेखेका छन्। उनले युरोपेली कम्पनीहरूले अमेरिकामा आफ्नो उत्पादन सारेर यो शुल्कबाट बच्न सक्ने समेत सुझाएका छन्।

    ट्रम्पले इयु अध्यक्ष उर्सुला भोनडेरलाई पनि पत्र लेखेर भन्सार शुल्कबारे जानकारी दिएका थिए। युरोपियन युनियनले यदि त्यस्तो भन्सार शुल्क साच्चिकै लगाइएमा अमेरिका र इयु बिचको व्यापारको अन्त्य हुन सक्ने चेतावनी दिएको छ।

    इयुले पनि अमेरिकामाथि भन्सार शुल्क लगाउने बारे तैयारी गरेको छ, तर सकेसम्म वार्ताबाटै निकास निस्कियोस् भनेर प्रयास गरिरहेको जनाएको छ।

    ट्रम्पले पनि सोमबार वार्ताका लागि ‘तैयार रहेको’ भनेका छन्। तर यो समाचार लेखुन्जेल वार्ता भएको र कुनै निष्कर्ष निस्किएको सार्वजनिक भएको छैन।

    ट्रम्पको ‘ट्यारिफ’ घोषणासँगै युरोपियन कम्पनीका स्टक मूल्यहरू घटेका छन् भने खास गरि जर्मनी, फ्रान्स, इटाली लगायतका दक्षिण युरोपमा रहेका अमेरिका-निर्यातमा निर्भर ठुला कम्पनीहरूमा ‘प्यानिक’ बढेको छ।

    गत साता ट्रम्पले घोषणा गरेको भन्सार शुल्कको सूचीमा युरोपेली सङ्घ पछिल्लो निशाना बनेको हो। यसअघि उनले मेक्सिकोबाट आयात हुने सामानमा पनि ३० प्रतिशत शुल्क लगाएका थिए भने क्यानडालाई ३५ प्रतिशत र ब्राजिलबाट आयात हुने सामानमा ५० प्रतिशत शुल्क लगाउने चेतावनी दिएका थिए।

    ह्वाइट हाउसले युरोपेली सङ्घमाथिको शुल्कबारे आधिकारिक रूपमा भने केही जानकारी दिएको छैन। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार इयुका अलावा जापान, दक्षिण कोरिया र अन्य धेरै दक्षिण अमेरिकी देशहरूलाई गत हप्ता पत्र पठाइसकिएको छ।

    फिनल्याण्ड र अन्य युरोपेली संघका देशहरूमा पर्नेछ यस्तो असर

    ट्रम्पको बोलीको ठेगान छैन, र ३०% भन्सार शुल्कको निर्णय उनले इयुमाथि दबाब पार्न गरेका पनि हुन सक्छन्। वार्ताबाट समाधान निस्किएर यो शुल्क लागु नहुने सम्भावना पनि उत्तिकै छ। तर यदि साँच्चिकै लागु भएमा ट्रम्प प्रशासनको यो निर्णयले फिनल्यान्ड र समग्र युरोपेली सङ्घको अर्थतन्त्रमा गहिरो र दूरगामी असर पार्ने निश्चित छ।

    अमेरिका फिनल्यान्डको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक साझेदारहरू मध्ये एक हो। फिनल्यान्डले मेसिनरी, विद्युतीय उपकरण, कागज तथा पल्प, र उच्च प्रविधियुक्त उत्पादनहरू अमेरिका निर्यात गर्दछ। ३० प्रतिशतको भन्सार शुल्कले यी सबै उत्पादनहरू अमेरिकी बजारमा महँगो हुनेछन्। फलस्वरुप फिनिस कम्पनीहरूको प्रतिस्पर्धात्मक क्षमता घट्नेछ। यसले सिधै निर्यातमा कमी ल्याउने, उत्पादन घटाउनुपर्ने र रोजगारी कटौतीसम्मको अवस्था सिर्जना गर्न सक्छ। फिनल्यान्डको अर्थतन्त्र निर्यातमा आधारित भएकाले यो एक ठुलो झट्का हुनेछ।

    कार, विमान र विलासिताका सामानहरू ठुलो मात्रामा अमेरिका निर्यात गर्ने जर्मनी, फ्रान्स, र इटालीजस्ता ठुला युरोपेली अर्थतन्त्रहरू यो निर्णयबाट सबैभन्दा बढी प्रभावित हुनेछन्। जर्मनीको अटोमोबाइल उद्योगमा यसको प्रत्यक्ष असर पर्नेछ। युरोपेली सङ्घ साझा बजार भएकाले कुनै एक सदस्य राष्ट्रमा पर्ने असरले अन्ततः सम्पूर्ण ब्लकको आपूर्ति शृङ्खला र आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पार्नेछ।

    युरोपेली सामानहरूमा भन्सार लाग्दा अमेरिकी उपभोक्ताहरूले ती सामानहरू महँगो मूल्यमा किन्नुपर्ने हुन्छ, जसले अमेरिकाभित्र मुद्रास्फीति बढाउनेछ। युरोपेली सङ्घले जवाफी कारबाही स्वरूप अमेरिकी सामानहरूमा भन्सार लगाएमा युरोपमा पनि अमेरिकी उत्पादनहरू (जस्तै कृषिजन्य वस्तु, प्रविधि) महँगो हुनेछन्। यसले विश्वव्यापी रूपमा मूल्य वृद्धि गराउनेछ।

    ट्रम्प प्रशासनको यो निर्णयले फिनल्यान्ड र समग्र युरोपेली संघको अर्थतन्त्रमा गहिरो र दूरगामी असर पार्ने निश्चित छ।

    युरोपेली सङ्घले यो एकतर्फी कदमको कडा प्रतिवाद गर्ने सम्भावना छ। ब्रसेल्सले अमेरिकी मोटरसाइकल, कृषि उत्पादन र अन्य वस्तुहरूमा जवाफी भन्सार लगाउन सक्छ। यस्तो “Tit-for-Tat” (एकको बदला अर्को) रणनीतिले व्यापार युद्धलाई अझ गहिरो बनाउनेछ, जसले विश्वव्यापी व्यापार नियमहरूलाई कमजोर पार्दै आर्थिक अनिश्चितता बढाउनेछ। यसले अन्तर्राष्ट्रिय लगानीको वातावरणलाई पनि धुमिल बनाउनेछ।

    ट्रम्पले आफ्ना वक्तव्यहरूमा फराकिलो भन्सार नीतिको तैयारी गरेको सङ्केत गरेका छन्। उनले अमेरिकाका अधिकांश व्यापारिक साझेदारहरूका लागि १५ देखि २० प्रतिशतको भन्सार दरको अवधारणा अघि सारेका छन्। हालको सामान्य दर जम्मा १० प्रतिशत छ।

    अघिल्लो कार्यकालमा पनि ट्रम्पले चीन, युरोपेली सङ्घ र अन्य प्रमुख अर्थतन्त्रहरूलाई लक्षित गरी भन्सार शुल्क बढाएका थिए। त्यो बेला पनि अमेरिकाका धेरै ‘सहयोगी राष्ट्रहरू’ले जवाफी कारबाही गरेका थिए, जसले विश्वव्यापी व्यापारमा ठुलो विवाद निम्त्याएको थियो।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप