यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
फिनल्यान्ड बस्ने जोकोहीलाई थाहा छ, यहाँको अर्थतन्त्र निकै सुस्ताएको छ। सुस्ताएको मात्र हैन, बिरामी नै छ। राष्ट्रिय ऋण बढेको बढ्यै छ, आर्थिक वृद्धिदर निकै कम छ, र अनेक प्रयासका बाबजुद बेरोजगारी दर उच्च छ। केही न केही ‘तरक्की’ नगर्ने हो भने फिनल्यान्डको पहिचान बन्दै आएको लोक-कल्याणकारी राज्यको संरचना पनि धरापमा पर्ने डर नेतृत्वमा प्रष्टै देखिन्छ।
कुनै बेला नोकिया मोबाइल फोनमार्फत विश्वमा आफ्नो प्राविधिक क्षमताको डंका पिटेको फिनल्यान्ड अहिले फेरि अर्को प्राविधिक क्रान्तिको नेतृत्व गर्न चुपचाप तर दृढताका साथ अघि बढिरहेको देखिन्छ। यो यात्राका आफ्नै जोखिम छन्, तर फिनल्यान्डसंग ‘फेरिने’ भन्दा अरु उपाय पनि छैनन्।
नोकियाको युग एउटा अध्याय थियो। तर फिनल्यान्डले अब भविष्यको नयाँ कथा लेख्नुपर्नेछ, र लेख्दैछ पनि। तर संगसंगै धेरै प्रश्नहरू पनि छन्। जर्मनी, फ्रान्सजस्ता युरोपका ठूला शक्तिहरू र अमेरिका तथा चीनजस्ता विश्वव्यापी खेलाडीहरूको अगाडि फिनल्यान्डको ‘नयाँ’ सपना कत्तिको यथार्थपरक छ?
चुनौतिका चाङ भएपनि नयाँ परिस्थितीमा पुराना उद्योगहरूमा भर पर्नुको सट्टा फिनल्यान्डले आफ्नो ध्यान भविष्यका तीन स्तम्भहरूमा केन्द्रित गरेको स्पष्ट देखिन्छ। यी तीन स्तम्भहरू हुन्ः रक्षा प्रविधि, अन्तरिक्ष प्रविधि, र विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई)।
हामी यो लेखमा फिनल्यान्डले एआई दौडमा आफूलाई अब्बल साबित गराएर कसरी प्रगतिको छलाङ मार्ने तैयारी गरिरहेको छ भन्ने चर्चा गर्नेछौं। भविष्यमा फिनल्यान्डले रक्षा प्रविधि र अन्तरिक्ष प्रविधिमा गरेका लगानी र तैयारीका बारे पनि चर्चा गर्नेछौँ।
नोकियाको खरानीबाट उठेको फिनिक्स
सन् २०२४ को नोभेम्बर महिनामा एउटा समाचारले विशेष चर्चा पायो–फिनल्यान्डमा मात्र हैन, टेक दुनियाँमा, संसार भरि। हेलसिन्कीको कुनामा रहेको सिलो नाम गरेको एक एआई स्टार्टअपलाई AMD नामक चर्चित अमेरिकी कम्पनीले ६६५ मिलियन डलरमा खरिद गर्यो। सिलो अमेरिकी स्वामित्वमा छ, तर अहिले पनि हेलसिन्कीबाटै चलिरहेको छ। यो स्टार्ट अप मा काम गर्ने ५०% कर्मचारी त पिएचडी होल्डर छन् भनेर बेलाबेलामा समाचार आइरहन्छन्।
सिलो एउटा प्रतिनिधि पात्र हो। फिनल्यान्डमा यस्ता दर्जनौँ एआई स्टार्ट अप हरू खुलेका छन्, जसको उद्देश्य त्यही माथि भनिएझैँ प्राविधिक र आर्थिक तरक्की गर्नु हो।
यो सबै एक्कासी सुरू भएको भने हैन। फिनल्यान्डको एआई यात्रा बुझ्न हामीले केही दशक पछाडि फर्कनुपर्छ।
सन् २००० को दशकमा नोकिया विश्व मोबाइल बजारको बादशाह थियो। ‘कनेक्टिङ पिपुल’ नाराका साथ यसले विश्वलाई जोडेको थियो, र फिनल्यान्डको अर्थतन्त्रको मेरुदण्ड बनेको थियो। तर स्मार्टफोनको दौडमा पछि पर्दा नोकियाको साम्राज्य ढल्यो। यो फिनल्यान्डका लागि राष्ट्रिय संकटजस्तै थियो।
त्यो समय निकै पीडादायी थियो। तर त्यो संकटले एउटा नयाँ अवसर पनि दियो। नोकियाबाट निस्किएका तीक्ष्ण दिमागहरूले नयाँ स्टार्टअपहरू खोले, नयाँ प्रविधिमा काम गर्न थाले। त्यो नै आजको फिनिस प्राविधिक इकोसिस्टमको जग हो।
नोकियाको पतनले फिनल्यान्डलाई एउटा महत्वपूर्ण पाठ सिकायो – कुनै एउटा कम्पनी वा प्रविधिमा मात्रै भर पर्नु हुँदैन। यसले देशलाई थप लचिलो र विविध प्राविधिक क्षेत्रमा लगानी गर्न प्रेरित गर्यो। यही पृष्ठभूमिमा जब एआईको लहर विश्वभर फैलिन थाल्यो, फिनल्यान्डले यसलाई अँगाल्न ढिला गरेन।
सन् २०१७ मा फिनल्यान्डको आर्थिक मामिला तथा रोजगार मन्त्रालयले “फिनल्यान्डको आर्टिफिसियल इन्टेलिजेन्सको युग” नामक एक विस्तृत प्रतिवेदन प्रकाशित गर्यो । यो केवल एक नीतिगत दस्तावेज मात्र थिएन, बरु एआई अनुप्रयोगमा फिनल्यान्डलाई विश्वव्यापी नेताको रूपमा स्थापित गर्ने एक महत्वाकांक्षी रोडम्याप थियो। सन् २०२० मा फिनल्यान्डले आफ्नो रणनीतिलाई “आर्टिफिसियल इन्टेलिजेन्स ४.० कार्यक्रम” मार्फत अझ परिष्कृत र अद्यावधिक गर्यो । यो कार्यक्रमले एआई अपनाउने प्रक्रियालाई, विशेष गरी साना तथा मझौला उद्यमहरू (SMEs) मा, तीव्रता दिने कुरामा ध्यान केन्द्रित गर्यो।
यसको पछाडिको सोच स्पष्ट थियो: एआईको लाभ केही ठूला कम्पनीहरूमा मात्र सीमित हुनु हुँदैन, बरु फिनल्यान्डको आर्थिक मेरुदण्डको रूपमा रहेका SMEs सम्म पुग्नुपर्छ।यो कार्यक्रमको सबैभन्दा नवीन पक्ष “ट्विन ट्रान्जिसन” (दोहोरो संक्रमण) को अवधारणा थियो। यसले औद्योगिकीकरणको डिजिटलाइजेसन र हरित संक्रमणका चुनौतीहरूलाई एकैसाथ सम्बोधन गर्ने लक्ष्य राखेको छ। यसको दृष्टिकोण २०३० सम्ममा फिनिस उद्योगलाई “स्वच्छ, कुशल र डिजिटल” बनाउनु हो।
रणनीतिक लगानी र ‘सबैका लागि एआई’
फिनल्यान्डले चुपचाप तर दृढताका साथ २१औं शताब्दीको सबैभन्दा परिवर्तनकारी प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आफ्नो पहिचान स्थापित गर्ने महत्वाकांक्षी योजना बुनिरहेको पछिल्ला वर्षहरुमा झनै स्पष्ट हुँदै गएको छ।
यसको पछिल्लो प्रमाण फिनल्यान्डको हालैको एक साहसी कदममा स्पष्ट देखिन्छ: उत्तरको कायानी सहरमा ईयूको पहिलो एआई ‘गिगाफ्याक्ट्री’ मध्ये एक स्थापना गर्ने प्रस्ताव। फिनल्यान्डका लागि यो केवल एउटा राष्ट्रिय परियोजना मात्र होइन; यो सम्पूर्ण युरोपको लागि एआई विकासको मेरुदण्ड बन्ने एक रणनीतिक चाल हो।
यो विशाल लगानीमा नोकिया पनि समर्थन गरेको छ र फिनल्यान्डको पहिलेदेखि नै सञ्चालनमा रहेको विश्वकै शक्तिशाली सुपर कम्प्युटरहरू मध्ये एक, LUMI, को क्षमताको पनि लाभ उठाउने तैयारी छ।
तर फिनल्यान्डको कथा केवल ठूला पूर्वाधार र सुपर कम्प्युटरहरूमा मात्र सीमित छैन। यसको रणनीतिको अर्को, उत्तिकै महत्वपूर्ण पाटो पनि छ, जसले यसलाई विश्वका अन्य प्रतिस्पर्धीहरूभन्दा फरक बनाउँछ। त्यो हो—मानव पूँजीमा लगानी।सन् २०१७ मा फिनल्यान्ड एआईका लागि राष्ट्रिय रणनीति सार्वजनिक गर्ने विश्वका पहिलो देशहरूमध्ये एक बन्यो। उसको रणनीति केवल ठूला कम्पनी वा दक्ष प्रोग्रामरहरूमा मात्र सीमित थिएन। फिनल्यान्डको दृष्टिकोण निकै फराकिलो र समावेशी थियो।
फिनल्यान्डको लक्ष्य एआईलाई केही सीमित विज्ञहरूको पहुँचबाट निकालेर आम जनतासम्म पुर्याउनु थियो। यही सोचको उपज हो – ‘एलिमेन्ट्स अफ एआई’ (Elements of AI)। हेलसिन्की विश्वविद्यालय र प्रविधि कम्पनी रियक्टर (Reaktor) को सहकार्यमा सुरु गरिएको यो निःशुल्क अनलाइन कोर्सले एआईका जटिल अवधारणाहरूलाई सरल र सहज भाषामा सिकाउँछ। सुरुमा फिनल्यान्डका लागि बनाइएको यो कोर्स आज विश्वका १७० देशमा लाखौं मानिसले लिइरहेका छन्। यसले फिनल्यान्डलाई एआई शिक्षाको क्षेत्रमा एक अग्रणी ‘सफ्ट पावर’ को रूपमा स्थापित गरेको छ।
सरकारले फिनिस सेन्टर फर एआई (FCAI) जस्ता उत्कृष्टताका केन्द्रहरूमा ठूलो लगानी गरेको छ। यी केन्द्रहरूमा प्रविधि क्षेत्रका कम्पनी र विश्वविद्यालयहरू मिलेर अत्याधुनिक अनुसन्धान गरिरहेका छन्। लक्ष्य स्पष्ट छ – केवल एआई प्रयोगकर्ता बन्ने होइन, बरु एआईको आधारभूत प्रविधि विकास गर्ने र त्यसलाई नैतिक र मानव-केन्द्रित बनाउने। FCAI को मिशन नै छः “वास्तविक संसारमा वास्तविक मानिसहरूका लागि वास्तविक एआई” (Real AI for Real People in the Real World)।
विश्वास र डाटामा जोड
सिलिकन भ्यालीमा ‘छिटो अघि बढ र चीजहरू भत्काऊ’ (move fast and break things) भन्ने मन्त्र लोकप्रिय छ। तर फिनल्यान्डको दृष्टिकोण फरक छ। यहाँ विश्वास (Luottamus) समाजको अभिन्न अंग हो। नागरिकहरू सरकार र सार्वजनिक संस्थाहरूमाथि गहिरो विश्वास गर्छन्। यही विश्वास एआई विकासका लागि उर्वर भूमि साबित भएको छ।
उदाहरणका लागि फिनल्यान्डसँग दशकौंदेखि संकलित विस्तृत र उच्च-गुणस्तरका राष्ट्रिय स्वास्थ्य रेकर्डहरू छन्। यहाँका नागरिकहरू आफ्नो स्वास्थ्य डाटा अनुसन्धानका लागि प्रयोग गर्न अनुमति दिन हिच्किचाउँदैनन्। उनीहरूलाई थाहा छ उनीहरूको स्वास्थ्य डाटा दुरुपयोग हुनेछैन।
फिनल्यान्डका लागि डाटा भनेको तेलजस्तो होइन, बरु सफा पानीजस्तो हो। यसलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्छ भन्ने मान्यता फिनिस समाजको ‘कोर’ मै छ। उदाहरणका लागि केहि फिनिस कम्पनीहरूले बिरामीको गोपनीयतालाई पहिलो प्राथमिकतामा राखेर एआई मोडलहरू विकास गरिरहेका छन्। यसले खासगरि क्यान्सरजस्ता रोगहरूको प्रारम्भिक निदानमा क्रान्तिकारी परिवर्तन ल्याउन मद्दत गर्ने विज्ञहरूको अपेक्षा छ।
यो उच्च-विश्वासको वातावरणले फिनल्यान्डलाई व्यक्तिगत डाटामा आधारित एआई अनुप्रयोगहरू, जस्तै व्यक्तिगत औषधि (personalized medicine) र स्मार्ट सिटी समाधानहरूमा अग्रणी बन्न मद्दत गरिरहेको छ। युरोपको कडा डाटा सुरक्षा नियम (GDPR) को पालना गर्दै नैतिक एआई विकास गर्नु फिनल्यान्डको ‘ब्रान्ड’ बन्दै गएको छ।
चुनौती र भविष्यको बाटो
तर फिनल्यान्डको यो यात्रा चुनौतीरहित भने छैन। पहिलो चुनौती हो – आकार। सानो जनसंख्या र सीमित स्रोतसाधनका कारण अमेरिका र चीनजस्ता विशाल देशहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न सजिलो पक्कै छैन। विश्वका उत्कृष्ट एआई प्रतिभाहरूलाई आकर्षित गर्न र यहीँ टिकाइराख्न पनि फिनल्यान्डले संघर्ष गर्नुपरेको छ।
“हामी गुगल वा टेन्सेन्टले जस्तो अर्बौं डलर खन्याउन सक्दैनौं,” फिनिस टेक बुज्रुकहरुले बेलाबेला भन्ने गर्छन् । “त्यसैले हामीले स्मार्ट बन्नुपर्छ। हामीले त्यस्ता क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्छ जहाँ हाम्रो बल छ – जस्तै स्वास्थ्य, दिगो उत्पादन (sustainable manufacturing), र जंगल व्यवस्थापन।
ठूलो बन्ने होडमा लाग्नुभन्दा पनि उत्कृष्ट बन्ने लक्ष्य राख्नुपर्छ भन्ने फिनिस मानसिकता एआईमा पनि प्रस्टै देखिन्छ।
दोस्रो चुनौती भनेको एआईलाई वास्तविक रूपमा समाजको हरेक तहमा एकीकृत गर्नु हो। अनलाइन कोर्स लिनु एउटा कुरा हो, तर एआईलाई आफ्नो दैनिक काममा प्रयोग गर्नु अर्को कुरा हो। फिनल्यान्डको सरकारले साना तथा मझौला व्यवसायहरूलाई एआई प्रविधि अपनाउन अझै धेरै सहयोग गर्नुपर्ने देखिन्छ।
यी चुनौतीका बाबजुद, फिनल्यान्डले आशा गर्नसक्ने ठाउँहरू भने प्रशस्तै छन्। यहाँको समाजमा प्रविधिप्रतिको सकारात्मक दृष्टिकोण र समस्या समाधान गर्ने ‘सिसु’ चरित्र पनि सहयोगी नै हुने देखिन्छ ।
फिनल्यान्डले युरोपको एआई हब बन्ने दौड जित्ला वा नजित्ला, त्यो भविष्यले बताउनेछ। तर एउटा कुरा निश्चित छ – उसले सानो र शान्त देशले पनि ठूलो र महत्वाकांक्षी सपना देख्न सक्छ भन्ने कुरा विश्वलाई देखाइरहेको छ। सायद यो केवल अल्गोरिदम र डाटाको कथा मात्र होइन, बरू फिनिस ‘सिसु’ को आधुनिक अवतार पनि हो।





