विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

दिगो विकास प्रगतिमा फिनल्यान्ड बन्यो विश्वकै अब्बल

विश्वव्यापी प्रगति सुस्त हुँदा फिनल्यान्डले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल गर्ने दौडमा लगातार पाँचौँ पटक शीर्ष स्थान हासिल गरेको छ।

.संक्षेपमा.


  • संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू पूरा गर्ने मामिलामा फिनल्यान्ड लगातार पाँचौँ वर्ष विश्वमै पहिलो स्थानमा।
  • विश्वव्यापी रूपमा केवल ३५ प्रतिशत लक्ष्यहरू पूरा हुँदा फिनल्यान्डले एक्लै ८६ प्रतिशत लक्ष्य हासिल गर्यो।
  • लैङ्गिक समानता, शिक्षा, स्वास्थ्य र कल्याणमा गरिएको निरन्तर लगानी फिनल्यान्डको सफलताको मुख्य कारक।

फिनल्यान्ड संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू पूरा गर्ने सन्दर्भमा लगातार पाँचौँ वर्ष विश्वमै पहिलो स्थानमा पर्न सफल भएको छ।

फिनल्यान्डका प्रधानमन्त्री पेत्तेरी ओर्पोले विश्वव्यापी रूपमा देखिएको सुस्तताका बाबजुद फिनल्यान्ड शीर्ष प्रदर्शन गर्ने देशको रूपमा कायमै रहेको घोषणा गरेका हुन्। न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्र संघको दिगो विकाससम्बन्धी उच्च-स्तरीय राजनीतिक मञ्चलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओर्पोका अनुसार सन् २०३० एजेन्डामा निर्धारित १७ लक्ष्यहरूमध्ये संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूले औसतमा केवल ३५ प्रतिशत मात्र पूरा गरेका छन्। तर फिनल्यान्डले भने आफ्ना ८६ प्रतिशत लक्ष्यहरू हासिल गरिसकेको छ।

नेपालको प्रगति दर करिब ४२ प्रतिशत रहेको छ, जुन औसत भन्दा केहि धेरै हो।

संयुक्त राष्ट्र संघले सन् २०१५ मा भोकमरी र गरिबीको अन्त्य, शिक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चितता, तथा स्वच्छ पानी र ऊर्जाको उपलब्धता बढाउने जस्ता १७ वटा लक्ष्यहरू सहितको एजेन्डा अपनाएको थियो। यी लक्ष्यलाई सन् २०३० सम्ममा हासिल गर्ने उद्देश्य राखिएको छ।

विज्ञापन
विज्ञापन सकियो

सोमबार र मंगलबार गरी दुई दिन चल्ने कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओर्पो फिनिस प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका हुन्। उनले फिनल्यान्डको प्रगतिको स्वैच्छिक राष्ट्रिय समीक्षा (voluntary national review) प्रस्तुत गर्ने कार्यक्रम छ। समीक्षाले फिनल्यान्डको सफलताको पछाडि लैङ्गिक समानता, शिक्षा, स्वास्थ्य र कल्याण जस्ता मुख्य कारकहरू रहेको उल्लेख गरेको छ। यी क्षेत्रहरूमा गरिएको निरन्तर लगानीले अन्य देशहरू पछाडि परेको अवस्थामा पनि फिनल्यान्डलाई अगाडि बढ्न मद्दत पुगेको प्रतिवेदनमा जनाइएको छ।

यसअघि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले समयसीमाभित्र लक्ष्यहरू पूरा गर्ने बाटोमा केवल २० प्रतिशत देशहरू मात्र रहेको अनुमान गरेका थिए। थप १५ प्रतिशतले मध्यम प्रगति देखाएका छन् भने एक तिहाइभन्दा बढी देशहरूको प्रगति या त स्थिर छ वा पछाडि धकेलिएको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप