0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    एस्पो डुबान प्रकरण: डुब्ने बच्चा विदेशी मूलका, अभिभावक माथि अपराध अनुसन्धान सुरु

    घटनामा संलग्न परिवार विदेशी मूलका हुन् भनेर किन खुलाउनु पर्‍यो भन्ने कारण चाहिँ प्रहरीले स्पष्ट पारेको छैन।

    .संक्षेपमा.


    • बच्चाका अभिभावक/वयस्क माथि आपराधिक अनुसन्धान सुरु।
    • घटनामा संलग्न तीन मध्ये दुई परिवार विदेशी मूलका भएको पुष्टि, तेस्रो पनि विदेशी मूलकै भएको आशङ्का।
    • अपराधमा दोषी पाइए जरिवाना वा दुई वर्षसम्म कैद सजाय हुने।

    फिनल्यान्डको एस्पो सहरमा गत साता मङ्गलवार विभिन्न पौडी खेल्ने ठाउँहरूमा घटेका तीन छुट्टाछुट्टै घटनामा प्रहरीले बच्चाका अभिभावक माथि आपराधिक अनुसन्धान सुरु गरेको जनाएको छ।

    प्रहरीको विज्ञप्ति अनुसार घटनामा संलग्न तीन मध्ये दुई परिवार विदेशी मूलका भएको पुष्टि भैसकेको छ, र अहिलेसम्मका सङ्केतका आधारमा तेस्रो परिवार पनि विदेशी मूलकै भएको आशङ्का छ।

    घटनामा संलग्न परिवार विदेशी मूलका हुन् भनेर किन खुलाउनु पर्‍यो भन्ने कारण चाहिँ प्रहरीले स्पष्ट पारेको छैन।

    गत साताका घटना पछि आप्रवासीहरूलाई लक्षित गरी होच्याइएका र गाली गरिएका सयौँ सामाजिक सञ्जाल टिप्पणीहरू नेपालीलाइनेनले हेरेको छ। यस्ता टिप्पणीहरू विभिन्न फिनिस सञ्चार माध्यम र आप्रवासी प्रति अनुदार मानिने फिनिस राजनीतिज्ञका सामाजिक सञ्जाल पेजहरूमा बढी देखिएका छन्।

    आप्रवासीका कारण पौडी पोखरीहरूमा खुट्टा हाल्ने ठाउँ समेत नभएको जिकिर उनीहरूले गरेका छन्। साथै आप्रवासी-मूलका व्यक्तिहरू र तीनका छोराछोरीमा पौडी खेल्ने सीप नभएको आक्षेप पनि उनीहरूले लगाएका छन्।

    भएको के थियो?

    गत साताका तीनवटै घटनामा बच्चाहरू पानीमा डुबेका थिए र उनीहरूलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो।

    एस्पोको लाक्सोलाहती (Laaksolahti) समुद्री तटमा दुई युवतीले करिब ५ वर्षीय बालकलाई पानीमा अनुहार डुबेको अवस्थामा तैरिरहेको देखेका थिए। ती मध्ये एक युवतीले तुरुन्तै पानीमुनि डुबुल्की मारेर बालकलाई बाहिर निकालेकी थिइन्। तर प्रहरी घटनास्थलमा पुग्नुअघि नै बच्चा र उनीसँग रहेका वयस्कहरू त्यहाँबाट गइसकेका थिए।

    सोही दिन किभेनलाहती (Kivenlahti) मा भएको यस्तै एक घटनामा समुद्री तटमा एक ६ वर्षीय बालकलाई पानीमा अनुहार तल पारेर तैरिरहेको अवस्थामा एक सर्वसाधारणले देखेका थिए। संयोगवश घटनास्थलमा एक नर्स र डाक्ट पनि रहेछन्। उनीहरूले डुबेको बच्चालाई कृतिम श्वासमार्फत पुनर्जीवन (CPR) दिन सहयोग गरेका थिए। प्रहरीले ती स्वास्थ्यकर्मीहरूलाई पनि अनुसन्धानमा सहयोग गर्न सम्पर्कमा आउन आग्रह गरेको छ।

    तेस्रो घटना लेप्पाभाराको स्वीमिङ पुलमा भएको थियो। त्यहाँ ४ वर्षीय बालक आफ्ना अभिभावकबाट हराएपछि अचेत अवस्थामा पानीमा भेटिएका थिए। अर्का एक बालकले उनलाई पानीबाट बाहिर निकालेका थिए र प्राथमिक उपचार टोली पुग्नु अघि एक वयस्कले मद्दत गरेका थिए।

    के हुन्छ सजाय?

    प्रहरीले तीनवटै घटनामा प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। बच्चाका अभिभावक वा वयस्कहरूले जानीजानी बच्चाको ज्यानलाई खतरामा पारेको हुन सक्ने प्रहरीको आशंका छ। फिनिस कानूनमा यस्तो अपराधलाई heitteillepano अर्थात् बेवास्ता गरेको भनिन्छ।

    अपराधमा दोषी पाइएमा बच्चाका अभिभावकलाई जरिवाना वा दुई वर्षसम्म कैद सजाय हुन सक्नेछ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप