अहिले गर्मी अत्यधिक बढेको छ, र पौडी खेल्ने क्रममा बालबालिका तथा वयस्कहरूको पानीमा डुबेर मृत्यु भएका प्रशस्त खबरहरू दिनहुँ समाचार माध्यमहरूमा आइरहेका छन्। यस्ता घटनाहरू फिनल्यान्डमा र नेपालमा पनि भइरहेका छन्।
यो ब्लग मार्फत म ज्योतिषीय दृष्टिकोणबाट कस्ता व्यक्तिहरूलाई पानीको जोखिम बढी हुने सम्भावना हुन्छ भन्ने जानकारी दिँदैछु। सामान्यतया पानीसँग सम्बन्धित कार्यहरूमा सबैले नै अतिरिक्त सतर्कता अपनाउन जरुरी हुन्छ। तर, वैदिक ज्योतिषले यसबारे के भन्छ त भन्ने कुरा पनि केही पाठकका लागि पक्कै पनि रूचिको विषय हुनसक्छ।
पूर्वीय वैदिक ज्योतिष अनुसार सबैले आफ्नो न्वारनको नाम र त्यसबाट निकालिने चन्द्र राशि थाहा पाएका हुन्छन्। त्यसलाई आधार मानेर कुन–कुन राशिका व्यक्तिहरूले पानीबाट विशेष सावधानी अपनाउनुपर्छ भन्ने विषयमा जानकारी प्रस्तुत गरिएको छ। (कृपया आफ्नो न्वारनको नाम अनुसारको चन्द्र राशि मात्र हेर्नुहोस् — यसलाई Western astrology (सूर्य राशि) सँग नझुक्याउनुहोस्, किनभने यी दुई प्रणाली पूर्णतः फरक हुन्छन्।)
वैदिक ज्योतिष अनुसार पानीबाट उच्च जोखिम हुने राशिहरू मिथुन र कन्या हुन्। यी राशीलाई सबै प्रकारका पानी (पोखरी, नदी, समुद्र आदि) बाट खतरा रहने मानिन्छ।
वृश्चिक र कुम्भलाई शान्त पानी (ताल, पोखरी) बाट खतरा रहने मानिन्छ भने मकर राशि हुनेहरू बग्ने पानी (नदी, समुद्रको बहाव) बाट विशेष सतर्क रहनुपर्छ।
तर आफ्नो राशि हेरेर मात्र नअत्तिनुहोस्। माथिको सूचीमा तपाईंको राशि परे पनि नपरे पनि, त्यस्ता योगहरू रद्द हुन वा बन्न सक्ने प्रशस्त सम्भावना हुन्छ।
अतः केवल राशि हेरेर मात्र पानीको जोखिमको सही अनुमान लगाउन सकिँदैन। किन? तपाईंको कुन्डलीमा: चन्द्रमामा अन्य ग्रहहरूको दृष्टि, युति, वा प्रभाव परेमा पनि, जोखिमयुक्त राशि नभए पनि, पानीसँग सम्बन्धित अशुभ योगहरू बन्न सक्छन्।
जस्तै, शनि, राहु वा केतुको दुष्प्रभावले सामान्यतः सुरक्षित मानिने राशिलाई पनि खतरा पुर्याउन सक्छ। त्यस्तै, विशेष ग्रह योगहरूका कारण, सामान्यतः जोखिमयुक्त मानिएका राशिहरूमा पनि डुब्ने योगहरू रद्द हुन सक्छन्।
ग्रह र ताराहरू संकेत दिन सक्छन्, तर सावधानी त तपाईं आफैं अपनाउनु पर्छ।
के गर्ने त?
यो पोस्ट हेरेर मात्र निर्णय नगर्नुहोस्। सम्भव भएसम्म आफ्नो पूर्ण जन्मकुण्डलीको विश्लेषण गर्नुहोस्। राशी वा ग्रहको प्रभाव जे-सुकै भए पनि आफ्ना बालबालिकालाई अज्ञात वा जोखिमयुक्त पानीमा एक्लै पौडी खेल्न कहिल्यै नदिनुहोस्।
पानीको जोखिम कम गर्न केहि ज्योतिषीय उपायहरू पनि छन्। ति हुन्: पानीको नजिक सेतो पत्थर वा कपडा राख्नुहोस्, सोमबारको दिन सेतो लुगा लगाउनुहोस्, वा “ॐ सोम सोमाय नमः” मन्त्रको जप गर्नुहोस्।
ग्रह र ताराहरू संकेत दिन सक्छन्, तर सावधानी त तपाईं आफैं अपनाउनु पर्छ।
(नोटः प्रस्तुत विचारहरू लेखकका नीजी हुन्। व्यक्त विचारहरू नेपालीलाइनेनको सम्पादकीय नीतिसँग अनिवार्य रूपमा मेल खान्छन् भन्ने छैन। विविध धारका दृष्टिकोण र विचारलाई छलफलको मञ्च प्रदान गर्ने हाम्रो उद्देश्य हो। नेपालीलाइनेमा आफ्ना लेखहरू प्रकाशित गर्न [email protected] मा इमेल गरि पठाउन सक्नुहुन्छ।)





