0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    भव्य बन्यो ‘नेपाल दिवस’, जोड्यो नेपाली मन

    नेपालको विविधता कार्यक्रम स्थलमा पनि स्पष्टै झल्किएको थियो। कोही ढाका टोपीमा सजिएका थिए, कोही गुन्यु चोलोमा मुस्कुराइरहेका थिए। कोहीले भने दौरा-सुरुवाल, नेवारी, र गुरुङ्ग लगायतका पहिरनमा आफ्नो संस्कृति पस्केका थिए।

    फिनल्यान्डमा पहिलो पटक आयोजना गरिएको नेपाल दिवस अर्थात् नेपाल डे २०२५ भव्यताका साथ सम्पन्न भएको छ। हिजो हेलसिन्कीको माल्मीमा सम्पन्न कार्यक्रममा सयौँ नेपालीहरू उत्साहका साथ सहभागी भएका थिए। कार्यक्रमको आयोजना गैर आवासीय नेपाली सङ्घ फिनल्यान्ड र फिनिस-नेपाली समाजले संयुक्त रूपमा गरेका हुन्।

    अपराह्न करिब ४ बजे नेपालीलाइनेन रिपोर्टिङका लागि कार्यक्रम स्थल पुग्दा तल्लो माल्मी पार्क सहभागीले पूरै भरिएको थियो। त्यहाँ खुट्टा राख्ने ठाउँ समेत थिएन। मान्छेको उपस्थिति देख्दा लाग्थ्यो त्यो कुनै एउटा देश विशेषको कार्यक्रम नभएर ‘वर्ल्ड भिलेज फेस्टिभल’ वा अन्य त्यस्तै ठुलै फेस्टिभल थियो।

    कार्यक्रममा तीज गीत घन्किरहेको थियो र सहभागीहरू बेफिक्री नाचिरहेका थिए। पञ्चे बाजा र अन्य सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा त्यस्तै रौनक छरेको थियो।

    नेपालको विविधता कार्यक्रम स्थलमा पनि स्पष्टै झल्किएको थियो। कोही ढाका टोपीमा सजिएका थिए, कोही गुन्यु चोलोमा मुस्कुराइरहेका थिए। कोही दौरा-सुरुवाल, नेवारी, गुरुङ्ग लगायतका पहिरनमा आफ्नो संस्कृति पस्किरहेका थिए।

    विद्यार्थी, व्यवसायी, विभिन्न पेसामा आबद्ध नेपालीहरू, केटाकेटी, वृद्ववृद्वा, बहुसांस्कृतिक परिवारहरू सबैखाले सहभागीहरू कार्यक्रम स्थलमा देखिए। लाग्थ्यो सबै आ-आफ्ना व्यस्तता र तनावलाई बिर्सेर केही घण्टाका लागि भए पनि एउटै नेपाली पहिचानमा बाधिने निर्णय गरेका थिए। लाग्थ्यो माल्मीको त्यो कुना ‘मिनी नेपाल’ बनेको थियो।

    नेपाली पञ्चे बाजा, लोकगीत र सांस्कृतिक नृत्य, बालबालिकाको फेशन शो, फेस पेन्टिङ र मेहन्दी जस्ता गतिविधिहरू कार्यक्रममा थिए। सहभागीहरूले मःम, समोसा, पकौडा, नेवारी खाजा सेट, सेलरोटी‍ लगायतका नेपाली परिकारहरूको मजा लिएका थिए। भर्खरै फिनल्यान्डमा खुलेको एरोमा नेपाल नामको कफि ब्रान्डले सित्तैमा कफि खुवाएको थियो।

    सोचेभन्दा ठुलो सफलता

    “हामीले सोचेभन्दा पनि उपस्थिति बढी छ,” गैर आवासीय नेपाली सङ्घ फिनल्यान्डका उपाध्यक्ष योगेन्द्र सङ्ग्रौलाले नेपालीलाइनेनसँग कुरा गर्दै भने। “सुरुवात गरियो, पहिलो पाइला जहिले पनि गाह्रै हुन्छ। तर आउँदा दिनहरूमा यसलाई अझै राम्रो बनाउन यो सहभागिताले ऊर्जा थपेको छ।”

    उनको अनुहारमा गर्व र आश्चर्यको मिश्रित भाव थियो। नहोस् पनि कसरी। नेपालीलाइनेनले कार्यक्रमको पूर्व सन्ध्यामा तयारीबारे आयोजकहरूसँग कुरा गरेको थियो। अघिल्लो दिनसम्म आयोजकहरूमा एक प्रकारको संशय थियो। “प्रचार धेरै भएको छैन। गर्न पाइएको छैन। खै कस्तो हुन्छ” भन्ने भाव थियो उनीहरूमा। तर जब कार्यक्रम सुरु भयो, सबै अनुमानहरू गलत साबित भए।

    कार्यक्रम स्थलमा राजधानी क्षेत्रबाट मात्र नभएर टाढा-टाढाका सहरबाट पनि नेपालीहरू आएका थिए। शनिवारको दिन थियो, मिठो घाम लागेको थियो। लाग्थ्यो नेपालीहरूको त्यो जमघटलाई सफल बनाउन मौसमले पनि साथ दिने निर्णय गरेको थियो।

    सहभागीको सकारात्मक प्रतिक्रिया

    कार्यक्रममा उपस्थित केही सहभागीहरूसँग नेपालीलाइनेनले कुरा गरेको थियो।

    करिब २० वर्षदेखि फिनल्यान्डको एस्पोमा बस्दै आएकी एक महिलाले नेपाल डे कार्यक्रममा सहभागी हुँदा आफू निकै भावुक भएको बताइन्।
    “यत्रा मान्छे, यस्तो भव्य कार्यक्रम ,” उनले भनिन्। “हामी यत्ति धेरै रहेछौँ। हाम्रो यत्ति धेरै एकता रहेछ। यो देखेर मेरा त आँसु नै आए।”

    “हेलसिन्कीमा यस्तो नेपाल देख्छु भनेर मैले कहिल्यै सोचेकी थिइनँ।” उनले थपिन्।

    कार्यक्रम स्थलमा भेटिएका एनआरएनए फिनल्यान्डका पूर्व अध्यक्ष तथा व्यवसायी ज्योति खरेलले यो स्तरको कार्यक्रम देखेर आफू खुशी भएको र कार्यक्रमले ‘जुट्यो भने सकिन्छ है’ भन्ने सन्देश दिएको नेपालीलाइनेनलाई बताए।

    नेपाल दिवस वर्षौँदेखि छुटेका सम्बन्धहरूलाई जोड्ने सेतु पनि बनेको थियो। करिब १५ वर्षअघि सँगै पढेका दुई मित्रहरू यही भीडमा अचानक भेटिए। अङ्कमाल गर्दा उनीहरूका आँखा रसाएका थिए।

    “मैले त उसलाई लगभग बिर्सिसकेको थिएँ,” तीमध्ये एक जनाले भने, “आज यहाँ भेट्दा लाग्यो आफ्नो मान्छे भेट्न चाडपर्व नै कुर्नुपर्ने रहेछ। हाम्रा लागि आज यही चाड हो।”

    सुनिए केही गुनासा

    पहिलो प्रयासमा केही कमजोरीहरू पनि देखिए र गुनासाहरू पनि पोखिए, जुन स्वाभाविक पनि हो। कार्यक्रम स्थल साँघुरो भएको, साउन्ड चर्को भएको, र खानेकुरा स्टलहरूमा भीड बढी हुँदा एक प्लेट मोमोका लागि एक घण्टासम्म लाइन बस्नु परेको लगायतका गुनासा सुनिएका थिए। खानेकुरा छिट्टै सकिएको र स्थानीय फिनिसहरू त्यति धेरै नदेखिएको भन्ने पनि सुनिए।

    यो नेपाल दिवसको पहिलो प्रयास हो, र यी गुनासाहरू स्वाभाविक पनि छन्। यी गुनासाहरूमध्ये धेरै त कार्यक्रमको अप्रत्याशित सफलताले निम्त्याएका चुनौतीहरू थिए।

    घाम अस्ताउँदै जाँदा पञ्चे बाजाको धुन बिस्तारै मधुरो हुँदै गयो। तर मानिसहरूको मनमा बजेको एकताको धुन भने झनै प्रगाढ बनेको प्रतीत हुन्थ्यो।

    फिनल्यान्डमा पहिलो पटक आयोजना गरिएको नेपाल दिवसले यहाँ रहेका नेपालीहरूलाई केवल मनोरञ्जन मात्र दिएन, समुदायको हिस्सा भएको बलियो अनुभूति गरायो। उनीहरूको दोस्रो पुस्तालाई आफ्नो जरासँग जोड्ने एउटा मञ्च दियो र फिनिस समाजमा नेपालीहरूको जीवन्त उपस्थितिलाई दर्साइदियो।

    यो कार्यक्रमले भविष्यमा पनि निरन्तरता पाओस् र अझ भव्य बनोस्। फिनल्यान्डमा रहेका सबै नेपालीलाई एकै ठाउँमा ल्याउने सूत्रको सुरुवात गरेकोमा एनआरएनए फिनल्यान्ड र फिनिस–नेपाली समाजलाई नेपालीलाइनेनका तर्फबाट धन्यवाद र पहिलो कार्यक्रम नै यस्तो भव्य बनाउन सफल भएकोमा हार्दिक बधाई पनि!

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप