0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डको मिक्केलीमा चर्कियो विवाद: शरणार्थी केन्द्रका लागि स्थानीयको उठिबास

    शहरले शरणार्थी केन्द्र विस्तार गर्न आफ्नै नागरिकहरूलाई घर खाली गर्न भनेपछि न्यून आय भएका बासिन्दाहरूले आफूलाई "पन्छाएको" भन्दै आक्रोश व्यक्त गरेका छन्।

    .संक्षेपमा.


    • शरणार्थी केन्द्रलाई विस्तार गर्न १८ वटा अपार्टमेन्ट भाडामा दिइने।
    • हाल बसिरहेका नौ परिवारले वर्षको अन्त्यसम्ममा घर खाली गर्नुपर्ने।
    • रोजगारी सिर्जना हुने र आर्थिक लाभ हुने शहरको तर्क।

    फिनल्यान्डको मिक्केली शहरमा स्थानीय बासिन्दा र शहरी प्रशासनबीच तनाव बढेको छ। शहरले Suonsaarentie मा रहेका १८ वटा फ्ल्याटहरू छेउमै रहेको शरणार्थी केन्द्रलाई भाडामा दिने निर्णय गरेपछि त्यहाँ बसिरहेका नौ परिवारलाई आफ्नो घर छाड्न उर्दी जारी गरेको छ।

    यो निर्णयले लामो समयदेखि त्यहाँ बसिरहेका बासिन्दाहरूमाथि ठूलो अन्याय भएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन् भने सामाजिक संजालमा पनि उक्त निर्णयको व्यापक आलोचना भइरहेको छ।

    पत्रकार मारिया काल्लियोभाराले फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE को एक रिपोर्टमा जनाए अनुसार गत जुन महिनाको मध्यतिर त्यहाँका बासिन्दाहरूलाई शहरले उनीहरूको भाडा सम्झौता वर्षको अन्त्यमा रद्द हुने जानकारी दिएको थियो। खालि गरिएका फ्ल्याटहरू Luona oy नामक कम्पनीले सञ्चालन गर्ने शरणार्थी केन्द्रलाई दिइनेछ।

    “यो सुनेर म स्तब्ध भएँ। पहिले आफ्ना (फिनिस) नागरिकहरूको बारेमा सोच्नुपर्छ, अनि मात्र पो अरूको बारेमा सोच्ने।” घर खाली गर्न सूचना पाएकी सातु लाक्सोले उक्त रिपोर्टमा भनेकि छिन्।

    अर्का बासिन्दा मिका आहोनेन ले पनि शहरको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। यद्यपि, उनीहरूले आफ्नो आलोचना शरणार्थीहरूप्रति नभई शहरको निर्णय प्रक्रियाप्रति लक्षित रहेको स्पष्ट पारेका छन्।

    लामो समयदेखि बेरोजगार रहेका यार्मो यार्भाका विचारमा त्यहाँ बस्ने न्यून आय भएका बासिन्दाहरूलाई सजिलै पन्छाउन सकिने समूहको रूपमा हेरेर शहरले त्यसो गरेको हो।

    “आफ्नो घर वा गाडी किन्ने हैसियत छैन। जे दिइन्छ, त्यही स्विकार्नुको विकल्प छैन।” उनले भनेका छन्।

    YLE को समाचार पछि फिनल्यान्डका अन्य मिडियाले पनि उक्त समाचारलाई प्रमुखताका साथ प्रसारण गरेका छन्। फिन्स पार्टीका नेतृहरू तथा फिनल्यान्डका अर्थ मन्त्री रिक्का पुर्रा र गृहमन्त्री मारी रान्तानेनले उक्त कदमको खुलेर विरोध गरेका छन्। गृहमन्त्री रान्तानेनले शरणार्थी ल्याउने काम शून्यमा झार्नुपर्छ भन्ने आफ्नो पार्टीको विचार यस्तै कारणले भएको बताएकी छिन्।

    फिन्स पार्टीका समर्थकका अलावा अन्यले पनि सामाजिक सञ्जालमा मिक्केली सहरको उक्त निर्णयको खुलेर आलोचना गरेका छन्। नेपालीलाइनेनले सामाजिक सञ्जालमा यस्ता दर्जनौँ कमेन्टहरू हेरेको छ।

    “म पहिलो पटक फिन्स पार्टीको विचारसँग सहमत छु,” एक जनाले लेखेका छन्।

    “अब फिनिसहरूले नै शरणार्थी आवेदन दिएर त्यहाँ बसिरहन मिल्दैन?” अर्काले भनेका छन्।

    शहरको तर्क

    मिक्केली शहरका विकास निर्देशक योनी रिहेलाका अनुसार फिनिस आप्रवासन सेवाले शरणार्थी केन्द्रको क्षमता ३०० पुर्‍याउनुपर्ने सर्त राखेपछि यो कदम चालिएको हो। केन्द्रको मुख्य भवन मर्मत गरेर मात्र अपुग हुने भएपछि नजिकैका फ्ल्याटहरू प्रयोगमा ल्याउन लागिएको हो।

    शहरले यो निर्णयबाट मिक्केलीमा १५ नयाँ रोजगारी सिर्जना हुने र स्थानीय बजारमा चहलपहल बढ्ने जस्ता आर्थिक फाइदाहरू देख्छ।

    “राज्यबाट राम्रो रकम यस क्षेत्रमा आउनेछ। आफ्नो घर छाड्नु पर्दा दुःख लाग्छ, हामी त्यो बुझ्छौं” रिहेला भन्छन्।

    तर बासिन्दाहरूका लागि यो निर्णयले ठूलो आर्थिक र भावनात्मक संकट निम्त्याएको छ। उनीहरुका लागि अहिले बसिरहेका फ्ल्याटहरूको भाडा मिक्केलीको बजार मूल्यभन्दा निकै कम छ। अहिले उनीहरूले ७२ वर्ग मिटरको अपार्टमेन्ट ६०० युरोभन्दा कम मुल्यमा पाएका छन्।

    शहरले विस्थापितहरूलाई अर्को अपार्टमेन्ट दिने प्रस्ताव गरेको छ, तर ती या त महँगा छन् वा शहरबाट २० किलोमिटरभन्दा टाढाका स्थानमा छन्, जहाँ यातायातको सुविधा छैन।

    सातु लाक्सो आफ्नो कुकुरका कारण बहुतले भवनमा सर्न चाहँदिनन्। “मैले भर्खरै मेरो कुकुरलाई घरमा एक्लै बस्न सिकाएकी थिएँ। अब फेरि सुरुदेखि नै सिकाउनुपर्ने भयो।” उनले उक्त रिपोर्टमा भनेकि छिन्।

    एक वर्षभन्दा बढी समयदेखि यहाँ बस्दै आएका बासिन्दाहरूले एउटा बलियो समुदाय बनाएका थिए र मिलेर आँगनमा ग्रिल गर्ने ठाउँसमेत बनाएका थिए।

    “हामी एउटै परिवारजस्तै थियौं। यहाँबाट जाँदा पक्कै पनि रुवाबासी हुनेछ,” लाक्सोले भनेकि छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप