मलाई धेरैले आफ्नो युरो ज्याकपट वा यस्तै ठूलो रकमको चिट्ठा जित्ने योग छ कि छैन भनेर सोध्नुहुन्छ — कसैले रमाइलोको लागि, त कसैले साँच्चै आस्थाका साथ।
हिजो शुक्रबारको युरो ज्याकपटमा केहिले धेरै ठूलो रकम जितेका छन्। तर अधिकांशले केहि पनि प्राप्त गरेनन्। यो लेखमा म कुनै ठूलो चिट्ठा, लाभ वा अचानक फाइदा दिने ज्योतिषीय योग कस्तो हुन्छ र कस्ता व्यक्तिलाई पर्छ भन्ने विषयमा चर्चा गर्ने प्रयास गरेको छु।
ठूलो आकस्मिक लाभ दिने ग्रह योग पत्ता लगाउन त्यति सजिलो त छैन, तैपनि म यसलाई सकेसम्म सरल र सहज तरिकाले व्याख्या गर्ने प्रयास गर्नेछु।
के भन्छ ज्योतिषशास्त्र?
ज्योतिषशास्त्रका अनुसार चिट्ठा (लटरी) र अचानक हुने लाभसँग सम्बन्धित विशेष ग्रहहरू निम्न छन्।
राहु (Rahu) – राहु शारीरिक रूपमा रहेको कुनै वास्तविक ग्रह होइन, यो आकाशमा रहने एउटा विशेष बिन्दु हो। राहुले प्रायः जसो जीवनमा अचानक हुने राम्रो वा नराम्रो घटनाहरू, जोखिम, वा कुनै अकल्पनीय लाभहरूको संकेत गर्दछ। (जस्तै युरो ज्याकपट जस्तै ठूलो लटरी जित्नु वा अचानक कुनै ठूलो नोक्सानी हुनु)।
बुध (Mercury – The Calculator) – बुधले व्यक्तिलाई जीवनमा लिनुपर्ने धनसम्पति सम्बन्धि अर्थात् वित्तीय निर्णयमा चतुर बनाउँछ र सँगसँगै घाटा वा नोक्सान हुने निर्णयहरू लिनबाट पनि जोगाउँछ।
बृहस्पति (Jupiter – The Fortune Builder) – बृहस्पतिले वृद्धिको प्रतिनिधित्व गर्छ। यसले नयाँ र प्रायः नैतिक अवसरहरू ल्याउँछ। बृहस्पति वास्तवमै एउटा बुद्धिमान साथी हो जसले तपाईंको दीर्घकालीन सफलतामा साथ दिन्छ।
कुन घरहरूमा यी ग्रहहरू बलिया भए लाभ हुने सम्भावना बढी हुन्छ?
ग्रहहरूको बारेमा बुझिसकेपछि अब यी ग्रहहरूको अवस्था तपाईंको कुण्डलीमा कस्तो छ भनेर जान्न, तपाईंले आफ्नो वैदिक जन्म कुण्डली हेर्नु पर्छ।
कुण्डलीमा १२ वटा घर (house) हुन्छन्, जसले तपाईंको जीवनका विभिन्न १२ पक्षहरू जनाउँछन्। यीमध्ये हामी अहिले ३ वटा घरमा विशेष ध्यान दिनेछौँ—
(५औं घर) – बुद्धि, सृजनशीलता, मनोरञ्जन र जोखिमयुक्त निर्णय लिन सक्ने स्वभाव र क्षमता देखाउँछ — जस्तै कुन लटरी किन्ने, कहिले किन्ने, कसरी किन्ने आदि।
(८औं घर) – अचानक हुने लाभको घर। जस्तै चिट्ठा पर्नु, बंशज वा अपरिचित स्रोतबाट सम्पत्ति पाउनु, बीमा दाबीबाट प्राप्त हुने लाभ, वा अन्य कुनै अप्रत्याशित/असोचेका लाभहरू।
(११औं घर) – इच्छा पूर्तिको क्षेत्र। सपना साकार हुने संकेत दिने, धन वा व्यवसायबाट पूरा हुने चाहनाहरूको घर।
यदि यी तीन घरहरूमा माथि उल्लेखित ग्रहहरू बलियो भएर बसेका छन् भने, तपाईंलाई अचानक लाभ हुने राम्रो सम्भावना हुन सक्छ।
तर राहु वा अन्य ग्रहहरू “सही” स्थानमा भएपनि सोही लाभ दिने ग्रहको दशा (Dasha) चल्नु पनि उत्तिकै आवश्यक हुन्छ।
अर्को चुनौती भनेको लटरी पूर्ण रूपमा अनियमित हुनु हो। उदाहरणका लागि युरो ज्याकपटमा करिब ३० करोडभन्दा बढी मानिस खेल्छन् र खेल्नेहरूमा सबैभन्दा बलियो ग्रह योग कसको हुन्छ भनेर पहिल्यै थाहा पाउनु असम्भव जस्तै हुन्छ।
साथै, विशेष गरी राहुको सन्दर्भमा ग्रन्थहरूमा भनिएको छ —”राहुले अचानक दिन्छ — अनि अचानक खोस्छ।”
अर्थात, राहुले दिने चीजहरूसँग खतरा पनि सँगै आउँछ।
कतिपय अवस्थामा राहुले मानिसलाई जुवा, तास, कुलत, अवैध व्यापार वा कुनै पनि प्रकारको आपराधिक माध्यमबाट पैसा कमाउने सोचतर्फ डोर्याउँछ भन्ने मान्यता छ।
त्यसैले ठूलो चिट्ठा जित्नु राम्रो देखिए पनि यसले जीवनका अन्य क्षेत्रमा हानिकारक असर पार्ने सम्भावना रहिरहन्छ। जस्तै सन्तानमा अशुभ प्रभाव पर्नु, पारिवारिक अशान्ति हुनु, मानसिक तनाव बढ्नु आदि। जुवा खेल्दा मानिसहरू कुलतमा फस्ने, अपराधमा संलग्न हुने, मानसिक रोगी हुने, परिवार नै ध्वस्त हुने वा पल्टिएर सडकमा पुग्नेसम्मका उदाहरणहरू प्रशस्त आएका छन्।
व्यक्तिगत रूपमा म आफैं पनि कुनै प्रकारको जुवा वा चिट्ठामा रुचि र आस्था राख्दिनँ।
ठूलो चिट्ठा जित्नु राम्रो देखिए पनि यसले जीवनका अन्य क्षेत्रमा हानिकारक असर पार्ने सम्भावना रहन्छ।
यो जानकारी कसरी प्रयोग गर्ने?
यदि तपाईं आफ्नो ग्रहको आधारमा कहिलेकाँहि चिट्टा किन्ने सोच्नुभएको छ भने माथि दिएको जानकारीको आधारमा आफ्नो कुण्डली जाँच गर्न सक्नुहुन्छ। तर यसलाई हलुका र रमाइलोको रूपमा मात्र लिनुहोस्। ग्रह राम्रै देखिए पनि कुण्डलीकै भरमा चिट्ठामा पैसा खन्याउने काम नगर्नुहोस्।
आवश्यकता अनुसार अनुभवी ज्योतिषसँग परामर्श लिनुहोस्। किनभने यसमा थुप्रै ग्रह र नक्षत्रहरूको पक्षहरूले पनि प्रभाव पार्न सक्छन्। ज्योतिषले सम्पूर्ण कुण्डली हेरेर मात्र ग्रहको वास्तविक स्थितिका बारे तपाईंलाई बुझाउन सक्छन्। जन्मकुण्डली विश्लेषण जटिल काम हो जुन अनुभवी ज्योतिषले मात्र राम्रोसंग गर्न सक्छन्। ।
अन्त्यमा याद गर्नुहोस्, वास्तविक समृद्धि निरन्तरको मेहनत, अध्ययन, अनुसन्धान, साधना, धैर्य, बुद्धिमत्तापूर्ण लगानी, र त्यससँगै हुने कृतज्ञताबाट विकसित हुन्छ। ग्रहहरूले केही मार्ग त देखाउँछन्, तर कुनै कुराको ग्यारेन्टी भने गर्दैनन्।
(नोटः प्रस्तुत विचारहरू लेखकका नीजी हुन्। व्यक्त विचारहरू नेपालीलाइनेनको सम्पादकीय नीतिसँग अनिवार्य रूपमा मेल खान्छन् भन्ने छैन। विविध धारका दृष्टिकोण र विचारलाई छलफलको मञ्च प्रदान गर्ने हाम्रो उद्देश्य हो। नेपालीलाइनेमा आफ्ना लेखहरू प्रकाशित गर्न [email protected] मा इमेल गरि पठाउन सक्नुहुन्छ।)





