.संक्षेपमा.
- हेलसिन्कीमा आइतबार बिहान भएको कार दुर्घटनामा एकको मृत्यु।
- चालकले मादक पदार्थ सेवन गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष।
- दुर्घटनामा परेका सबै युवा उमेरका।
हेलसिन्कीको लाहदेनभाउला (Lahdenväylä) मा आज (आइतबार) बिहान सबेरै एउटा कार सडकबाट बाहिरिँदा एक युवाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई गम्भीर घाइते भएका छन्।
आपतकालीन केन्द्रमा बिहान ४ बजेतिर दुर्घटनाको सूचना आएको थियो। प्रहरीका अनुसार कारमा चालकसहित चार जना युवाहरू सवार थिए।
दुर्घटनामा एकको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुईलाई गम्भीर चोट लागेकोले अस्पताल लगिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चालकले कोस्केलानतिए (Koskelantie) को र्याम्प नजिक गाडीको नियन्त्रण गुमाएका थिए। चालकले मादक पदार्थ सेवन गरेको देखिएको प्रहरीले जनाएको छ। यद्यपी घटनाबारे थप अनुसन्धान हुँदैछ।
प्रहरी घटनास्थलमा पुग्दा दुर्घटनामा परेका सबै जना गाडी बाहिर फेला परेका थिए। प्रहरीका अनुसार त्यसले दुर्घटना निकै शक्तिशाली रहेको संकेत गर्दछ।
चालकलाई गम्भीर रूपमा ट्राफिक सुरक्षालाई खतरामा पारेको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, गम्भीर लापरबाहीद्वारा मृत्यु गराएको र गम्भीर चोटपटक पुर्याएको जस्ता अपराधमा संलग्न भएको आशंका गरिएको छ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। अनुसन्धान अघि बढ्दै जाँदा अभियोगहरू थप स्पष्ट हुन सक्ने बताइएको छ।





