.संक्षेपमा.
- फिनल्यान्डमा रुसी आक्रमणको जोखिमलाई यथार्थवादी रूपमा लिनुपर्ने राजदूतको जिकिर।
- फिनल्यान्डमाथि हमला भए युक्रेनले आफ्ना सैनिक पठाउने वाचा।
- रुस साम्राज्यवादी राष्ट्र भएको र रुसले छेड्ने युद्ध पुटिनको मात्र नभएको दाबी ।
फिनल्यान्डका लागि युक्रेनका नवनियुक्त राजदूत मिहाइलो विडोइनिकले रुसले फिनल्यान्ड वा नेटोमाथि आक्रमण गर्ने “उच्च सम्भावना” रहेको चेतावनी दिएका छन्।
फिनल्यान्डको राष्ट्रिय प्रसारक Yle लाई दिएको एक अन्तर्वार्तामा उनले यस्तो विचार व्यक्त गरेका हुन्।
“म यसलाई धेरै सम्भव देख्छु। म मानिसहरूलाई तर्साउन चाहन्न, तर जोखिमलाई यथार्थवादी रूपमा हेरिनुपर्छ। आक्रमणको सम्भावना छ।” राजदूत विडोइनिकले भनेका छन्।
उनले आफ्नो विश्लेषणको आधार रुसको साम्राज्यवादी चरित्र भएको बताए। उदाहरणका लागि रुसले युक्रेनमा जारी राखेको युद्ध भ्लादिमिर पुटिनको व्यक्तिगत युद्ध मात्र नभएर रुसी जनताले पनि समर्थन गरिरहेको उनको भनाइ छ।
“रुसी क्षेप्यास्त्रहरूले युक्रेनमा रहेका उनीहरूकै आफन्तहरूको घरमा प्रहार गर्दा पनि रुसी जनताले युद्धलाई समर्थन गरिरहेका छन्।” विडोइनिक भन्छन्।
उनका अनुसार पुटिनले आफ्नो युद्ध मेसिनलाई पूर्ण क्षमतामा चलाएका छन् र देशको सम्पूर्ण अर्थतन्त्र युद्धको लागि काम गरिरहेको छ।
“युक्रेनमा रुसका सात लाख सैनिकहरू भिडिरहेका छन्, यदि त्यो युद्ध कहिल्यै समाप्त भयो भने उनीहरूको के हुन्छ?” राजदूतले प्रश्न गरे। उनका अनुसार युद्ध रुसको अर्थतन्त्र र रोजगारीसँग जोडिएकाले युक्रेनको युद्ध अन्त्य भए पनि रुसले फेरि अर्को युद्ध सुरु गर्ने जिकिर गरेका हुन्।
अन्तर्वार्ताको क्रममा राजदूत विडोइनिकले फिनल्यान्डलाई आश्वस्त पार्दै यदि रुसले फिनल्यान्डलाई धम्की दिएमा युक्रेनले आफ्नो सेना पठाएर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
फिनल्यान्ड सरकारले भने रुसबाट फिनल्यान्डलाई उच्च खतरा रहे पनि अहिले नै आक्रमण वा युद्धको सम्भावना भने कम रहेको बताउँदै आएको छ।
फिनल्यान्ड सरकारले भने रुसबाट फिनल्यान्डलाई उच्च खतरा रहे पनि अहिले नै आक्रमण वा युद्धको सम्भावना भने कम रहेको बताउँदै आएको छ।





