.संक्षेपमा.
- हेलसिन्कीमा महिलाको मृत्यु प्रकरणमा हत्याको आशंकामा एक पुरुष पक्राउ।
- प्रहरीद्धारा अनुसन्धानको कारण देखाउँदै तत्काल थप जानकारी दिन अस्वीकार।
- मृतक महिला सोही अपार्टमेन्टमा बस्दै आएकी थिइन्।
हेलसिन्कीको हिएतालाहतीमा बुधबार साँझ पाँचौं तलाको बाल्कोनीबाट खसेर एक महिलाको मृत्यु भएको घटनामा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
प्रहरीले अब उक्त घटनालाई हत्याको आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ।
पीडित करिब ५० वर्षकी रहेको र फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE मा काम गर्ने कर्मचारी रहेको फिनिस भाषाको अनलाइन इल्तालेहतीले जनाएको छ।
“यस घटनामा हत्याको आशंका गर्ने आधार छ, र त्यसैकारण प्रहरीले एकजना पुरुषलाई अपराधको शंकामा पक्राउ गरेको छ,” अनुसन्धान प्रमुख प्रहरी निरीक्षक युहा पिप्पोले एक विज्ञप्तिमा बताएका छन्।
घटना बुधबार (सेप्टेम्बर १७) साँझ करिब ६ बजे Hietalahdenkatu मा भएको थियो। अनुसन्धानलाई असर नपरोस् भन्नका लागि प्रहरीले हाललाई यस विषयमा थप जानकारी दिन नसक्ने बताएको छ।
पहिले प्रहरीले घटनालाई दुर्घटना र सम्भावित हत्या दुवै कोणबाट हेरिरहेको बताएको थियो। मृतक महिला सोही अपार्टमेन्टमा बस्दै आएकी थिइन् र उनी बाल्कोनीको फुटेको भागबाट खसेको विश्वास गरिएको छ।
पीडित एक पुरुषसँग फ्ल्याटमा बस्दै आएकी थिइन् जसको पहिले नै आपराधिक रेकर्ड रहेको फिनिस भाषाका स्थानिय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले पक्राउ परेका व्यक्ति उनै हुन् वा होइनन् भन्ने पुष्टि भने गरेको छैन।
छिमेकीहरूका अनुसार ती पुरुष र महिला करिब छ महिनाअघि मात्रै उक्त भवनमा बसाइँ सरेका थिए। भवन सन् १९५४ मा बनेको थियो र घटनाको एक महिनाअघि मात्र बाल्कोनीको प्राविधिक निरीक्षण गरिएको थियो, जसमा कुनै कमजोरी भेटिएको थिएन।
प्रहरीले घटना देखेका वा सुनेका व्यक्तिहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ। जानकारी र घटनाका विवरणहरू इमेल ([email protected]) मार्फत वा फोन वा व्हाट्सएप (050 562 5433) मार्फत पठाउन सकिनेछ।





