.संक्षेपमा.
- चिनियाँ सामानको आयातमा निकै ठुलो वृद्धि, फिनिस भन्सारलाई सबै निरिक्षण गर्न असम्भव।
- अत्यधिक खपत, वातावरणीय क्षति, र स्थानीय व्यापारमा असर प्रमुख चिन्ताको विषय।
- सामान सिधै उपभोक्तामा नभई भन्सार गोदाममा ल्याउनुपर्ने भन्सार प्रमुखको माग।
फिनल्यान्डको भन्सार (Tulli) का प्रमुख सामी राक्षितले तेमु र सेइनजस्ता चीनका अनलाइन स्टोरहरूबाट आउने सस्ता सामानको बाढीलाई ‘सुनामी’ को संज्ञा दिएका छन्।
उनले YLE लाई दिएको एक अन्तर्वार्तामा सस्ता सामानको अनियन्त्रित आयातले फिनल्यान्ड र युरोपेली संघ (EU) का लागि गम्भीर खतरा निम्त्याएको बताएका छन्।
उनका अनुसार यसले स्थानीय अर्थतन्त्र, वातावरण र उपभोक्ता सुरक्षामा ठूलो चुनौती थपेको छ र यसलाई रोक्न कडा कदम चाल्नु आवश्यक छ।
हालैका वर्षहरूमा तेमु लगायतका चिनियाँ इ-कमर्स प्लेटफर्महरूबाट हुने खरिदमा अचम्मको वृद्धि भएको छ।
फिनल्यान्डको भन्सारको तथ्यांकअनुसार सन् २०२२ मा EU बाहिरबाट करिब ८ लाख ५० हजार पार्सल आएकोमा सन् २०२४ मा यो संख्या बढेर २ करोड ८२ लाख पुगेको छ। यो वर्ष यो संख्या ५ करोड नाघ्ने अनुमान गरिएको छ, जुन तीन वर्षमा लगभग ६० गुणाको वृद्धि हो।
यो समस्या फिनल्यान्डमा मात्र सीमित छैन। गत वर्ष मात्रै युरोपेली संघमा ४.६ अर्ब पार्सल भित्रिएका थिए, जसमध्ये ९८ प्रतिशत चीनबाट आएका थिए।
फिनिस भन्सार प्रमुखका अनुसार यति ठूलो संख्यामा आउने पार्सलहरूको अनुगमन र नियन्त्रण गर्न लगभग असम्भव छ।
फिनिस भन्सार प्रमुखका अनुसार यति ठूलो संख्यामा आउने पार्सलहरूको अनुगमन र नियन्त्रण गर्न लगभग असम्भव छ।
यस्ता छन् जोखिम
भन्सार प्रमुख राक्षितले ‘अनलाइन व्यापार सुनामी’ले निम्त्याएका चार प्रमुख जोखिमहरू औंल्याएका छन्।
१. अत्यधिक खपत: अत्यन्तै सस्तो मूल्यका कारण मानिसहरूले आवश्यकताभन्दा बढी सामान खरिद गरिरहेका छन्। यसले अनावश्यक खपतलाई बढावा दिएको छ।
२. वातावरणीय जोखिम: यी सामानहरूबाट उत्पन्न हुने ठूलो मात्राको फोहोर युरोपमै रहन्छ, जसको व्यवस्थापन EU का लागि ठूलो चुनौती बनेको छ।
३. स्थानीय व्यवसायमा असर: चिनियाँ अनलाइन स्टोरहरूको सस्तो मूल्यसँग फिनल्यान्ड र युरोपका स्थानीय कम्पनीहरूले प्रतिस्पर्धा गर्न सकेका छैनन्। यसले स्थानीय व्यवसाय र समग्र अर्थतन्त्रलाई कमजोर बनाइरहेको छ।
४. उत्पादन सुरक्षा: चीनबाट आयातित यी सस्ता सामानहरूले EU को गुणस्तर र सुरक्षा मापदण्ड पूरा गरेको कुनै ग्यारेन्टी हुँदैन, जसले उपभोक्ताको स्वास्थ्य र सुरक्षामा जोखिम बढाउँछ।
राक्षितले केही चिनियाँ अनलाइन बिक्रेताहरूले कर छली गरिरहेको पनि बताएका छन्। उनीहरूले उपभोक्ताबाट पूरा भ्याट (VAT) असुल गरे पनि EU लाई पूरा रकम नबुझाएको पाइएको छ।
यो समस्या समाधान गर्न राक्षितले हालको सिधै उपभोक्तालाई पार्सल पठाउने प्रणाली बन्द गर्नुपर्ने प्रस्ताव गरेका छन्। सामानहरू पहिले ठूलो मात्रामा भन्सार गोदामहरूमा आयात गरिनुपर्ने उनको सुझाव छ। यसो गर्दा भन्सार अधिकारीहरूले सामानको सुरक्षा र करसम्बन्धी उचित जाँच गर्न सक्ने उनको तर्क छ।
हाल युरोपेली संघमा भन्सार सुधारको प्रक्रिया चलिरहेको छ, जसले अनलाइन व्यापारको अनुगमनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ। तर यो प्रक्रिया लामो र जटिल भएकोले तत्काल समाधानको आशा कम छ।





