.संक्षेपमा.
- फिनल्यान्डका चर्चित प्रोफेसरद्वारा लिखित नेपालबारेको पुस्तक हेलसिन्कीमा सार्वजनिक।
- लेखक भन्छन् ‘नेपालको गाउँले जीवनले गरिबी बारेको मेरो बुझाइ नै परिवर्तन गरिदियो’।
- पुस्तकले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने र पर्यटन प्रवर्द्धन गर्ने विश्वास।
फिनल्यान्डका प्रख्यात अनुसन्धानकर्ता तथा लेखक प्रोफेसर हेइक्की हिलामोद्वारा लिखित ‘हेलसिन्की देखी हिमालयसम्म’ (Helsingistä Himalajalle) पुस्तकको हेलसिन्कीमा भव्य विमोचन गरिएको छ।
अक्टोबर ८ का दिन हेलसिन्कीको काइसानियमीमा रहेको ‘रोसेबुड’ पुस्तक पसलमा आयोजित समारोहमा शिक्षाविद्, नीति निर्माता तथा फिनिस र नेपाली समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा लेखक हिलामोले आफ्नो नेपाल यात्राका अनुभवहरू सुनाउँदै पुस्तक लेख्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए। उनले गरिबी निवारणमा लामो समय अनुसन्धान गरे पनि नुवाकोटको एउटा गाउँमा एक स्थानीय परिवारसँग बिताएको एक रातले आफ्नो सम्पूर्ण दृष्टिकोण नै परिवर्तन गरिदिएको बताएका थिए।
“संसारका धेरै देश घुमेँ, तर नुवाकोटको गाउँबाट मध्यरातमा देखिएको परको गाउँको दृश्य अद्भुत थियो,” लेखक हिलामोले भने, “थोरै जमिन र सुख-दुःखमा साथ दिने समुदाय भए आर्थिक सूचकले परिभाषित गर्ने गरिबीको अर्थ नै फरक हुँदो रहेछ।”
कार्यक्रममा लेखक हिलामोले आफ्नो नेपाल यात्राका अनुभवहरू सुनाउँदै पुस्तक लेख्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए।
उनले नेपालमा गरेको १० दिने विपश्यना ध्यानले आफूलाई “आचार्य शान्त” हुन सिकाएको अनुभव पनि पुस्तकमा समेटेको बताए।
सुरुवाती यात्राका केही दिन नयाँ दिल्लीमा बिताउँदा अनेक समस्या भोगेको तर तर ६ हप्ता नेपालमा बस्दा कुनै अप्ठ्यारो बेहोर्नु नपरेको अनुभव पनि लेखकले सुनाएका थिए।
पुस्तकका समीक्षक श्रवण खनालले फिनल्यान्डमा बस्ने करिब १२ हजार नेपालीका लागि यो पुस्तक गौरवको विषय भएको बताएका थिए।
“नेपाल र फिनल्यान्डबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा यो पुस्तकले सेतुको काम गरेको छ।” खनालले भने।
खनालले लेखकको एकल यात्रा र विशेष गरी कमैले पुग्ने चुङ उपत्यकाको पदयात्रा र विपश्यना ध्यानलाई अदम्य साहसको संज्ञा दिएका थिए।
प्रोफेसर हिलामोको नेपाल यात्राको योजना र व्यवस्थापनमा खनालको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो।
खनालले नेपालीलाइनेनलाई बताए अनुसार उनको प्रोफेसर हिलामोसँग चिनजान हेलसिन्की विश्वविद्यालयमा भएको थियो र पछि उनीहरूले सँगै नेपाल यात्रा गरेका थिए। खनालले नै लेखकका लागि लुम्बिनीमा विपश्यना ध्यानको प्रबन्ध मिलाएका थिए।
कार्यक्रममा लेखककी श्रीमती किर्सी हिलामो र भाइ सिमो हिलामोले पनि पुस्तकबारे आफ्नो धारणा राखेका थिए।
सिमोले आफू लेखकसँग अन्नपूर्ण आधार शिविरको पदयात्रामा सहभागी भएको र “काठमाडौँ बिनाको” नेपाल यात्राको रमाइलो अनुभव सुनाएका थिए। कार्यक्रमको अध्यक्षता तेमु मातिनपुरोले गरेका थिए।
२३० पृष्ठको यो पुस्तकले भारतको नयाँ दिल्लीदेखि नेपालसम्मको यात्राका रोचक पक्षहरूलाई समेटेको छ। पुस्तकले फिनिस पर्यटकहरूलाई नेपाल भ्रमण गर्न थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।
पुस्तक अनलाइन तथा प्रिज्म लगायतका स्थानीय पसलहरूमा उपलब्ध छ। फिनिस भाषामा लेखिएको पुस्तकको मुल्य २५ युरो छ।





