.संक्षेपमा.
- गैर-युरोपेली विद्यार्थीहरूले अब व्यावसायिक र उच्च माध्यमिक शिक्षाका लागि शुल्क तिर्नुपर्ने।
- यो नियम १ अगस्ट २०२६ पछि सुरु हुने पढाइमा मात्र लागू हुने।
- दर्जनौं हाईस्कूलहरू यो नीतिको विरोधमा।
फिनल्यान्ड सरकारले युरोपेली संघ बाहिरका विद्यार्थीहरूका लागि हालसम्म नि:शुल्क रहेको व्यावसायिक (ammattikoulu) र उच्च माध्यमिक शिक्षा (लुकियो) मा शुल्क लगाउने प्रस्ताव गरेको छ।
यो निर्णयले भविष्यमा फिनल्यान्डमा व्यावसायिक शिक्षा मार्फत आफ्नो करियर बनाउन चाहने नेपाली विद्यार्थीहरूलाई समेत प्रत्यक्ष असर पर्ने देखिन्छ।
फिनल्यान्डमा सित्तैमा व्यावसायिक शिक्षा पढ्न आउने विद्यार्थीहरूको संख्या पछिल्लो समय बढ्दै गएको थियो।
उदाहरणका लागि भासा शहर स्थित भामिया नामक व्यावसायिक कलेजको अन्तर्राष्ट्रिय कुक कोर्षका लागि मात्र दुई दिनमा ४,०५९ आवेदनहरू परेका थिए। तीमध्ये १,९६२ आवेदन नाइजेरियाबाट मात्र आएका थिए। अत्यधिक आवेदनका कारण कलेजले भर्ना प्रक्रिया दुई दिनमै बन्द गर्नुपरेको थियो।
सरकारले संसदमा प्रस्तुत गरेको नयाँ कानुनको प्रस्तावअनुसार १ अगस्ट २०२६ पछि सुरु हुने अध्ययनका लागि आउने गैर-युरोपेली विद्यार्थीहरूबाट शिक्षण संस्थाहरूले शुल्क उठाउनु पर्नेछ। हालसम्म यस्ता विद्यार्थीहरूको पढाइ खर्च सरकारले कलेजहरूलाई उपलब्ध गराउँदै आएको छ।
शिक्षा तथा संस्कृति मन्त्रालयका महानिर्देशक पेट्री लेम्पिनेनका अनुसार यो नियमले हाल फिनल्यान्डमा अध्ययनरत विद्यार्थीहरूलाई भने कुनै असर गर्ने छैन।
सरकारले हाल एक विद्यार्थी बराबर करिब ७,००० युरो कलेजलाई दिने गरेको छ भने अब कलेजहरूले सोही बराबरको रकम विद्यार्थीबाट शुल्कको रूपमा उठाउन सक्नेछन्।
सरकारले हाल एक विद्यार्थी बराबर करिब ७,००० युरो कलेजलाई दिने गरेको छ भने अब कलेजहरूले सोही बराबरको रकम विद्यार्थीबाट शुल्कको रूपमा उठाउन सक्नेछन्।
पूर्वी र उत्तरी फिनल्यान्डका साना नगरपालिकाहरूले भने यो परिवर्तनले नराम्रो असर गर्ने चेतावनी दिएका छन्। फिनल्यान्डका स-साना सहरमा विद्यालय र व्यावसायिक शिक्षालयहरू खाली हुँदेै जाँदा विदेशी विद्यार्थीको उपस्थितीले ती संस्थाहरू चल्न सहयोग गरेका थिए।
नयाँ नियम पछि अब विदेशी विद्यार्थीहरू पैसा तिरेर पढ्न नआउने हुन् की भन्ने चिन्ता परेको छ। यो वर्षको सुरूमै दर्जनौं हाईस्कूलहरूले शिक्षा र संस्कृति मन्त्रालयमा नयाँ प्रस्तावको विरोधमा आफ्नो अडान राख्दै हस्ताक्षर गरेका थिए।
भामिया कलेजकी रेक्टर आसा स्टेनबाकाले पनि YLE लाई दिएको प्रतिक्रियामा सरकारको यो प्रस्तावप्रति निराशा व्यक्त गरेकी छिन्। उनका अनुसार शुल्क लगाउँदा विदेशी विद्यार्थीहरूको संख्या घट्नेछ, जसले दक्ष कामदारको अभाव झेलिरहेका फिनल्यान्डका कम्पनीहरूलाई प्रत्यक्ष असर गर्नेछ।
“हामीले यहाँ कामको आवश्यकता अनुसार विद्यार्थीहरूलाई तालिम दिन्छौं र रोजगारदाताहरू पनि अन्तर्राष्ट्रिय विद्यार्थीसँग अत्यन्तै खुसी छन्,” उनले भनिन्।
यो परिवर्तनले फिनल्यान्डमा व्यावसायिक शिक्षा, जस्तै कुक, वेटर वा नर्सिङ, पढेर आफ्नो भविष्य बनाउन खोज्ने नेपालीहरूका लागि एउटा महत्वपूर्ण र सस्तो बाटो बन्द हुन सक्नेछ।
मन्त्रालयका अधिकारीहरूले भने विश्वविद्यालयहरूमा पनि केही वर्षअघि शुल्क लगाउँदा सुरुमा विद्यार्थी घटे पनि पछि बिस्तारै बढेको उदाहरण दिँदै व्यावसायिक शिक्षामा पनि त्यस्तै हुन सक्ने आशा व्यक्त गरेका छन्।





