0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    रोहिणी राइजिङः फिनल्यान्डमा सृजनशीलताको नयाँ प्रयोग गरिरहेका चार युवतीको कथा

    फिनल्यान्डमा बस्ने चार नेपाली 'जेनजी' युवतीले मिलेर सुरु गरेको 'रोहिणी राइजिङ' नामक सृजनात्मक अभियानले फिनल्यान्डमा बसोबास गर्ने युवा पुस्तालाई सांस्कृतिक र कलात्मक रूपमा जोड्ने लक्ष्य लिएको छ। उनीहरूको पहिलो कार्यक्रम यही अक्टोबर १८ शनिवारका दिन हुँदैछ।

    फिनल्यान्डको नेपाली समुदायमा यो वर्षको चाडपर्वसँगै एउटा नयाँ नामले निकै चर्चा पाइरहेको छ, त्यो हो रोहिणी राइजिङ। यो नाम पनि अलि अनौठो अनि उनीहरूको पहिलो कार्यक्रम ‘पर्वोत्सव’ पनि अलि फरक खाले।

    इन्स्टाग्राम वा टिकटकमा आफ्नो ‘नयाँ सिर्जना’ रोहिणी राइजिङको प्रमोशनमा देखिइने चार युवतीहरू पनि फिनल्यान्डको नेपाली समुदायमा खासै परिचित अनुहार होइनन्।

    यही परिवेशमा रोहिणी राइजिङको निर्माणमा संलग्न चार नेपाली युवतीलाई नेपालीलाइनेनले सम्पर्क गरी सोधेको छ, उनीहरू को हुन्? उनीहरूको कथा के हो? फिनल्यान्डको नेपाली समुदायलाई लक्षित गरि खोलिएका यत्रा विधि ‘इभेन्ट म्यानेजमेन्ट’ कम्पनीहरू हुँदाहुँदै फेरी एउटा थप किन चाहियो? र उनीहरूले अक्टोबर १८ शनिवारका दिन आयोजना गर्न लागेको ‘पर्वोत्सव’ कार्यक्रम कस्तो कार्यक्रम हो?

    उनीहरूको कथा सुन्दा हामी खासमा अचम्ममा पर्‍यौं। हामीले सोचेजस्तो उनीहरू फिनल्यान्डमा लामो समयदेखि बस्दै आएका होइनन् रहेछ। करिब दुई अढाई बर्षदेखि फिनल्यान्डमा पढिरहेका उनीहरूमा हामीले नयाँ ऊर्जा, नयाँ दृष्टिकोण र नयाँ सपना भने पायौँ।

    यो कथा उनीहरूकै होः उनीहरूको प्रेरणाको, आकांक्षाको, र उनीहरूले भर्खरै खोलेको रोहिणी राइजिङको।

    रोहिणी राइजिङ पछाडिका चार ‘जेनजी रोहिणी’ हरू

    हेलसिन्की क्षेत्रमा बसोबास गर्ने नेपाली युवतीहरू रितिका रानाभाट, वर्षा तारा, समीक्षा खनालसोनु मानन्धरले मिलेर रोहिणी राइजिङ सुरु गरेका हुन्। २२ देखि २४ वर्षका यी युवतीहरू अहिले नेपालमा व्यापक चर्चामा रहेको ‘जेनजी’ पुस्ताका हुन्।

    नेपालीलाइनेनसँगको कुराकानीमा उनीहरूले आफ्नो नयाँ सुरुवातलाई एक सृजनात्मक अभियानका रूपमा अर्थ्याए। उनीहरूको लक्ष्य पनि स्पष्ट छ—फिनल्यान्डमा बसोबास गर्ने नेपाली मूलका र अन्य युवा पुस्तालाई सांस्कृतिक र कलात्मक रूपमा जोड्ने।

    यी चारै जना नेपालदेखि नै चिनजानमा रहेका साथीहरू वा फिनल्यान्डमा एउटै विश्वविद्यालयमा पढ्ने नेपालीहरू भने होइनन्। उनीहरू हेलसिन्कीमा अर्कै कार्यक्रममा प्रचार टिमका रूपमा काम गर्दा भेटिएका हुन् र त्यही संयोगले साथी बनेका हुन्।

    संयोगको भेटले नै उनीहरूको साझा सोच, उत्साह र नयाँ सम्भावनाहरूलाई उजागर गर्दै लगेको हो, र त्यसैबाट अन्ततः रोहिणी राइजिङ सुरू भएको हो।

    उनीहरूले पढ्ने फिल्ड र पेसागत रुचिहरू फरक भए पनि कला, सृजनशीलता र फिनल्यान्डको नेपाली समुदायप्रतिको लगावले उनीहरूलाई जोडेको छ।

    “हामी सबै महत्त्वाकाङ्क्षी युवतीहरू हौँ जो हाम्रो समुदायमा केही नयाँ, समावेशी र अर्थपूर्ण परिवर्तन ल्याउन चाहन्छौँ,” उनीहरू भन्छन्।

    “यहाँ आयोजना हुने धेरै कार्यक्रमहरू कुनै निश्चित समूहका लागि मात्र लक्षित जस्तो हामीलाई लाग्यो,” रितिका भन्छिन्। “तर सबैले आफूलाई सामेल भएको महसुस गर्न सक्ने ठाउँ होस् भन्ने हाम्रो साझा कल्पना थियो।”

    कुनै पनि अभियानको नामले त्यसको आत्मा बोकेको हुन्छ। ‘रोहिणी राइजिङ’ नाम निकै फरक र ‘बोल्ड’ सुनिन्छ। नाम आफैँमा शक्तिशाली सन्देश पनि हो। त्यसैले हाम्रो जिज्ञासा उक्त नाम प्रति अलि बढी नै थियो।

    समूहको नाम चार संस्थापक मध्ये एक रितिकाले नै जुराएकी हुन्। “‘रोहिणी’ को अर्थ एक बलियो, स्वतन्त्र र दृढ महिला हो,” उनी भन्छिन्, “र ‘राइजिङ’ अर्थात् उदयले प्रगति, विकास र सशक्तीकरणलाई जनाउँछ।”

    “यो नाम केवल हामी चारका लागि होइन, सम्पूर्ण नयाँ पुस्ताका नेपाली महिलाहरूका लागि हो, जसले आफ्नो बाटो आफैँ कोर्दै छन्,” उनीहरू भन्छन्।

    उनीहरूले पढ्ने फिल्ड र पेशागत रूचीहरू फरक भए पनि कला, सिर्जनशिलता र फिनल्यान्डको नेपाली समुदायप्रतिको लगावले उनीहरूलाई जोडेको छ।

    समावेशी मन

    दस-बाह्र हजार जनसङ्ख्या रहेको फिनल्यान्डको नेपाली समुदाय तुलनात्मक रूपमा सानो छ। त्यसमाथि ३-४ वटा इभेन्ट म्यानेजमेन्ट कम्पनीहरू त हेलसिन्की क्षेत्रमै छन्। त्यसमाथि फेरि एउटा नयाँ किन चाहियो?

    यी युवतीहरू फिनल्यान्डको नेपाली समाजको साइज र यहाँ आयोजना गरिने कार्यक्रमहरू प्रति पूर्ण रूपमा जानकार छन्। माथि भनिएझैँ उनीहरूले पहिल्यै अन्य इभेन्ट आयोजकहरूसँग काम गरिसकेका छन्, र त्यसैको अनुभवका आधारमा रोहिणी राइजिङ खोलेका हुन्।

    “यहाँ आयोजना हुने धेरैजसो कार्यक्रममा हामीले विविधता र समावेशिताको कमी महसुस गर्‍यौँ।” उनीहरू भन्छन्। “हाम्रा धेरै साथीहरूले पनि ती कार्यक्रमहरू आफ्ना लागि नभएको महसुस गरे।”

    “त्यसैले हामीले यो नयाँ समूह बनाउने निर्णय गरेका हौँ जहाँ सबै—नेपाली र विदेशीहरू पनि—सहज रूपमा घुलमिल हुन र रमाइलो गर्न सकुन्,” उनीहरू थप्छन् ।

    फराकिलो छ दीर्घकालीन लक्ष्य

    अहिले प्रारम्भिक चरणमा रोहिणी राइजिङको ध्यान समुदायमा आधारित कार्यक्रमहरूमा केन्द्रित छ। सङ्गीत, उत्सव र संस्कृति मार्फत मानिसहरूलाई एकै ठाउँमा ल्याउने उनीहरूको पहिलो प्राथमिकता हो। तर उनीहरूको सपना यतिमा मात्र सीमित छैन।

    “हाम्रो दीर्घकालीन सोच धेरै फराकिलो छ,” उनीहरू भन्छन्। “हामी फिनल्यान्डमा सांस्कृतिक साँझ र कन्सर्टदेखि जीवनशैलीसँग सम्बन्धित नयाँ र रचनात्मक कार्यक्रमहरू ल्याउन चाहन्छौँ। हाम्रो उद्देश्य नेपाली र अन्तर्राष्ट्रिय समुदायलाई जोड्ने एउटा पुल बन्नु हो।”

    आफ्नो लक्ष्य केवल मनोरञ्जन प्रदान गर्ने मात्र नभएकोमा उनीहरू स्पष्ट देखिए। एकता र आपसी बुझाइको संस्कृतिलाई बढवा दिँदै फिनल्यान्डमा नयाँ प्रकारको सांस्कृतिक अनुभव ल्याउने र युवाहरूलाई आफ्नो जरासँग जोड्ने महत्त्वाकाङ्क्षी उद्देश्य उनीहरूले लिएका छन्।

    खास गरी भर्खरै फिनल्यान्ड आएका नयाँ विद्यार्थीहरूका लागि रोहिणी राइजिङ एउटा बलियो मञ्च बन्न सक्ने देखिन्छ। यहाँ उनीहरूले नयाँ साथीहरू बनाउन, आफ्नो नेटवर्क विस्तार गर्न र रमाइलो गर्दै आफ्नोपन महसुस गर्न सक्नेछन्।

    पहिलो पाइलाः पर्वोत्सव

    आफ्नो पहिलो कार्यक्रमको लागि उनीहरूले निकै मार्मिक र सान्दर्भिक विषय छानेका छन्- ‘Back home for a day’ अर्थात् ‘एक दिनको लागि घर’।

    तिहारको पूर्व सन्ध्यामा यही अक्टोबर १८ शनिवारका हुन गइरहेको यो ‘पर्वोत्सव’ चाडपर्वको मौसममा घरपरिवारको यादले सताइएकाहरूका लागि एउटा मलम हुनेछ भन्ने उनीहरूले ठानेका छन्।

    “यो हाम्रो पहिलो कार्यक्रम भएकोले हामीले आफ्नै समुदायबाट सुरु गर्ने निर्णय गर्‍यौँ,” उनीहरू भन्छन्।

    पूर्वी हेलसिन्कीको कन्तुला/कुर्कीमाकीस्थित Karpalokuja 7 मा आयोजना हुने उक्त कार्यक्रममा सबै जना आएर उत्सव मनाउन सक्ने र नेपालबाट टाढा भए पनि एक दिनका लागि घरै फर्केको अनुभूति गर्न सक्ने उनीहरू बताउँछन्।

    कार्यक्रममा परम्परागत र आधुनिक दुवै पक्षको मिश्रण देख्न पाइनेछ। १८ वर्ष पुगेका वयस्कहरूका लागि लक्षित उक्त कार्यक्रमको टिकट मूल्य १५-२० युरो रहेको छ। टिकट खरिद टिकटिङ पार्टनर एल्लो ब्रिज मार्फत अनलाइनमै खरिद गर्न सकिने छ भने मोबाइल पे र E-Passi जस्ता विकल्पहरू पनि उपलब्ध छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप