.संक्षेपमा.
- पूर्व सांसद गौतमले सोमबार हेलसिन्कीमा नेपाली समुदायलाई सम्बोधन गर्ने।
- गौतम नर्वेबाट फिनल्यान्ड आउँदै।
- आयोजक: यो गैर-दलीय कार्यक्रम हो, सबै नेपालीलाई स्वागत छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा निवर्तमान संसदकी सांसद सोबिता गौतम आगामी सोमबार फिनल्यान्ड आउँदै छिन्। उनले हेलसिन्कीमा नेपाली समुदायसँग नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे अन्तरक्रिया गर्ने कार्यक्रम छ।
यो कार्यक्रम नोभेम्बर १० सोमबारका दिन साँझ ५ बजेदेखि ७ बजेसम्म हेलसिन्कीको माल्मीस्थित Malmin työväentalo (ठेगानाः Takaniitynkuja 9 मा आयोजना हुँदैछ। पहिले भिक्कीमा हुने भनिएको कार्यक्रम प्राविधिक कारणले माल्मीमा सारिएको आयोजकले जनाएको छ।
गौतमको फिनल्यान्ड भ्रमणको समन्वय गरिरहेकी रुक्मिणी भट्टराईले यो कार्यक्रम कुनै पार्टी विशेषको नभएको बताइन्।
“यो रास्वपाको मात्र कार्यक्रम होइन,” उनले भनिन्, “फिनल्यान्डमा रहेका सबै नेपालीहरूलाई उपस्थितिका लागि स्वागत छ।”
भट्टराई रास्वपा सम्बद्ध प्रवास नेपाली सम्पर्क विभाग फिनल्यान्डकी संयोजक तथा फिनिस नेपाली समाजकी अध्यक्ष हुन्।
गौतमको यो भ्रमण “युरोप भ्रमण २०२५” अभियानको हिस्सा रहेको बताइएको छ। उनी नोभेम्बर २ देखि १२ तारिखसम्म युरोपका विभिन्न देशको भ्रमणमा छिन्।
फिनल्यान्ड आउनुअघि उनले नोभेम्बर ९ मा नर्वेमा “प्रवासी नेपाली र राष्ट्र निर्माणमा उनीहरूको योगदान” विषयमा सम्बोधन गर्नेछिन्।
गौतम नेपालको विघटित संघीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी प्रत्यक्ष निर्वाचित सांसद थिइन्। उनी रास्वपाकी संस्थापक केन्द्रीय सदस्य तथा सचिवालय सदस्य पनि हुन्।
को हुन् सोबिता गौतम?
सोबिता गौतम नेपालको विघटित संघीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी प्रत्यक्ष निर्वाचित सांसद थिइन्। उनी रास्वपाकी संस्थापक केन्द्रीय सदस्य तथा सचिवालय सदस्य पनि हुन्।
सन् २०२२ को संघीय निर्वाचनमा उनी काठमाडौं-२ बाट निर्वाचित भएकी थिइन्। पेशाले वकिल गौतम संसदमा मुख्य गरी कानुन, न्याय तथा मानवअधिकार समितिमा सक्रिय थिइन्।
उनलाई विशेष गरी युवा पुस्ताको आवाज उठाउने, पारदर्शिता र सुधारका पक्षमा वकालत गर्ने नेतृका रूपमा चिनिन्छ। उनले टेलिभिजनमा स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्ने गरेकी थिइन्।
रास्वपाभित्र उनी सभापति रबी लामिछानेको कट्टर समर्थकको रूपमा परिचित छिन्।





