.संक्षेपमा.
- एस्पोको केहा II मा एकै दिउँसो ९२ चालकलाई जरिवाना।
- ओभरटेक गर्न धेरैले अवैध रूपमा बस लेन प्रयोग गरेको पाइयो।
- प्रहरीले निगरानी थप बढाउने।
फिनल्यान्डका सडकमा गाडी चलाउँदा बस हिँड्न छुट्ट्याएको ‘बस लेन’ प्रयोग गरी ‘ओभरटेक’ गर्ने गर्नुभएको छ? त्यसो नगर्नुहोला, किनकि त्यो यहाँको ट्राफिक नियम अनुसार अवैध मानिन्छ।
यस्तो ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम बढेको भन्दै फिनल्यान्डको प्रहरीले निगरानी थप बढाएको जनाएको छ।
गत साता एस्पोमा प्रहरीले एकैदिन दिउँसो ९२ जना चालकलाई जरिवाना गरेको थियो। Kehä II मा गरिएको आकस्मिक जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।
प्रहरीका अनुसार ती चालकहरूले ट्राफिक जाम छल्न र ओभरटेक गर्नका लागि बसहरूलाई मात्र छुट्याइएको लेनको दुरुपयोग गरेका थिए। यो घटना एस्पोको सुरपेल्तो नजिक दिउँसोको व्यस्त समयमा भएको हो।
लान्सी-उसिमा प्रहरी विभागका कमिश्नर हान्नु कोन्तोलाले यसलाई “चिन्ताजनक” र “कीर्तिमानी” संख्या भनेका छन्। “एउटै जाँचको क्रममा यति धेरै ट्राफिक जरिवाना काटिएको मलाई याद छैन,” कोन्तोलाले भने।
कानुनले बसबाहेक अन्य सवारीलाई बस लेनमा चलाउन निषेध गरेको छ, तर चालकहरूले यसलाई बेवास्ता गरिरहेका छन्।
ओभरटेक गम्भीर समस्या
प्रहरीका अनुसार केह्या II मा बस लेनलाई ओभरटेक गर्न प्रयोग गर्नु एक गम्भीर समस्या बनेको छ। दिउँसोको व्यस्त समयमा त्यहाँ प्रायः लामो ट्राफिक जाम हुने गर्दछ।
कोन्तोलाका अनुसार नियम उल्लंघन गर्दै बस लेनबाट आएका गाडीहरू फेरि मुख्य लेनमा फर्किँदा जाम झनै बढ्ने र खतरनाक स्थिति सिर्जना हुने गरेको छ।
“यही समस्याका कारण हामी हरेक दिन ‘झण्डै दुर्घटना’ भएका धेरै घटनाहरू देख्छौं,” उनी भन्छन्।
कानुनले बसबाहेक अन्य सवारीलाई बस लेनमा चलाउन निषेध गरेको छ, तर चालकहरूले यसलाई बेवास्ता गरिरहेका छन्।
प्रहरीले खासगरी केह्या II “समस्याग्रस्त क्षेत्र”को रुपमा पहिचान गरिएको र त्यहाँ निगरानी जारी राख्ने जनाएको छ।





