.संक्षेपमा.
- संसद् विघटन र सरकार गठन संवैधानिक नभए पनि अबको बाटो चुनाव मात्र हुनुपर्ने तर्क।
- पार्टी सुधारका लागि महाधिवेशन नै उपयुक्त मञ्च भएको जिकिर।
- जेनजी समूहहरूको नियत खराब नभए पनि विभाजित रहेको र धेरै सिक्न बाँकी रहेको टिप्पणी।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सचिवालय सदस्य तथा पूर्व सांसद सोबिता गौतमले फिनल्यान्डको हेलसिन्कीमा नेपाली समुदायसँग एक विशेष अन्तरक्रिया गरेकी छन्।
हेलसिन्कीको माल्मीमा हिजो आयोजित एक कार्यक्रममा उनले युवा सांसदको अनुभव, कानुन निर्माण प्रक्रिया र जेनजी विद्रोह पछिको नेपाली राजनीतिबारे खुलेर आफ्नो धारणा राखेकी हुन्।
सो क्रममा उनले एनआरएन नागरिकता, पार्टी सुधार र विगतका आन्दोलनबारे उठेका प्रश्नहरूको पनि जवाफ दिइन्।
नेतृ गौतमसँगको फिनल्यान्ड बस्ने प्रवासी नेपालीको अन्तरक्रिया सामान्य ‘भेटघाट’ मात्र नभएर आशा, आक्रोश, गुनासो र अपेक्षाबिचको एक जीवन्त संवाद बन्न पुग्यो।
हेलसिन्कीको माल्मीस्थित Malmin työväentalo मा करिब साढे दुई घण्टा चलेको कार्यक्रममा सहभागीको बाक्लो उपस्थिति थियो। कार्यक्रममा एनआरएनए फिनल्यान्डका अध्यक्ष योगेन्द्र सङ्ग्रौला र भान्ता नगर सदस्य शेखर आचार्यलगायत विभिन्न पेशाकर्मीको उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता रास्वपा सम्बद्ध प्रवास नेपाली सम्पर्क विभाग फिनल्यान्डकी संयोजक तथा फिनिस नेपाली समाजकी अध्यक्ष रुक्मिणी भट्टराईले गरेकी थिइन्। उनले सम्पूर्ण फिनल्यान्डका नेपालीहरूको तर्फबाट भन्दै नेतृ गौतमलाई फिनल्यान्ड झल्किने विभिन्न उपहार र पुष्प गुच्छा दिएर स्वागत गरेकी थिइन्।
कार्यक्रमको सञ्चालन ‘हाम्रो इभेन्टस’का नीराजन थापाले गरेका थिए। नवीन भट्टराई र जगन्नाथ काफ्लेले कार्यक्रम सहजीकरण गर्न सघाएका थिए।
नेतृ गौतमको मुख्य मन्तव्य नेपालीलाइनेनले फेसबुक लाइभ मार्फत प्रसारण गरेको थियो।
भयो कडा सवाल-जवाफ
नेतृ गौतमले सुरूमा करिब ४० मिनेट बोलेकी थिइन्। युवा सांसदको रूपमा आफ्नो अनुभवदेखि राष्ट्रिय राजनीतिका विभिन्न पाटाबारे उनले प्रकाश पारेकी थिइन्।
प्रश्नोत्तरको चरण सुरु भएपछि भने कार्यक्रममा कडै सवाल-जवाफ भयो। नेतृ गौतमलाई पहिलो प्रश्न गर्ने हाल हेलसिन्कीमा बस्ने तर नेतृ गौतमकै निर्वाचन क्षेत्र (काठमाडौँ -२) का रूपक दाहाल थिए।
दाहालले काठमाण्डौ -२ मा फेरि उठ्ने वा नउठ्ने, संसद् विघटन र सरकार गठन संवैधानिक छ वा छैन, तथा सङ्घीयता प्रति रास्वपाको धारणा के-हो भन्ने लगायतका प्रश्न गरेका थिए।
नेतृ गौतमले संसद् विघटन हुनुहुँदैनथ्यो, तर भइसकेपछि पुनर्स्थापनाले झन् समस्या ल्याउने र अब चुनाव नै समाधान हो भन्ने अडान राखिन्।
काठमाडौँ-२ बाट फेरि उठ्ने कि नउठ्ने भन्ने प्रश्नलाई ‘पार्टीले निर्णय गर्ने’ भन्दै टारिन्। सङ्घीयता आफ्नो पार्टीले मान्ने तर त्यसलाई चुस्त र कम खर्चिलो बनाउनु पर्ने तर्क गरिन।
त्यसपछि एक सहभागी जो आफूलाई रास्वपाका समर्थक बताउँदै थिए, सायद सबैभन्दा कडा प्रहार गरे। “तपाईँहरू जसरी हुल बाँधेर रवि लामिछानेको बचाउमा पोखरा पुग्नुभयो, त्यसै गरी जनताका घरमा पुगेको भए यो पार्टी आज अर्कै ठाउँमा हुन्थ्यो।”
उनको टिप्पणीले हलमा एक छिन सन्नाटा छायो।
गौतमले तत्कालीन सरकारले रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधेर थुनेका कारण प्रदर्शन गरेको, तर अदालतले थुनामा पठाउन आदेश गरेपछि एक दिन पनि प्रदर्शन नगरेको तर्क गरिन्।
“मैले रवि लामिछानेको बचाउ पार्टी सभापति भएर भन्दा पनि वहाँमाथि राजनीतिक प्रतिशोध साधिएका कारण मानवीय आधारमा गरेको हो,” उनले भनिन्।
गौतमले संसद् विघटन हुनुहुँदैनथ्यो, तर भइसकेपछि पुनर्स्थापनाले झन् समस्या ल्याउने र अब चुनाव नै समाधान हो भन्ने आफ्नो राजनीतिक अडान राखिन्।
जेनजी, पार्टीको आन्तरिक सुधार, र एनआरएन नागरिकता बारेको धारणा
पार्टीभित्रको सुधारबारे सोधिएको प्रश्नमा उनले पार्टीको महाधिवेशन नै सुधारको सही मञ्च भएको धारणा राखिन्।
“हामीले पार्टी नै बनाइसकेका छैनौँ, कसरी सुधार गर्ने? हामीले पहिलो महाधिवेशन नै गरेका छैनौँ,” उनले भनिन्, “जे सुधार गर्नुपर्ने हो महाधिवेशनबाटै हुनुपर्छ। राइट प्लेटफर्म त्यही हो। केही साथीहरूले बदलिएको परिस्थितिमा अहिले नै हुनुपर्छ भन्नुभएको छ, त्यो सही होइन, त्यसले उहाँहरूलाई नै पछि पछुतो हुन्छ।”
उनले ‘जेन-जी’ (Gen-Z) समूहहरू विभाजित रहेको र आफूले अहिलेसम्म गरेका छलफलमा उनीहरूले धेरै सिक्न र जान्न बाँकी रहेको आभास भएको बताइन्। यद्यपि, जेनजीहरूको नियतमा भने शङ्का गर्ने ठाउँ नरहेको प्रस्ट पारिन्।
एक सहभागीले एनआरएन नागरिकताको विषयमा खरो प्रश्न गरेकी थिइन्। आफूले नेपाल जाँदा अहिले पनि भिसा लगाएर जानुपर्ने भन्दै एनआरएन नागरिकतामा किन ढिलाइ भएको छ भन्दै सोधेकी थिइन्।
जवाफमा गौतमले एनआरएन नागरिकता पनि दिने भन्ने र भिसा पनि लगाउने भन्ने मिल्ने कुरा नभएको बताएकी थिइन्। उनले रास्वपा नागरिकता दिनुपर्ने पक्षमा भए पनि संसद्मा सानो सङ्ख्याका कारण सबै कुरा लागू गर्न नसकेको बताइन्।
एक सहभागीले आफूले नेपालमा काम गर्दा पटक-पटक व्यवधान र असहयोग खेप्नु परेको गुनासो राखेका थिए।
कार्यक्रममा केहीबेर बोलेका भान्ता सहरका नगर सदस्य शेखर आचार्यले फिनल्यान्डको राजनीतिमा आफ्नो छोटो अनुभव सुनाएका थिए। आचार्यले नेपालमा काम गर्न सकिन्छ भने आशा गुमाएर नै आफू बिदेसिएको जिकिर गरेका थिए।
नेतृ गौतमलाई देखेपछि र सुनेपछि “नेपालले गौरव गर्न लायक नेतृ पाएछ” भन्ने आफूलाई लागेको उनले बताएका थिए।
नेपालीसँग अन्तरक्रिया नगर्न सुझाव
कार्यक्रमको अन्त्यतिर एक सहभागीले युरोप आएर नेपालीहरूसँग भेटघाट गर्नु ‘समय खेर फाल्नु’ बराबर भएको टिप्पणी गरे।
“तपाईँले भनेका यी कुरा त युट्युबमै सुनेको हो। केही नयाँ छैन। समयको बरबादी मात्र हो,” उनले भने। “युरोप आएका बेला बरु यहाँ केही सिकेर जानुस्। नर्वे गएर आउनुभएछ, त्यहाँ गएको बेला त्यहाँको जेल भ्रमण गर्नुस्। तपाईँकै सभापति जेलमा हुनुहुन्छ क्यार। नर्वेको जेल त्यस्तो व्यवस्थित कसरी भयो, त्यो सिक्नुस्। यहाँ फिनल्यान्डको शिक्षा पद्धति संसारकै राम्रो मानिन्छ, यहाँ आएको बेला बरु एउटा विद्यालयमा जानुस् र शिक्षा प्रणाली कसरी राम्रो बन्यो त्यो सिक्नुस्।”
कार्यक्रम सञ्चालक नीराजन थापाले उक्त भनाइको प्रतिवाद गरेका थिए।
“यहाँ रहेका नेपालीहरूको मनस्थिति के छ भनेर पनि राजनीतिक नेतृत्वले बुझ्न आवश्यक छ,” उनले भने, “म आफैँ पनि पूर्व माननीयको छोरा हो। सांसदहरूलाई सिक्नका लागि भ्रमणहरू त त्यसै पनि थुप्रै भइरहन्छन्।”
नेतृ गौतमले स्थितिलाई सम्हाल्ने प्रयास गरिन्। “सबै नेपालीलाई भेटेर एकताको सन्देश दिऊँ र तपाईँहरूको मनोभावना पनि बुझौँ भनेर आएको हो। तर सुझावका लागि धन्यवाद।”
कार्यक्रमको अन्त्यमा बोलेकी सभाध्यक्ष भट्टराईले सहभागिताका लागि सबैलाई धन्यवाद दिएकी थिइन्। उनले “फिनल्यान्डमा बस्ने नेपालीहरूलाई नेपालका लागि एकताबद्ध गरौँ” भन्ने मात्र आफूहरूको उद्देश्य रहेको कुरामा जोड दिएकी थिइन्।
कार्यक्रम सकिएपछि नेतृ गौतमले सहभागीहरूसँग अनौपचारिक कुराकानी गरेकी थिइन् भने नेपालको नीतिगत क्षेत्रमा योगदान गर्न सक्ने सम्भावना भएका केही अनुसन्धानकर्ता र अन्य पेसाकर्मीको सम्पर्क नम्बर पनि लिएकी थिइन्।
हेर्नुहोस् कार्यक्रमका तस्बिरहरू, सबै तस्बिरः नेपालीलाइनेन









