0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा कामका लागि तीस लाख खर्चेर अलपत्र परेकी एक नेपालीको कहालीलाग्दो कथा

    पैसा फिर्ता माग्दा दुई आरोपित मध्ये एकले उनलाई 'नेपाल डिपोर्ट गरिदिने' र 'फिनल्यान्डमा उल्टै मुद्दा लगाउने' धम्की दिएको पिडितले दिएको प्रहरी उजुरीमा उल्लेख छ।

    .संक्षेपमा.


    • करिब २१,०० युरो तलब र छोरा ल्याउन पाइने प्रलोभन।
    • काम गर्ने भनिएको रेस्टुरेन्ट पहिल्यै बेचियो।
    • ठगीको आरोपमा प्रहरीमा उजुरी दर्ता।

    भने बमोजिम सबै भएको भए त गंगा (नाम परिवर्तन) को जीवन अहिले अर्कै मोडमा हुन्थ्यो। उनले हेलसिन्कीमा नेपाली-मूलका व्यक्तिहरूले खोलेको एउटा रेस्टुरेन्टमा काम गरिरहेकी हुन्थिन्, कम्तीमा दुई हजार युरोको मासिक आम्दानी हुन्थ्यो, र उनले असाध्यै माया गर्ने उनको नाबालक छोरा पनि साथमै हुन्थ्यो।

    जिन्दगीमा लामो सङ्घर्ष र उतारचढाव खेपेकी उनले सायद शान्तिको श्वास पनि फेरिरहेकी हुन्थिन्।

    तर उनी अहिले त्यो अवस्थामा छैनन्। उल्टै राम्रो रोजगारी पाइने र छोराको भविष्य पनि बन्ने सपनामा ऋण-धन गरेर करिब ३० लाख खर्चेर फिनल्यान्ड आइपुगेपछि पनि उनी अलपत्रजस्तै बनेकी छन्।

    यो ‘स्टोरी’का लागी नेपालीलाइनेनले उनीसँग दुई पटक लामो कुराकानी गरेको छ, र कैयौँ पटक मेसेजहरू आदान प्रदान गरेको छ। र उनले उपलब्ध गराएका अनेकौँ डकुमेन्टहरूको अध्ययन गरेको छ।

    उनले फिनल्यान्डको प्रहरीमा दिएको निवेदन, कामको सम्झौता पत्र, फिनल्यान्डको आवासीय अनुमतिका लागि दिएको निवेदन, नेपाल सरकारले दिएको श्रम स्वीकृति, उनले नेपालमा पैसा बुझाएका प्रमाण, रेस्टुरेन्ट मालिकले उनलाई गरेका मेसेज र इमेलका ‘स्क्रिन सट’, र पीडित र अभियुक्तबिच भएको करिब ३० मिनेट लामो कुराकानीको अडियो ‘ट्रान्सक्रिप्ट’ पनि नेपालीलाइनेनले हेरेको छ।

    प्रलोभन देखाई ठगी

    काठमाडौँमा सानो व्यवसाय र पार्ट-टाइम काम गरिरहेकी गंगालाई करिब आठ वर्ष अघिदेखि चिनजान भएकी एक महिलाले फिनल्यान्ड बोलाएकी हुन्। ती महिलाले आफ्नो परिवारको यहाँ रेस्टुरेन्ट रहेको र मासिक करिब २,१०० युरो तलब पाइने प्रलोभन देखाएकी थिइन्।

    “मलाई त विदेश जाने भन्ने केही थाहा नै थिएन,” गंगाले नेपालीलाइनेनसँग भनिन्। “उनैले फिनल्यान्ड एकदम राम्रो छ, छोराको भविष्य राम्रो हुन्छ भनेर कर गरेकी हुन्।”

    “छोराले पनि उसलाई ठुलीआमा भन्थ्यो, माया गर्थ्यो। उनले यस्तो गर्लिन् भनेर कहिल्यै कल्पना पनि गरिन।” उनले भनिन्।

    “मलाई त त्यत्रो पैसा साँच्चिकै लाग्ने होला, कतै बुझाउनु पर्ने होला भन्ने लाग्यो। विद्यार्थीहरू पनि पैसा तिरेरै जान्छन्, त्यस्तै होला भन्ने लाग्यो। छोराको भविष्य राम्रो हुन्छ भनेपछि सबै बिर्सिएँ।” उनले बताइन्।

    गंगाका एक नाबालक छोरा छन् जसलाई उनी एक्लैले सानैदेखी दुःख गरेर हुर्काएकी हुन्।

    नेपालीलाइनेनसँगको कुराकानीमा उनले छोरासँग छुट्टिएर बस्दा आफूलाई धेरै पीडा भएको र उसको भविष्य के हुने हो भन्ने पिरले निकै तनाव दिएको पटक-पटक उल्लेख गरिन्।

    छोरालाई बहिनीको जिम्मा लगाएर उनी करिब तीन महिना अगाडी फिनल्यान्ड आइपुगेकी हुन्।

    छोरालाई बहिनीको जिम्मा लगाएर उनी करिब तीन महिना अगाडी फिनल्यान्ड आइपुगेकी हुन्।

    काम गरेबापत मासिक करिब २,१०० युरो तलब दिने र केही समयपछि छोरालाई पनि फिनल्यान्ड ल्याइदिने आश्वासन आरोपितहरूले गंगालाई दिएका थिए। उनीहरूले भिसा प्रक्रिया र अन्य खर्च भन्दै उनीसँग करिब २५ लाख नेपाली रुपैयाँ नगद मागेका थिए।

    त्यो बाहेक भिसा डकुमेन्टहरू बनाउँदा लागेको खर्च, टिकट, सपिङ लगायतका खर्च जोड्दा आफ्नो करिब ३० लाख खर्च भएको गंगाले बताइन्।

    “सानो व्यापार थियो, त्यो पनि बेचेँ। अरू बाँकी पैसा ऋण खोजेर जुटाएकी हुँ।” उनले भनिन्। “मेरो जे-जति थियो, सबै सकियो। बरबाद भयो।”

    अरूकै एकाउन्टमा पैसा, फिनल्यान्ड आएपछि छैन काम

    आरोपितहरूले यो वर्षको सुरुदेखि नै गंगासँग पैसा लिन सुरु गरेका थिए, र धेरै पैसा आफ्नोमा नभै अरूको बैङ्क एकाउन्टमा पठाउन लगाएका थिए।

    गत जनवरी महिनामै करिब १८ लाख रुपैयाँ उनले नेपालमा रहेका दुई फरक व्यक्तिको बैङ्क एकाउन्टमा ट्रान्सफर गरेकी थिइन्। उनले केही लाख रकम भने आरोपित मध्ये एक महिलाकै एकाउन्टमा पनि पठाएकी थिइन्। गंगाले नेपालीलाइनेनलाई उपलब्ध गराएको बैङ्क ‘ट्रान्ज्याक्सन’ हेर्दा उनको दाबी पुष्टि हुने प्रमाण स्पष्ट छन्।

    अनेकौँ सपना बोकेर फिनल्यान्ड उत्रिए पनि बाचा गरेअनुसारको काम नपाएपछि उनी छाँगाबाट खसेजस्तै भएकी थिइन्।

    “मलाई काम गर्ने भनेर ल्याएको रेस्टुरेन्ट त म आउनुअघि नै बेचिसकेका रहेछन्।” उनले भनिन्।

    पीडितका अनुसार पैसा बुझिलिने आमा-छोरीले सुरुमा विभिन्न बहाना बनाएका थिए। पछि उनीहरूले गंगाको व्यक्तिगत इमेल अनधिकृत रूपमा चलाएर अन्य कम्पनीमा उनको नाममा कामका लागि आवेदन दिने गरेका थिए।

    आरोपितहरूले पछि प्रमाण नष्ट गर्न गंगाको इमेल एकाउन्ट नै डिलिट गरिदिएको उनले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ।

    फिनल्यान्ड आएपछि करिब २० दिनसम्म उनलाई काम दिने भन्दै झुलाइएको थियो। ठगिएको महसुस भएपछि गंगाले पैसा फिर्ता माग्दा उल्टै नेपाल फर्काइदिने र झूटो मुद्दा लगाउने धम्की पनि दिइएको उनले बताइन्। पछि उनले प्रहरीमा जाने कुरा गरेपछि आरोपितहरूले २,८०० युरो फिर्ता गरेका थिए।

    तर अहिले उक्त २,८०० युरोलाई आरोपितहरूले ‘डेढ महिनाको तलब’ भन्दै बाँकी रकम दिन अस्वीकार गरेको गंगाले बताइन् । गंगाले भने आफूले कुनै काम नै नगरेको र उक्त रकम तलब नभएर आफूले नेपालमा तिरेको रकमको फिर्ता गरिएको किस्ता भएको बताएकी छन्।

    गंगाले नेपालीलाइनेनलाई उपलब्ध गराएको एक इमेलमा उक्त रकम उनको तलब भएको र कम्पनीसँग उनको काम-सम्झौता अन्त्य गरिएको उल्लेख छ। कामको तलब सिट (स्यालरी सिट) समेत बनाएर पठाइएको छ। जबकि गंगाका अनुसार उनले एक दिन पनि त्यहाँ काम गरेकी छैनन्।

    गंगालाई जागिर दिने भनिएको कम्पनी करिब दुई वर्ष अगाडी फिनल्यान्डमा दर्ता भएको देखिन्छ। कम्पनीका मालिकमा गत मे महिनादेखि दुई नेपालीको नाम अद्यावधिक गरिएको देखिन्छ। त्यसको अर्थ उक्त कम्पनी किनेको केही महिनामै गंगालाई त्यहाँ काम गर्न ल्याउने भनेर भिसा लगाएको देखिन्छ।

    उक्त कम्पनी गत वर्ष करिब १५ हजार युरो घाटामा रहेको पनि देखिन्छ। नेपाली व्यक्तिले चलाएको भए पनि उक्त रेस्टुरेन्टले नेपाली भन्दा अरू फरक खाले खाना बेच्ने गरेको देखिन्छ।

    यद्यपि उक्त कम्पनी फेरी बेचिसकिएको गंगाले बताइन्। पीडित र आरोपितको कुराकानीबाट पनि उक्त कम्पनी बेचिएको बुझिन्छ।

    तर नयाँ मालिकको सूचना भने कम्पनी दर्ता कार्यालयको प्रणालीमा अझै अद्यावधिक भएको देखिँदैन। केही समय अगाडी मात्र बेचिएको हुँदा सूचना अद्यावधिक गर्न केही समय लागेको आकलन भने गर्न सकिन्छ।

    आरोपितहरूले प्रमाण नष्ट गर्न गंगाको इमेल एकाउन्ट नै डिलिट गरिदिएको उनले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ।

    प्रहरीमा उजुरी, न्यायको पर्खाई

    गंगाले नेपालीलाइनेनलाई उपलब्ध गराएको अडियो ट्रान्सक्रिप्टमा आरोपितले उनलाई “कम्पनीबाट राजीनामा दिएर नेपाल फर्किए पैसा फिर्ता गरिदिने” भनेको देखिन्छ।

    अडियो ट्रान्सक्रिप्टमा आरोपित मध्ये एकले “आफूहरू ठग नभएको र गाडी बेचेर भए पनि पैसा फिर्ता गरिदिने” बताएकी छन्। यद्यपि, गंगाबाट २५ लाख पैसा भने झुक्क्याएर वा अनेक बहाना बनाएर असुलेको उक्त कुराकानी पढ्दा स्पष्ट हुन्छ।

    उक्त कुराकानीमा गंगाले “सिधै पैसा नमागेर किन यो गर्न यति लाग्छ, त्यो गर्न यति लाग्छ भनेर ठगेको?” भनेर बारम्बार प्रश्न गरेकी छन्।

    “तीस लाख पैसा थोरै पैसा हो र? म जग्गा बेचेर, व्यापार बेचेर, सबै थोक गुमाएर यहाँ आएकी हुँ। एउटा अवोध बच्चाको पैसा यसरी खान मिल्छ?” गंगाले प्रश्न गरेकी छन्।

    “मसँग त्यत्रो पैसा कसरी लिन सकेको” भन्ने गंगाको प्रश्नमा आरोपितले, “सबैले लिन्छन्” भन्ने जबाफ दिएकी छन्।

    पैसा फिर्ता माग्दा दुई आरोपित मध्ये एकले उनलाई ‘नेपाल डिपोर्ट गरिदिने’ र ‘फिनल्यान्डमा उल्टै मुद्दा लगाउने’ धम्की दिएको पनि गंगाले दिएको प्रहरी उजुरीमा उल्लेख छ।

    गंगाले आफै प्रहरीकोमा जाने तैयारी गरेको भनेपछि भने आरोपितहरू झस्किएका थिए, र उनलाई भेट्न आएका थिए।

    सुरुमा पैसा दिने बचन दिए पनि पछि ‘आफ्नो कम्पनीमा काम गरेको पैसा दिएको र अरू कुनै लेनदेन बाँकी नरहेको’ ब्यहोराको इमेल पठाएपछि आफू प्रहरीकोमा गएको गंगाले बताइन्।

    नेपालमा फिनिस भाषा पढ्दा चिनेका एक व्यक्तिले गंगालाई फिनल्यान्डमा कानुनी प्रक्रिया कसरी अगाडी बढाउन सकिन्छ भनेर सल्लाह दिएका थिए। उनले हेलसिन्कीमा बस्ने केही नेपालीको सम्पर्क पनि उपलब्ध गराएका थिए।

    उजुरीमा उनले आफ्नो फसेको रकम फिर्ता र दोषीलाई कारबाहीको माग गरेकी छन्। गंगाका अनुसार उक्त उजुरी उनले आफ्नी बहिनीको सहयोगमा लेखेकी हुन्।

    “मलाई त्यति अङ्ग्रेजी आउँदैन। वकिलको सम्पर्क पनि पाएकी थिएँ। वकिललाई दिन कहाँबाट पैसा हुनु! जे-जस्तो जानेकी छ बैनीले लेख्न सहयोग गरेकी हो।” उनले भनिन्।

    फिनल्यान्डमा पछिल्लो समय कम्पनी खडा गरेर मान्छे ल्याउने अनि अलपत्र पार्ने घटनाहरू बढिरहेका छन्। गत महिना फिनल्यान्डको कायानी क्षेत्रमा दर्जनौं नेपालीहरूलाई जंगलमा काम गर्ने भनेर ल्याएर अलपत्र पारिएको घटना सार्वजनिक भएको थियो। उक्त केसमा अहिले पाँचजना प्रहरी हिरासतमा छन्।

    केहि दिन अगाडी नाम मात्रका कागजी सरसफाई कम्पनी खडा गरी दर्जनौं विदेशीहरूलाई ठगिएको घटना पनि सार्वजनिक भएको थियो। उक्त केसमा पनि अहिले पाँचजना थुनामा रहेका छन्।

    सम्पादकीय नोटः यो विषय प्रहरी छानबिनमा पुगिसकेको र आरोपितहरू अहिले सक्रिय रूपमा ठगीमा संलग्न रहेको नदेखिएका कारण नेपालीलाइनेनले आरोपित कम्पनी र आरोपित व्यक्तिहरूको नाम र अन्य विवरण गोप्य राखेको छ। साथै यो स्टोरी पीडितसँगको अन्तर्वार्ता र उनले उपलब्ध गराएका कागजातका आधारमा लेखिएको हो। पीडितको गोपनियता कायम राख्न आरोपितसँग सम्पर्क नगरिएको हो।

    फिनल्यान्डमा करिब २०० नेपाली रेस्टुरेन्ट रहेको आकलन छ। मानव बेचबिखन र श्रम शोषणका केही घटनाहरू सुनिएकै कारण सबै रेस्टुरेन्ट क्षेत्रलाई नै लक्षित गरि लाञ्छना लगाउने र आक्रमण गर्ने काम नगर्न र शिष्ट र सभ्य रूपमा आफ्ना धारणाहरू राख्न हामी हाम्रा पाठकहरूलाई अनुरोध गर्दछौँ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप