विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डका नेपाली: विश्वकै शीर्ष वैज्ञानिकको सूचीमा परेका विकास बरालले कोरेको बाटो

डा. बराल आफैले पनि यो सफलताका लागि निकै लामो दौड दौडिएका हुन्। नेपाली समाजमा अक्सर सफलतालाई तलबको अङ्कसँग दाँजिन्छ। उनले त्यो पीडा नजिकबाट महसुस गरेका छन्।

डिसेम्बर महिनाको हेलसिन्की चिसो त छ नै, त्यो भन्दा धेरै अँध्यारो छ। यो चिसो र अँध्यारोमा सूर्यका किरण त छैनन्, आशाका किरणहरू भने कहिलेकाहीँ यसो झुल्किछन्।

यस्तै एउटा आशाको किरण फिनल्यान्डको सबैभन्दा पुरानो र प्रतिष्ठित हेलसिन्की विश्वविद्यालयको प्रयोगशालामा भेटियो, र त्यहाँ भेटिए डा. विकास बराल।

अगस्ट २०२५ मा स्ट्यानफोर्ड विश्वविद्यालय र एल्सेभियरले विश्वभरिका उच्च-प्रभावशाली वैज्ञानिकहरूको एउटा सूचि प्रकाशित गर्‍यो। सोझो भाषामा भन्दा संसारका टप २% वैज्ञानिक र अनुसन्धानदाताहरू उक्त सूचिमा परेका थिए। त्यसमा केही नेपाली नामहरू पनि समावेश थिए।

त्यसै मध्येका एक विगत करिब १३ वर्ष देखी फिनल्यान्डलाई कर्मथलो बनाइरहेका नेपाली अनुसन्धानकर्ता डा. बराल पनि हुन्। उमेरले चालीस नकाटेका बराल जति सफल छन्, त्यो भन्दा धेरै सहज र सरल लाग्छन्।

स्ट्यानफोर्डको यो सूचीले वैज्ञानिकहरूको प्रभावलाई ‘सि-स्कोर’ (c-score) का आधारमा मापन गर्छ। यसमा वैज्ञानिक जर्नलहरूमा प्रकाशित लेखहरूको सङ्ख्या र तिनीहरूलाई सन्दर्भ बनाइएको सङ्ख्या त हेरिन्छ नै, सँगसँगै ती शोधहरूले विश्व विज्ञानमा कति ठुलो प्रभाव पारेका छन् भन्ने पनि नापिन्छ।

विज्ञापन
विज्ञापन सकियो

अनुसन्धानकर्ताको करिअर कसरि अगाडी बढिरहेको छ, त्यो पनि मापन गरिन्छ। अर्को अर्थमा भन्दा यो सूचीमा पर्ने व्यक्तिको अनुसन्धानले साँच्चै नै विश्वव्यापी समस्याहरू समाधान गर्ने दिशामा योगदान दिइरहेको छ भन्ने हो।

हजारौँ वैज्ञानिकहरू जीवनभर काम गर्छन् तर यो सूचीमा अटाउन सक्दैनन्। एक नेपाली युवा अनुसन्धानकर्ताका लागि यो स्थान बनाउनु गजबकै कुरा हो।

बरालका लागि यो सम्मान तथ्याङ्क मात्र भने होइन। बरु उनले विगत डेढ दशकदेखि प्रयोगशालामा बिताएका हजारौँ घण्टाको प्रतिफल हो।

हाल हेलसिन्की विश्वविद्यालयमा अनुसन्धानकर्ताको रूपमा काम गरिरहेका बरालसँग नेपालीलाइनेनले सम्पर्क गरी उनको बाल्यकाल र विगतको अध्ययन, उनले अहिले गरिरहेको अनुसन्धान, र उनका भावी सपनाहरूबारे कुरा गरेको छ। 

बाल्यकाल र लोडसेडिङले बदलेको बाटो

डा. बरालको कथा कास्कीको पोखराबाट सुरु हुन्छ। स्थानीय अमर ज्योति बोर्डिङ स्कुलबाट कक्षा ६ सम्मको अध्ययन सकेपछि उनी एसओएस गण्डकीमा भर्ना भए। एसओएसको कडा अनुशासन र शैक्षिक वातावरणले उनको जग बलियो बनायो।

पृथ्वीनारायण क्याम्पसबाट आई.एस्सी. र बी.एस्सी. सकेपछि उनी वनस्पति शास्त्रमा स्नातकोत्तर गर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगे।

तर उनको जीवनको निर्णायक मोड तब आयो जब उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST, पहिलेको RONAST) मा अनुसन्धान सहायकका रूपमा काम गर्न थाले।

त्यहाँ उनले करिब २.५ वर्षको अनुभव लिए र धेरै कामहरू सिके। उनलाई त्यहीँबाट विद्यावारिधि (PhD) गर्ने अफर पनि गरिएको थियो, तर उनको दिमागमा अर्कै कुरा खेलिरहेको थियो।

“त्यो बेला नेपालमा दिनको १६-१८ घण्टा बत्ती जान्थ्यो,” उनले ती दिनहरू सम्झिँदै भने, “ल्याबमा काम गर्न बिजुली चाहिन्थ्यो, तर अँध्यारोमा बसेर भविष्य कता जाला भन्ने चिन्ताले सताउँथ्यो। नेपालमा करियरको कुनै स्पष्ट रूपरेखा देखिएन।”

यही निराशाले उनलाई एउटा साहसी निर्णय लिन बाध्य बनायो। सन् २०१२ मा उनले घर र समाजलाई अलिकति ‘ढाँटे’।

“म पिएचडी गर्न विदेश जाँदै छु,” भनेर उनी फेरि अर्को मास्टर्स डिग्री गर्न फिनल्यान्डको हेलसिन्की विश्वविद्यालय आए।

यद्यपि नास्टमा अनुसन्धानको रस चाखिसकेका उनलाई “पिएचडी चाहिँ जसरी पनि गर्नुपर्छ” भन्ने त थियो नै।

पिएचडीदेखी पेटेन्ट अधिकारसम्म

हेलसिन्की आएपछि उनको जीवनले नयाँ गति लियो। मास्टर्स सकेपछि उनले तुर्कु विश्वविद्यालयबाट बायोकेमेस्ट्रीमा पिएचडीको अफर प्राप्त गरे। सन् २०२२ मा उनले पिएचडी पूरा गरे। उनको शोध नयाँ औषधिको खोज अर्थात् ‘ड्रग डिस्कभरी’ सम्बन्धी थियो।

यही क्रममा उनले एउटा महत्त्वपूर्ण आविष्कार गरे, जसको पेटेन्ट पनि दर्ता भयो। यद्यपि विश्वविद्यालयको नियम अनुसार त्यसको रोयल्टी भने बरालले नभएर संस्थाले नै प्राप्त गर्छ। तर आविष्कारकको रूपमा उनको नाम भने सधैँका लागि अङ्कित हुने भयो।

हेलसिन्की विश्वविद्यालयमा उनको हालको अनुसन्धान पनि नयाँ औषधिको खोजसँगै जोडिएको छ।

नयाँ औषधिको खोजमा एआई को प्रयोगले व्यापक सफलता दिन्छ भनेर सुनिँदै आएको छ। यही प्रश्न नेपालीलाइनेनले उनलाई पनि सोधेको थियो। उत्तरमा उनी निकै आशावादी देखिए।

“एआईले औषधि पत्ता लगाउने प्रक्रियामा क्रान्ति ल्याउने आकलन छ,” उनी भन्छन्। “रोगको निदानमा पनि यसले ठुलो मद्दत गर्नेछ। एआईले हामीलाई अहिले नै धेरै अगाडि बढाइसकेको छ।”

बराल आफैले पनि यो सफलताका लागि निकै लामो दौड दौडिएका हुन्। नेपाली समाजमा अक्सर सफलतालाई तलबको अङ्कसँग दाँजिन्छ। उनले त्यो पीडा नजिकबाट महसुस गरेका छन्।

फिनल्यान्डको तुर्कु विश्वविद्यालयबाट पिएचडी पुरा गरेको दिन डा. बराल।

नयाँ पुस्तालाई सन्देश: धैर्य, मेहनत, र लगनशीलता

हामीले बराललाई सोध्यौँ “यदि ९–१० वर्षको कुनै नेपाली बच्चा वैज्ञानिक बन्ने सपना देखिरहेको छ भने उसलाई के भन्नुहुन्छ?”

उनले धैर्य, लगन, र मेहनतजस्ता शब्दहरू दोहोराए।

“यो १–२ वर्षमा हुने कुरा होइन। अनुसन्धानमा सफलता पाउन लामो दौडको तयारी चाहिन्छ,” उनले थपे।

नेपालको सन्दर्भमा उनले एउटा व्यावहारिक सल्लाह पनि दिए।

“नेपालमा सबै खालका अनुसन्धानका लागि अत्याधुनिक सुविधाहरू नहुन सक्छन्। तर वातावरणीय अनुसन्धान वा जैविक विविधता जस्ता क्षेत्रमा नेपाल उत्कृष्ट प्रयोगशाला हो। यताका विदेशीहरू समेत त्यहाँ गएर ती क्षेत्रका अनुसन्धान गर्छन्। त्यसैले आफ्नो योजना त्यही अनुसार बनाउनुपर्छ।”

बराल आफैले पनि यो सफलताका लागि निकै लामो दौड दौडिएका हुन्। नेपाली समाजमा अक्सर सफलतालाई तलबको अङ्कसँग दाँजिन्छ। उनले त्यो पीडा नजिकबाट महसुस गरेका छन्।

“रोनास्टमा काम गर्दा मेरो तलब जम्मा ५ हजार रुपैयाँ थियो,” उनी भावुक हुँदै भन्छन्, “मेरा साथीहरू कर्पोरेट जागिर वा अन्य क्षेत्रमा ५० हजार कमाउँथे। साथीभाइहरू सोध्थे— ‘तेरो काम के हो? के गर्दैछस्?’ उनीहरूलाई लाग्थ्यो म सायद केही फाल्तु काममा समय बरबाद गरिरहेको छु।”

तर आज जब उनी विश्वका शीर्ष वैज्ञानिकहरूको सूचीमा परे, परिस्थिती फेरिएको छ। “अहिले तिनै साथीहरूले समाचार देख्छन् र भन्छन्— ‘ए, विकासले त भित्रभित्रै निकै अर्थपूर्ण काम पो गरिरहेको रहेछ।'”

यसरी हेर्दा यो क्षण उनका लागि व्यक्तिगत जित मात्र होइन, विज्ञानलाई कम आँक्ने सामाजिक दृष्टिकोणमाथिको विजय पनि हो।

नोबेल पुरस्कारको मिठो प्रश्न

कुराकानीको अन्त्यमा हामीले अलिकति ठट्टा गर्दै सोध्यौँ, “भविष्यमा तपाई वा तपाईँको समूहका कसैले नोबेल पुरस्कार पाउने सम्भावना कति छ?”

विकासको मुहारमा एउटा विनम्र मुस्कान फैलियो। “भोलीको कुरा कसलाई के थाहा? ठुला आविष्कारहरू अक्सर अचानक हुन्छन्। जुन प्रयोगशालाहरूले नोबेल पाएका छन्, ती पनि हाम्रै जस्ता त हुन्।” उनले हाँस्दै भने।

“हेर्दै जाऔँ, काम गर्दै जाऔँ,” उनी फेरी हाँसे।

हेलसिन्कीको चिसो साँझमा डा. विकास बरालको यो जवाफले एउटा न्यानो आशा भने जगायो। पोखराको अँध्यारो लोडसेडिङबाट सुरु भएको यात्रा आज विश्वको शीर्ष स्थानमा आइपुगेको छ। र, कसलाई के थाहा? सायद अर्को ठुलो ‘ब्रेकथ्रु’ले उनकै प्रयोगशालाको कुनै कुनामा पर्खिरहेको पो छ कि!

अनुसन्धानमा व्यस्त डा. बराल।

(सुचनाः फिनल्यान्डमा रहेर आफ्नो क्षेत्रमा उल्लेख्य काम गरेका नेपालीहरूलाई फिचर गर्ने उद्देश्यले हामीले ‘फिनल्यान्डका नेपाली‘ नामक नयाँ सिरिज सुरु गरेका छौँ। यो त्यही सिरिजको पहिलो ‘स्टोरी’ हो। तपाईँ यस्तै एक नेपाली हुनुहुन्छ वा कोही यस्तै नेपाली चिन्नुहुन्छ भने हामीलाई ‘फिचर सुझाव’ पठाउन सक्नुहुन्छ। इमेल: [email protected], WhatsApp: +358 41 715 7816)

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप