0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    छैन डिपोर्ट हुने डर: मानव बेचबिखनका पीडितले फिनल्यान्डमा पाउँछन् छुट्टै भिसा

    छानबिन हुँदाहुँदै वा मुद्दा चल्दाचल्दै पीडितले देश छाड्न नपरोस् भनेर फिनल्यान्डले यस्तो प्रावधान राखेको हो।

    .संक्षेपमा.


    • मानव बेचबिखनका पीडितले पाउँछन् छुट्टै रेसिडेन्ट परमिट।
    • सहयोगका लागि सम्पर्क फोन, इमेल, वा अनलाइन फारम मार्फत।
    • कानुनी सहयोग चाहिए सरकारी खर्चमै उपलब्ध हुन्छन् वकिल।

    दुई दिन अगाडी नेपालीलाइनेनमा फिनल्यान्डमा कामका लागि करिब तीस लाख खर्चेर अलपत्रजस्तै बनेकी एक नेपाली महिलाबारे समाचार प्रकाशित भएको थियो।

    त्यसयता हाम्रा पाठकहरूबाट हामीले उनको पछिल्लो अवस्थाका बारेमा, र खास गरि त्यसरी फसाइएका व्यक्तिहरूको फिनल्यान्डमा कानुनी स्थिति के हुन्छ भन्नेबारे विभिन्न प्रश्नहरू प्राप्त गरेका छौँ। हामी कानुनी परामर्श प्रदान गर्ने संस्था त हैनौँ, तैपनि फिनल्यान्डमा विद्यमान कानुनी व्यवस्थाको अध्ययन गरी सूचनामूलक जानकारीका लागि यो लेख तैयार गरिएको हो।

    हामीले समाचार कभरेज गरेकी (गंगा, नाम परिवर्तन)ले आफू अहिले आफ्नै हिसाबले रोजगारीमा रहेको जनाएकी छन्। अर्थात् उनी अहिले फिनल्यान्डमा काम गर्ने अन्य विदेशी कामदार सरहको कानुनी अवस्थामा छिन्।

    उनले प्रहरीमा उजुरी दर्ता गराएकाले प्रहरीले त्यसको अध्ययन र छानबिन गर्नेछ, आवश्यकता अनुसार बयान लिने र थप अनुसन्धान गर्नेछ। त्यसपछि प्रहरीले आफ्नो रिपोर्ट सरकारी अभियोजन कार्यालयमा पठाउनेछ। अन्ततः आरोपितहरूमाथि मुद्दा चलाउने वा नचलाउने, वा चलाए कस्तो मुद्दा चलाउने भन्ने निर्णय सरकारी अभियोजन कार्यालयले गर्नेछ।

    तर कारणवश यस्ता केसहरूमा पीडितलाई कामबाट निकालियो र अन्य दबाबमा पारेर राजीनामा दिन बाध्य पारियो भने उनीहरूलाई आफ्नै देशमा फर्काउने प्रक्रिया अर्थात् ‘डिपोर्ट’ गर्ने प्रक्रिया भने सुरु हुँदैन।

    यो अवस्थामा पीडितले आफू मानव बेचबिखनको सिकार भएको कारण देखाउँदै यस्ता आप्रवासीहरूलाई दिइने विशेष आवास अनुमति (रेसिडेन्ट परमिट)का लागि निवेदन गर्न सक्छन्। फिनल्यान्डमा गैर कानुनी रूपमा बसिरहेका तथा पासपोर्ट नै नभएकाले पनि यो निवेदन दिन सक्ने फिनिस अध्यागमनको सूचनामा उल्लेख छ।

    छानबिन हुँदाहुँदै वा मुद्दा चल्दाचल्दै पीडितले देश छाड्न नपरोस् भनेर फिनल्यान्डले यस्तो प्रावधान राखेको हो।

    मानव बेचबिखनको सिकार भएका कारण प्राप्त विशेष रेसिडेन्स परमिट भएका व्यक्तिले स्वतन्त्र रूपमा काम गर्न, पढ्न, र अन्य गतिविधि गर्न पाउँछन्।

    सहयोग कसरी लिने?

    फिनल्यान्डमा मानव बेचबिखन व्यक्तिगत स्वतन्त्रताको विरुद्धको गम्भीर अपराध मानिन्छ। यसमा व्यक्तिलाई यौन शोषण, उचित तलब वा बिदा नदिई जबरजस्ती काममा लगाउने लगायतका कार्य पर्छन्। बेचबिखन गर्नेहरूले पीडितलाई हिंसाको धम्की दिने, आवास अनुमति रद्द गर्ने डर देखाउने वा ठुलो ऋण तिर्न दबाब दिने सक्छन्।

    यदि कोही व्यक्ति मानव बेचबिखनको सिकार भएको शङ्का लाग्छ भने, उसले तुरुन्तै मानव बेचबिखनका पीडितहरूलाई सहयोग गर्ने फिनिस सरकारी प्रणाली लाई सम्पर्क गर्न सक्छ।

    यस्तो सहयोग फोन मार्फत (+358 2954 63177, २४ सै घण्टा चल्ने), इमेल मार्फत [email protected] वा यो अनलाइन फारम भरेर लिन सकिन्छ। फिनिस वा अङ्ग्रेजी नबोल्नेका लागि दोभासेको व्यवस्था पनि उक्त सरकारी सहयोग प्रणालीले नै गर्ने गर्छ।

    कानुनी सहयोग र सरकारी वकिल

    सामान्यतया कानुनी सहायता लिन चाहने सम्बन्धित पक्षले त्यसको खर्च आफैँले बेहोर्नु पर्छ भन्ने मान्यता राखिन्छ। तर यदि निजसँग आवश्यक सहायता लिनका लागि आर्थिक क्षमता छैन भने, सो खर्च राज्यको कोषबाट आंशिक वा पूर्ण रूपमा बेहोर्न सकिने प्रावधान फिनल्यान्डमा रहेको छ।

    गम्भीर अपराधका पीडितले आफ्नो आयस्रोत जस्तोसुकै भए तापनि राज्यको खर्चमा कानुनी सल्लाहकारको सुविधा प्राप्त गर्न सक्छन्।

    कानुनी सहायता प्रदान गर्नका लागि फिनल्यान्डमा राज्यले नै कानुनी सहायता कार्यालयहरू स्थापना गरेको छ। श्रम शोषण, मानव बेचबिखन र अन्य गम्भीर अपराधको सिकार भएका व्यक्तिले कानुनी सहायता चाहिए सिधै यस्ता कार्यालयमा जान सक्छन्। आवश्यकता अनुसार दोभाषेको व्यवस्था पनि त्यहीँ गरिन्छ। हेलसिन्कीको कानुनी सहायता केन्द्रको सम्पर्क यहाँ छ, भने अन्य सहरमा रहेका कार्यालयहरूको विवरण यहाँ छ

    .के-के पर्छ मानव बेचबिखनमा?.


    के म मानव बेचबिखनको सिकार भएको हुँ?

    मानव बेचबिखन पहिचान गर्न गाह्रो हुन सक्छ र कतिपय अवस्थामा पीडित स्वयम्लाई पनि आफू बेचबिखनमा परेको थाहा नहुन सक्छ। तलका प्रश्नहरू पढेर विचार गर्नुहोस्। यदी तल दिइएका मध्ये कुनै अवस्था तपाईंसँग मेल खान्छन् भने तपाईं मानव बेचबिखनमा परेको हुन सक्ने सम्भावना रहन्छ।

    • के कसैले तपाईंलाई आफ्नो इच्छा विपरीत कुनै काम गर्न दबाब दिइरहेको छ?
    • यदि तपाईंलाई लागुपदार्थ वा मादक पदार्थको लत छ भने, के कसैले तपाईंको त्यो लतको फाइदा उठाउँदै तपाईंलाई मन नपर्ने काम गर्न बाध्य पारिरहेको छ?
    • के कसैले तपाईंको गैरकानुनी बसाइ (जस्तै विना भिसा ‘इलिगल’ बसेको अवस्थाको) फाइदा उठाउँदै तपाईंलाई आफ्नो इच्छा विपरीत काम गर्न बाध्य पारिरहेको छ?
    • के कसैले तपाईंको घरबारविहीन अवस्था वा आर्थिक अभाव/गरिबीको फाइदा उठाउँदै तपाईंलाई आफ्नो इच्छा विपरीत काम गर्न बाध्य पारिरहेको छ?
    • के कसैले उसका मागहरू पूरा नगरेमा तपाईंलाई प्रहरी वा सरकारी अधिकारीहरूलाई बुझाइदिने (जस्तैः पोल खोलिदिने, मुद्दा लगाइदिने, डिपोर्ट गरिदिने) धम्की दिइरहेको छ?
    • के कसैले उसका मागहरू पूरा नगरेमा तपाईंलाई आफ्ना नातेदार, साथीभाइ वा अरूको अगाडि बेइज्जत गरिदिने धम्की दिइरहेको छ?
    • के तपाईंले त्यस्तो व्यक्तिलाई पैसा तिर्न बाँकी छ (ऋण छ), जसले तपाईंलाई आफ्नो इच्छा विपरीत काम गर्न दबाब दिइरहेको छ?
    • के कसैले तपाईंलाई वा तपाईंको नजिकका मानिसहरूलाई धम्की दिएको छ?
    • के तपाईं आफ्नो वा आफ्ना नजिकका मानिसहरूको सुरक्षालाई लिएर डराउनुभएको छ?
    • के तपाईंलाई काम गरेबापत ज्यादै कम तलब दिइएको छ वा तलब नै दिइएको छैन, तर तपाईंले यस विषयमा केही गर्न नसक्ने अवस्था छ?
    • के तपाईंलाई आफ्ना कुराहरू कसैलाई भन्न वा मद्दत माग्न रोक लगाइएको छ?
    • के तपाईंको हिँडडुल गर्ने स्वतन्त्रतामा रोक लगाइएको छ वा तपाईं अरूको निगरानीमा मात्र बाहिर निस्कन पाउनुहुन्छ?
    • के तपाईंलाई आफ्नो परिस्थितिबाट उम्कने कुनै उपाय छैन जस्तो लाग्छ? (स्रोतः Ihmiskauppa.fi)

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप