.संक्षेपमा.
- स्वास्थ्य जाँचको समय रद्द नगरे वा बिना जानकारी अनुपस्थित भए लाग्ने जरिवानामा वृद्धि।
- सन् २०२६ को बजेट, लगानी योजना र चार वर्षे रणनीति बहुमतले पारित।
- आप्रवासी र बहुसांस्कृतिक समाजलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा सुधारमा विशेष जोड।
फिनल्यान्डको भान्ता सिटी काउन्सिल हलमा सोमबार साँझ बसेको भान्ता र केराभा वेलबिइङ सर्भिसेज काउन्टी (VAKE) को बैठकले आगामी वर्षको बजेट र सेवा शुल्क परिमार्जन गरेको छ।
बैठकले सन् २०२६ देखि २०२९ सम्मको रणनीति र लगानी योजना पनि पारित गरेको छ।
लगभग सम्पूर्ण सेवामा शुल्क वृद्धि भए पनि उल्लेख्य वृद्धि भने ‘नो-सो’ पेनाल्टीमा गरिएको छ। स्वास्थ्य परीक्षणको लागि समय लिएर नजाँदा र समयमै रद्द नगर्दा लाग्ने जरिवाना रकममा अरु क्षेत्रको तुलनामा धेरै वृद्धि गरिएको छ।
फिनल्यान्डमा स्वास्थ्य र सामाजिक सेवाहरू लिदा बुकिङ गरेको समयमा उपस्थित हुन नसक्ने भए पूर्व जानकारी गराउनु अनिवार्य हुन्छ। अन्यथा उपचार नगराए पनि शुल्क तिर्नुपर्छ। भान्ता र केराभा क्षेत्रमा उक्त नियमलाई थप कडाइ गरिएको हो।
सेवा शुल्क पारदर्शी हुनुपर्नेमा आचार्यको जोड
बैठकमा बोल्दै भान्ताका नगर पार्षद तथा VAKE काउन्सिलर शेखर आचार्यले सेवा शुल्क पारदर्शी हुनुपर्ने कुरामा जोड दिए। उनले ‘माइसा’ (Maisa) जस्ता डिजिटल प्लेटफर्ममै सेवा लिनुअघि कति शुल्क लाग्छ भन्ने जानकारी राख्न सुझाव दिएका छन्।
उनले आर्थिक संकटका कारण सेवा शुल्क बढाउनुपर्ने बाध्यतालाई स्वीकार गरे पनि साधारण मानिसलाई कुन सेवा नि:शुल्क हो र कुनमा पैसा लाग्छ भन्ने स्पष्ट नभएको बताए।
“धेरै बिरामीहरूले सेवा शुल्कबारे स्पष्ट बुझेका छैनन्,” आचार्यले आफ्नो मन्तब्यमा भने, “हामीसँग माइसा जस्ता डिजिटल प्लेटफर्महरू छन्, त्यसैले बिरामीले सेवा बुक गर्दा नै सम्भावित शुल्कको जानकारी पाउने व्यवस्था गरिनुपर्छ ताकि उनीहरू पहिले नै तयार हुन सकून्।”
आचार्यले मातृशिशु क्लिनिक र स्कूल स्वास्थ्य सेवालाई नि:शुल्क राखेर रोकथाममा प्राथमिकता दिएकोमा VAKE को प्रशंसा पनि गरे।
रणनीतिक योजना (२०२६-२०२९) माथिको छलफलमा आचार्यले भान्ताको बदलिँदो जनसांख्यिकीय स्वरूपतर्फ काउन्सिलको ध्यानाकर्षण गराए। उनले ३०-४० वर्षपछिको बहुसांस्कृतिक समाजलाई अहिले नै सोचेर तयारी थाल्नुपर्ने बताए।
“विशेषगरी वृद्धाश्रममा भाषा र संस्कृतिको भिन्नताले सञ्चारमा समस्या ल्याइरहेको छ,” उनले भने, “बिरामी र स्वास्थ्यकर्मीबीच सांस्कृतिक बुझाइ नहुँदा उपचारमा जटिलता आउन सक्छ।”
उनले भविष्यमा आउन सक्ने यस्ता चुनौती सामना गर्न अहिले नै अनुसन्धान र जनशक्ति विकासमा लगानी गर्न आग्रह गरे।
आचार्यले मातृशिशु क्लिनिक र स्कूल स्वास्थ्य सेवालाई नि:शुल्क राखेर रोकथाममा प्राथमिकता दिएकोमा VAKE को प्रशंसा पनि गरे।
आर्थिक अवस्था सुधार्ने चुनौती
सन् २०२६ को लागि VAKE को कुल राज्य कोष करिब १.३ बिलियन युरो रहेको छ। यसमध्ये अपाङ्गता र वृद्धवृद्धा सेवाका लागि ३२१ मिलियन तथा स्वास्थ्य सेवाका लागि २३१ मिलियन युरो छुट्याइएको छ।
VAKE ले आफ्नो सेवालाई प्रभावकारी बनाउन डिजिटल समाधान र कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग बढाउने लक्ष्य राखेको छ। साथै, अस्थायी एजेन्सीका कामदार कटौती गरेर वार्षिक २ प्रतिशत उत्पादकत्व बढाउने योजना छ।
VAKE को आर्थिक अवस्था सुधार्न यी कदमहरू चालिएको बताइएको छ। VAKE ले सुरुवाती दुई वर्षमा १६० मिलियन युरो घाटा बेहोरेको थियो भने अझै ११ करोड युरोभन्दा बढी सञ्चित घाटा पूर्ति गर्न बाँकी छ।
सोमबार साँझ ५ बजे सुरु भएको बैठक राति १०:१८ बजे सकिएको थियो। समय अभावका कारण एजेन्डामा रहेको काउन्टीको प्रशासनिक नियम सम्बन्धी छलफल भने अर्को बैठकका लागि सारिएको छ।





