संक्षेपमा
- नश्लवादी आरोपका कारण मिस फिनल्यान्डको उपाधि खोसियो।
- फस्ट रनरअप तारा लेहतिनेनलाई नयाँ मिस फिनल्यान्ड घोषित गरियो।
- आयोजकद्वारा कुनै पनि प्रकारको विभेद स्वीकार्य नहुने स्पष्टीकरण।
मिस फिनल्यान्ड सारा जाफ्सेले आफ्नो ताज गुमाएकी छिन्। नश्लवादी व्यवहारको आरोप लागेपछि मिस फिनल्यान्ड आयोजक संस्था र साराको आपसी सहमतिमा यो निर्णय गरिएको हो।
साराको बर्खास्तीसँगै मिस फिनल्यान्डको उपाधि फस्ट रनरअप तारा लेहतिनेनलाई हस्तान्तरण गरिएको छ। हेलसिन्कीमा आयोजित एक पत्रकार सम्मेलनमा उनलाई औपचारिक रूपमा ताज पहिराइएको थियो।
जाफ्सेमाथि नश्लवादी व्यवहारको गम्भीर आरोप लागेको थियो। सामाजिक सञ्जाल जोडेलमा उनको एउटा तस्बिर भाइरल भएको थियो, जसमा उनले आफ्ना औंलाले आँखा तन्काएर एसियालीहरूको नक्कल गरेकी थिइन्।
उक्त तस्बिरमा “चिनियाँसँग खाना खाँदै” भन्ने क्याप्सन लेखिएको थियो। उक्त तस्बिरलाई एसियाली समुदायको उपहास र अपमान गरेको रूपमा व्याख्या गरिएको छ।
मिस फिनल्यान्ड आयोजक संस्थाले यसअघि नै इन्स्टाग्राममार्फत जानकारी दिँदै जाफ्सेसँग छलफल गर्ने बताएको थियो। संस्थाले कुनै पनि प्रकारको नश्लवाद वा विभेद स्वीकार्य नहुने कडा सन्देश दिएको छ।
आयोजकले घटनाप्रति माफी माग्दै संस्थाको काम कारबाही सम्मान, समानता र जिम्मेवारीका सिद्धान्तमा आधारित हुने बताएको छ।
आयोजकले घटनाप्रति माफी माग्दै संस्थाको काम कारबाही सम्मान, समानता र जिम्मेवारीका सिद्धान्तमा आधारित हुने बताएको छ। यी मूल्यमान्यतामा कुनै पनि हालतमा सम्झौता नहुने उनीहरूको भनाइ छ।
फिनल्यान्डमा आप्रवासी समुदायमाथि हुने नश्लवादको विषय संवेदनशील मानिन्छ। सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो व्यवहार देखिनुले यहाँको आप्रवासी समाजमा बहस सिर्जना गरेको छ।





