.संक्षेपमा.
- सांसदहरूद्वारा ताज गुमाएकी मिस फिनल्यान्डको समर्थनमा विवादास्पद इसाराको सिको।
- ‘क्यान्सिल कल्चर’ को विरोध र मिस फिनल्यान्ड संगठनको आलोचना।
- विज्ञद्वारा उक्त इसारा नश्लवादी र शक्ति प्रदर्शनको माध्यम भएको टिप्पणी।
फिनल्यान्डमा ‘मिस फिनल्यान्ड’ सारा जाफ्सेको उपाधि खोसिएपछि सुरु भएको विवादले राजनीतिक रूप लिएको छ। पेरुस-सुओमालाइसेत अर्थात् फिन्स पार्टीका सांसदहरूले उपाधि गुमाएकी जाफ्सेको समर्थनमा आँखा तन्काएको तस्बिर सार्वजनिक गर्न थालेका छन्।
अचम्मको कुरा त के छ भने जाफ्से आफैँ आप्रवासीकी छोरी हुन्। उनी मिस फिनल्यान्ड हुँदा पनि उनी ‘वास्तविक फिनिस’ वा ‘गोरी फिनिस’ नभएको भन्दै आलोचना गर्ने धेरै त फिन्स पार्टी सम्बद्ध नै थिए।
फिन्स पार्टीकी सांसद काइसा गारेदेभले बिहीबार अबेर फेसबुकमा आँखा तन्काएको तस्बिर पोस्ट गरिन्। उनले फोटोमुनि ‘टाउको दुख्न नदिन कञ्चटको मसाज गरेको’ भन्दै व्यंग्यात्मक क्याप्सन लेखेकी छन्।
यसअघि फिन्स पार्टीकै सांसद तथा पूर्व उपसभामुख युहो एरोलाले पनि ब्रसेल्सबाट उस्तै तस्बिर सार्वजनिक गरेका थिए। उनले तस्बिरसँगै ‘Je suis Sarah’ (म सारा हुँ) लेख्दै आफूलाई नश्लवादी नभएको दाबी गरे।
पेरुसुओमालाइसेतको संसदीय दलका अध्यक्ष जानी माकेलाले एरोलाको कदमको बचाउ गरेका छन्। उनले सांसदको गतिविधिमा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारे।
युरोपेली संसदका सदस्य सेबास्टियन तिन्कुनेनले पनि भिडियो मार्फत सोही इसारा दोहोर्याएका छन्। उनले आफूलाई ‘क्यान्सल कल्चर’ ले असर नपर्ने बताउँदै मिस फिनल्यान्ड संगठनको आलोचना गरे।
तिन्किनेनले मानिसहरूले हाँसो ठट्टा सहनुपर्ने तर्क गरेका छन्। उनले यसलाई सेता वा काला मानिसहरूको शारीरिक बनावटमाथि गरिने ठट्टासँग तुलना गरे।
सांसद ओन्नी रोस्तिलाले एक युवतीको पुरानो तस्बिरमाथिको प्रतिक्रियालाई ‘अतिरञ्जित’ भनेका छन्। उनले यसलाई वामपन्थीहरूको ‘पागलपन’ को संज्ञा दिए।

अचम्मको कुरा त के छ भने जाफ्से आफैँ आप्रवासीकी छोरी हुन्। उनी मिस फिनल्यान्ड हुँदा पनि उनी ‘वास्तविक फिनिस’ वा ‘गोरी फिनिस’ नभएको भन्दै आलोचना गर्ने धेरै त फिन्स पार्टी सम्बद्ध नै थिए।
विज्ञहरूले नेताहरूको यो कदमको आलोचना गरेका छन्। युनिभर्सिटी अफ इस्टर्न फिनल्यान्डकी प्राध्यापक तुइजा सारेस्माले फिनिस भाषाको पत्रिका इल्तालेहतीलाई दिएको प्रतिक्रियामा उक्त इसारा नश्लवादी भएको बताएकी छन्।
सारेस्माका अनुसार यस्तो इसाराले ‘हामी अरूभन्दा राम्रा छौं’ भन्ने देखाउन खोज्छ। उनले यसलाई शक्तिमा रहेकाहरूले कमजोरमाथि गर्ने खिसीट्युरीको रूपमा व्याख्या गरिन्।
भएको के-हो?

हिजो मात्र ताज गुमाएकी मिस फिनल्यान्ड सारा जाफ्सेको केही दिनअघि आँखा च्यातेको फोटो सार्वजनिक भएको थियो। उक्त फोटोमा चाइनिजसँग खाना खाँदै’ लेखिएको थियो।
तर जाफ्सेले मिडियालाई स्पष्टीकरण दिँदै उक्त तस्बिरलाई “पूर्ण रूपमा सन्दर्भ बाहिर” अपव्याख्या गरिएको बताएकी थिइन्।
– “म आफ्नो साथीसँग रेस्टुरेन्टमा खाना खाइरहेकी थिएँ। मलाई त्यतिबेला बेस्सरी टाउको दुखेको थियो अनि आँखामा पनि पीडा भइरहेको थियो। मैले टेबलमा ढल्किएर कन्चट मालिस गरें र आँखा तन्काएँ किनभने यसो गर्दा दुखाई कम गर्न मद्दत गर्छ।
जाफ्सेका अनुसार उनकी साथीलाई उनले त्यसो गरेको उनको हाउभाउ रमाइलो लाग्यो र फोटो खिच्न चाहिन।
– “म क्यामेरामा हेरेर मुस्कुराएँ र उनले त्यसमा आफ्नै क्याप्सन (टेक्स्ट) लेखिन्। त्यो लेखाइ मेरो होइन र मेरो आशयसँग कुनै पनि हिसाबले सम्बन्धित छैन।
कोसोभो मूलकी जाफ्सेले आफूले कुनै पनि प्रकारको जातिवाद स्वीकार नगर्ने कुरामा जोड दिएकी थिइन्।
जाफ्सेले आफ्नो टिकटकमा हवाइजहाजको बिजनेस क्लासबाट एउटा भिडियो पोस्ट गरेपछि भने यो विवाद झनै चर्कियो।
– “मान्छेहरू घृणा फैलाउँदैछन्, तर म भने फिनयरको बिजनेस क्लासमा छु,” उनले भनेकी थिइन्। यद्यपी पछि त्यो भिडियो हटाइएको थियो।
मिस फिनल्यान्ड आयोजक संस्थाले बुधबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै संस्थाले कुनै पनि प्रकारको जातिवादी र भेदभावपूर्ण व्यवहार स्वीकार नगर्ने बताएको छ। आयोजकले स्थितिलाई गम्भीरतापूर्वक लिएको र आफ्नो प्रतिनिधिको कामप्रति माफी मागेको बताएको छ।
अन्ततः हिजो बिहीबार आयोजक संस्थाले जाफ्सेको ताज खोसेको थियो।





