संक्षेपमा
- आज वर्षकै छोटो दिन र सबैभन्दा लामो रात।
- भोलि सोमबारदेखि दिनको लम्बाइ बिस्तारै बढ्दै जाने।
- फेब्रुअरी महिनाको अन्त्यसम्ममा उज्यालो समय उल्लेख्य बढ्ने।
फिनल्यान्डमा आज आइतबार डिसेम्बर २१ मा ‘विन्टर सोल्स्टिस’ अर्थात् वर्षकै सबैभन्दा छोटो दिन परेको छ। यो दिन उत्तरी गोलार्धमा सूर्यको प्रकाश सबैभन्दा कम समयका लागि उपलब्ध हुन्छ।
हिउँदको चिसो र अन्धकार झेलेर फिनल्यान्डमा बस्नेहरूका लागि अब उज्यालो दिनको सुरुवात हुनु सुखद समाचार हो।
यो वर्ष फिनल्यान्डका धेरै स्थानमा हिउँ नपरेका कारण नोभेम्बर-डिसेम्बर महिनाको अँध्यारोले धेरैलाई झनै दिक्दार बनाएको छ।
भोली सोमबारदेखि दिनहरू पुनः लामा हुन थाल्नेछन्। फिनल्यान्डमा यसलाई जाडोको चरम विन्दु सकिएर बसन्ततर्फको यात्रा सुरु भएको मानिन्छ।
दक्षिण फिनल्यान्डका केही क्षेत्रमा दिउँसोको उज्यालो केही दिन अघिदेखि नै झिनो रूपमा बढ्न थालेको छ। तर बिहानीको समय भने नयाँ वर्षसम्म अझै केही समय अँध्यारो नै रहने देखिन्छ।
सुरुका केही दिनहरूमा दिन लामो हुने गति निकै सुस्त हुने गर्छ। फेब्रुअरी महिना सुरु भएपछि भने उज्यालो बढेको स्पष्ट महसुस गर्न सकिनेछ।





