0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीको चिसोमा पग्लिएको नेपाली मन: जब माल्मीको हलभित्र गुञ्जियो ‘सोचेझैँ जिन्दगी रैनछ’

    जिन्दगी सोचेजस्तो सधै नभए पनि र भूगोल जतिसुकै टाढा भए पनि सङ्गीतको एउटा त्यान्द्रोले सारा नेपालीलाई एकै ठाउँमा बाँध्न सक्दो रहेछ भन्ने हाम्रो इभेन्ट्सले हिजो हेलसिन्कीमा आयोजना गरेको 'लोक भाका साँझ २०२५' मा स्पष्टै देखियो। 

    संक्षेपमा


    • गायक खेम सेन्चुरीका चर्चित गीतहरूमा पसिना छुट्ने गरी नाचे फिनल्यान्डका नेपाली।
    • पाँच पटकका फिनिस बक्सिङ च्याम्पियन बनेका सन्दीप पाण्डे कार्यक्रममा सम्मानित।
    • नेपालीलाइनेनसँग पाठकले गरे भलाकुसारी, देखाए ऐक्यबद्धता

    हिजो अर्थात् डिसेम्बर २३ को साँझ। हेलसिन्कीमा हिउँ त परेको थिएन तर तापक्रम भने शून्यभन्दा तल झरेको थियो, र बाहिर ठिहिर्‍याउने चिसो थियो।

    बाटो हिँड्ने फाट्टफुट्ट मानिसहरू लामा कोट र बाक्ला टोपीमा गुटुमुटु थिए। तर उत्तरी ध्रुवको यो चिसो सहरको एउटा कुनामा भने रापिलो माहौल थियो।

    माल्मीस्थित Työväentalo को हलभित्र छिर्दा लाग्थ्यो—त्यहाँ नेपालको पहाडी क्षेत्रको कुनै जीवन्त मेला चलिरहेको छ।

    बाहिरको चिसो र भित्रको पसिना। यही विरोधाभासबिच फिनल्यान्डमा बसोबास गर्ने नेपाली समुदायले आफ्नो थात-थलोको सुगन्ध सुँघ्दै हाम्रो इभेन्ट्सले आयोजना गरेको ‘लोक भाका साँझ २०२५’ भव्य रूपमा मनाए।

    खेम सेन्चुरीले दिए विशेष प्रस्तुति

    साँझको ६ बज्नै लाग्दा हलभित्र मानिसहरूको चहलपहल बढिसकेको थियो । कार्यक्रमको मुख्य आकर्षण थिए— नेपाली लोक सङ्गीतका उम्दा गायक तथा सङ्गीतकार खेम सेन्चुरी। जब उनी मञ्चमा उक्लिए, हलको माहौल एकाएक तातियो ।

    ‘टेबुलमा काइँयो र ऐना छ…सोचेझैँ जिन्दगी रैनछ’

    सेन्चुरीको स्वरमा यो चिरपरिचित गीत गुन्जँदा धेरै रमाए भने कोही कोहीका आँखा रसाए।

    परदेशको सङ्घर्ष, परिवारप्रतिको जिम्मेवारी र सपनाको भारी बोकेर हिँडेका नेपालीहरूका लागि यो गीत मनोरञ्जन मात्र थिएन। लाग्थ्यो यो गीतले उनीहरूका आफ्नै तिता मिठा भोगाइको लयबद्ध कथा बोकेको थियो, पस्केको थियो। 

    आफ्नो प्रस्तुति दिनुअघि सेन्चुरीले छोटो तर मर्मस्पर्शी मन्तव्य पनि राखेका थिए । उनको आह्वानमा जब हलभित्र उपस्थित सबै नेपालीहरूले एकै स्वरमा ‘जय नेपाल’ भने, लाग्थ्यो हेलसिन्कीको त्यो हल एक छिनका लागि ‘मिनी नेपाल’मा परिणत भयो।

    जब सेन्चुरीले ‘अरेली काडैले’ गाउन सुरु गरे, त्यसपछि भने हलमा धेरैलाई कुर्सीमा सम्हालिएर बस्न गाह्रै पर्‍यो। दर्शकहरू असिन–पसिन हुन्जेल नाचे।

    आफ्नो प्रस्तुति दिनुअघि सेन्चुरीले छोटो तर मर्मस्पर्शी मन्तव्य पनि राखेका थिए । उनको आह्वानमा हलभित्र उपस्थित सबै नेपालीहरूले एकै स्वरमा ‘जय नेपाल’ पनि भने। त्यो बेला लाग्थ्यो हेलसिन्कीको त्यो हल एक छिनका लागि भएपनि ‘मिनी नेपाल’मा परिणत भएको थियो।

    साँझको काम सकेर आउने पनि भेटिए

    साँझ करिब सात बजेतिर सहभागीहरूले कार्यक्रमस्थल भरिएको थियो। कार्यक्रममा उपस्थित भएका बालबालिकाहरू पनि रमाएका देखिन्थे।

    कामको व्यस्तताका बाबजुद केही नेपालीहरू भने राति ढिलो गरी भए पनि कार्यक्रममा पुगेका थिए। भोलिपल्ट क्रिसमसको बिदा भएकाले पनि सहभागीहरू ढुक्क भएर नाचगानमा रमाएका देखिन्थे।

    “काम सकेर दौडी–दौडी आएँ,” राती ९ बजेतिर मात्र हलभित्र छिरेका एकजनाले नेपालीलाइनेनलाई भने। “खेम सेन्चुरी दाइको प्रस्तुति छुटाउनै मन लागेन। मज्जाले नाचिन्छ, त्यही माथि भोलि त बिदा पनि छ!”

    ओबी रायमाझीदेखि स्थानीय कलाकारको प्रस्तुति

    कार्यक्रममा सेन्चुरी मात्र एक्ला सारथि थिएनन् । चर्चित मोडल ओबी रायमाझीले आफ्नो ऊर्जावान् प्रस्तुतिबाट दर्शकलाई सुरुवातमै तताएका थिए ।

    ‘रामराम मरौटी तिम्रो रुपै करौती जस्ता दर्जनौँ हिट भिडियोमा देखिएका रायमाझीको प्रस्तुति पनि जोसिलो र लोभलाग्दो थियो ।

    त्यसो त स्थानीय कलाकारहरूको योगदान पनि कम रहेन। गायक शिव पाण्डे, पप गायक सुजन त्रिपाठी र लोकगायिका विनीता लामिछानेले फिनल्यान्डमै रहेर पनि नेपाली सङ्गीतको ज्योति निभ्न नदिएको प्रमाण पेस गरे।

    हिरुना बुढाथोकी मगरले धमाकादार नृत्य र लोकगायक आरके शर्माले आफ्नो मौलिक शैली पस्किए । विस्मिता खरेल, सिम्रिका सिंह, लक्ष्मी, सुवर्ण, स्मृति, बबिता, आशिका भण्डारी लगायतले पनि विभिन्न प्रस्तुति दिएका थिए। 

    कार्यक्रमको सञ्चालन सावित्री केसी र बिकिता कँडेलले संयुक्त रूपमा गरेका थिए। 

    सन्दीपको सम्मान, नेपालीलाइनेनसँग पाठकको भलाकुसारी

    कार्यक्रममा पाँच पटकसम्म फिनिस बक्सिङ च्याम्पियन बनेका सन्दीप पाण्डेलाई विशेष सम्मान गरिएको थियो। सम्मान पछि छोटो मन्तव्य दिएका पाण्डेले आफ्नो यात्राले नयाँ पुस्तालाई थोरै भए पनि प्रेरणा दिन सके आफूलाई भाग्यमानी ठान्ने बताएका थिए।

    कार्यक्रमको मिडिया साझेदार रहेको नेपालीलाइनेनले पनि सोही कार्यक्रमको अवसर पारेर एउटा भिन्न प्रयोग पनि गरेको थियो: पाठकसँग नेपालीलाइनेन

    हलको बाहिर पट्टी कुनामा पाठकहरूले नेपालीलाइनेनसँग भलाकुसारी गरेका थिए। धेरैले नेपालीलाइनेनलाई फिनल्यान्डमा नेपाली भाषाको स्तरीय अनलाइन पत्रिका सुरु गरेकोमा धन्यवाद दिएका थिए। जिज्ञासा, सुझाव र धन्यवादका अलावा कैयौँ पाठकहरूनेपालीलाइनेनका सहयोगी सदस्य पनि बनेका थिए।

    “डर, धाक, धम्की वा प्रलोभनमा नपरी उच्च गुणस्तरको पत्रकारिता गर्नुहोला,” एकजना पाठकले भने। “मेरै परिवारमा फिनिस र अङ्ग्रेजी दुवै नबुझ्ने हुनुहुन्छ, वहाँहरू जस्तालाई नेपालीलाइनेनका कारण निकै राहत भएको छ।”

    “म आफैँ फिनिस र अङ्ग्रेजीमा समाचार पढ्छु, तर पनि नेपालीलाइनेनमा आएका हरेक समाचार पढ्छु। आफ्नो भाषामा पढ्नुको मज्जा अर्कै हुन्छ,” उनले थपे।

    नेपालीलाइनेनका प्रधान सम्पादक मनोज भुसाल र हाम्रो इभेन्ट्सका नीराजन थापाले नेपालीलाइनेनको यात्राका बारेमा स्टेजमा छोटो संवाद पनि गरेका थिए ।

    कार्यक्रम स्थलमा नेपाली युवाहरूले सञ्चालन गरेको ‘क्यालोर न्युट्रिसन’ (Calor Nutrition) ले सहभागीहरूलाई निःशुल्क कफी, जुस र प्रोटिन सेक बाँडेको थियो । फिनल्यान्डको व्यावसायिक क्षेत्रमा नेपाली युवाहरूको बढ्दो पदचापको यो एउटा सुन्दर उदाहरण थियो ।

    करिब ४ घण्टाभन्दा बढी चलेको यो साङ्गीतिक उत्सवमा केही समय साउन्ड सिस्टममा प्राविधिक समस्या देखिए पनि अरू व्यवस्थापन पक्ष चुस्त देखिन्थ्यो ।

    कार्यक्रमको अन्त्यमा नेपालीलाइनेनसँग कुरा गर्दै आयोजक हाम्रो इभेन्ट्सका शेखर आचार्य र नीराजन थापाले सहभागीहरूको उपस्थिति र सक्रियता देखेर आफूहरू निकै उत्साहित भएको बताए । 

    कार्यक्रमका सहभागीहरू।
    कार्यक्रममा प्रस्तुती दिदै मोडल ओबी रायमाझी।
    कार्यक्रम प्रस्तोताहरूसँग गायक खेम सेन्चुरी र मोडल ओबी रायमाझी।
    नेपालीलाइनेनका प्रधान सम्पादक मनोज भुसाल (बायाँ) र हाम्रो इभेन्ट्सका नीराजन थापा (दायाँ) नेपालीलाइनेनको यात्राका बारेमा संवाद गर्दै।
    कार्यक्रममा सहभागीहरूलाई निःशुल्क विभिन्न पेय पदार्थहरू वितरण गरेको Calor Nutrition को टिम।

    फोटोहरूः नेपालीलाइनेन र हाम्रो इभेन्ट्स

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप