संक्षेपमा
- विद्यार्थी लन्चको मूल्य १५ सेन्टले बढेर ३.१० युरो पुग्ने।
- बढ्दो लागतका कारण मूल्य समायोजन गर्नुपरेको KELA को दाबी।
- विद्यार्थीको स्वास्थ्य र सामाजिक सम्बन्धका लागि सहुलियत लन्च मानिन्छ महत्त्वपूर्ण।
फिनल्यान्डमा अध्ययनरत विद्यार्थीहरूले अब दैनिक लन्चका लागि बढी शुल्क तिर्नुपर्ने भएको छ।
सामाजिक बीमा संस्था KELA ले जनवरी १, २०२६ देखि लागू हुने गरी विद्यार्थी लन्चको मूल्य बढाउने घोषणा गरेको हो।
यो निर्णयले फिनल्यान्डका विभिन्न विश्वविद्यालय र कलेजमा पढ्ने नेपाली विद्यार्थीहरूलाई पनि प्रत्यक्ष प्रभाव पार्नेछ।
नयाँ नियम अनुसार विद्यार्थीहरूले एक छाक लन्चका लागि ३.१० युरो तिर्नुपर्नेछ। यो हालको मूल्यभन्दा १५ सेन्टले बढी हो।
सरकारले दिने अनुदान पनि २.५५ युरोबाट बढाएर २.८० युरो पुर्याइएको KELA ले जनाएको छ।
यो निर्णयले फिनल्यान्डका विभिन्न विश्वविद्यालय र कलेजमा पढ्ने नेपाली विद्यार्थीहरूलाई पनि प्रत्यक्ष प्रभाव पार्नेछ।
KELA का अनुसार महँगी र खाद्यान्नको बढ्दो लागतका कारण यो मूल्य वृद्धि भएको हो।
मूल्य बढे पनि अझै पनि यो विद्यार्थीका लागि निकै सस्तो रहेको KELA की योजनाकार सारी मिएत्तीनेनले विज्ञप्तिमा बताएकी छन्।
विशेष लन्चको पनि मूल्य वृद्धि
साधारण लन्चका साथै विशेष लन्चको मूल्यमा पनि वृद्धि गरिएको छ। विशेष लन्चका लागि अब विद्यार्थीले ४.५० देखि ५.९० युरोसम्म तिर्नुपर्नेछ। विशेष खानाहरू महँगो कच्चा पदार्थबाट बन्ने भएकाले मूल्य २५ देखि ३० सेन्टले बढाइएको हो।
सन् २०२४ मा मात्रै फिनल्यान्डभर करिब १ करोड २३ लाख सहुलियत दरका लन्चहरू बिक्री भएका थिए। KELA ले विद्यार्थीहरूलाई क्यान्टिनको लन्च खान प्रोत्साहन गर्ने गरेको छ।
विश्वविद्यालयका क्यान्टिनमा पाइने सन्तुलित भोजनले विद्यार्थीलाई सन्तुलित र राम्रो ऊर्जा दिने विश्वास गरिन्छ। साथै सामूहिक रूपमा लन्च खाँदा सामाजिक सद्भाव बढ्ने र साथीभाइबीचको सम्बन्ध प्रगाढ हुने अपेक्षा पनि राखिन्छ।
नयाँ वर्षको सुरुवातसँगै फिनल्यान्डका विभिन्न सहरमा रहेका नेपाली विद्यार्थीहरूले पनि यो थप आर्थिक भार वहन गर्नुपर्नेछ। यद्यपि मूल्य बढे पनि बाहिरका रेस्टुरेन्टको तुलनामा यो अझै किफायती नै देखिन्छ।





