0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    वामपन्थीलाई प्रेम गर्न सक्दिन भन्ने प्रस्तोतालाई वामपन्थी नेतृले दिइन् कफी खाने निम्तो

    फिनल्यान्डका चर्चित रेडियो प्रस्तोता किम्मो भेहभिलाइनेन र वामपन्थी दलकी अध्यक्ष मिन्या कोस्केलाबीचको वैचारिक घर्षणले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।

    संक्षेपमा


    • वामपन्थी विचारधाराका मानिसहरूमा कटुता मात्र हुने चर्चित रेडियो प्रस्तोताको आरोप।
    • विचारधारा बुझाउन र भ्रम चिर्न वामपन्थी पार्टी अध्यक्षले दिइन् कफीका लागि भेट्ने निम्तो।
    • कोस्केला भन्छिन्-वामपन्थी विचारधारा कटुतामा हैन प्रेम, आशा र राम्रो संसार बनाउने विश्वासमा टिकेको छ।

    फिनल्यान्डका चर्चित रेडियो प्रस्तोता किम्मो भेहभिलाइनेनले आफू ‘कहिल्यै पनि वामपन्थी विचारधारा बोक्ने व्यक्तिसँग प्रेममा पर्न नसक्ने’ कुरा एउटा चर्चित पोडकास्टमा बताएपछि सुरु भएको बहसले फिनल्यान्डको सामाजिक सञ्जाल तातेको छ।

    Saatan olla väärässäkin अर्थात् ‘म गलत पनि हुन सक्छु’ भन्ने पोडकास्टमा बोल्दै भेहभिलाइनेनले ‘वामपन्थीहरूको जीवन र आत्मा नै कटुतामा आधारित हुने’ टिप्पणी गरेका थिए।

    जवाफमा वामपन्थी दल (लेफ्ट एलायन्स) की अध्यक्ष मिन्या कोस्केलाले भेहभिलाइनेनलाई वैचारिक छलफलका लागि र कफी पिउन सार्वजनिक निमन्त्रणा दिएकी छन्।

    भेहभिलाइनेनले वामपन्थीहरू ‘सधैँ अरूले आफूलाई केही दिनुपर्छ’ भन्ने ऋणको मानसिकतामा रहने दाबी गरे। उनले बरु दक्षिणपन्थी ‘फिन्स पार्टी’का समर्थकहरूसँग सम्बन्ध राख्न तयार रहेको तर वामपन्थीसँग नसक्ने बताएका थिए।

    फिनल्यान्डको राजनीतिमा फिन्स पार्टी र वामपन्थी दलबिच विचारधारामा ठुलो अन्तर छ।

    भेहभिलाइनेनको अभिव्यक्तिले सामाजिक सञ्जालमा ठुलो चर्चा पाएपछि मिन्या कोस्केलाले कडा तर रचनात्मक प्रतिक्रिया दिएकी हुन्।

    कोस्केलाले फेसबुकमार्फत भेहभिलाइनेनलाई आफ्नो प्रस्ताव ‘डेटिङ’ को निम्तो नभएर वैचारिक छलफलको अवसर मात्र भएको स्पष्ट पारिन्।

    “यो डेटिङको प्रस्ताव भनेर चाहिँ नबुझ्नु है!” कोस्केला लेख्छिन्। “पहिलो त म रिलेसनशिपमा छु, दोस्रो डेटिङका लागि हामी एकदमै नराम्रो जोडी हुने थियौं। म परेँ वामपन्थी पार्टीको अध्यक्ष र तपाईँ वामपन्थीहरूमा रुचि नै नराख्ने मान्छे!”

    कोस्केलाका अनुसार वामपन्थी विचारधारा कटुतामा नभई प्रेम, आशा र राम्रो संसार बनाउने विश्वासमा टिकेको छ। उनले समाजमा व्याप्त अन्याय देख्दा रिस उठ्नु स्वाभाविक भएको र त्यसलाई परिवर्तनको ऊर्जा बनाउनुपर्ने धारणा राखेकी छन्।

    कोस्केलाले ठट्टा गर्दै आफू पूर्वी हेलसिन्कीको मेट्रो स्टेसनमा बस्ने ‘टिपिकल’ वामपन्थी भएको बताइन्। तर उनले भेहभिलाइनेनलाई भेट्न एइरा (Eira) जस्तो सम्पन्न ठाउँमा पनि आउन सक्ने विकल्प दिइन्।

    सामान्यतया पूर्वी हेलसिन्कीलाई श्रमिक र वामपन्थीहरूको बाहुल्य भएको क्षेत्र मानिन्छ भने एइरा  क्षेत्रलाई उच्च वर्ग र धनीहरूले बसोबास गर्ने क्षेत्रका रुपमा चिनिन्छ।

    ३८ वर्षे कोस्केला राजनीतिज्ञ, सङ्गीतकार, लेखिका र नारीवादी विचारकका रूपमा चिनिन्छिन्। अहिले उनी बाम गठबन्धन पार्टीको अध्यक्ष छिन् र साथसाथै सांसद र हेलसिन्की नगर परिषद्को सदस्यको जिम्मेवारी पनि सम्हालिरहेकी छिन्।

    उनी र उनको पार्टी आप्रवासीहरू प्रति पनि नरम विचार राख्छन्।

    कोस्केलाले प्रतिष्ठित सिबेलियस एकेडेमीबाट सङ्गीतमा पिएचडी र ताम्पेरे युनिभर्सिटीबाट समाजशास्त्रमा मास्टर्स गरेकी छिन्। राजनीतिमा छोटो समयमै राम्रो पकड बनाएकी उनी विशेष गरी समानता, नारीवाद र सङ्गीत शिक्षासम्बन्धी आफ्ना स्पष्ट विचारहरूका कारण परिचित छिन्।

    भेभिलाइनेनले भने फिनल्यान्डमा एक स्थापित रेडियो र टेलिभिजनकर्मीको रुपमा पहिचान बनाएका छन्।

    सञ्जालमा थरीथरीका टिप्पणी

    यो समाचार लेखुन्जेल कोस्केलाको उक्त फेसबुक पोस्टलाई दस हजार भन्दा धेरैले ‘रियाक्ट’ गरेका छन् भने करिब बाह्र सयले प्रतिक्रिया लेखेका छन्।

    सामाजिक सञ्जालमा कतिपयले भेहभिलाइनेनको स्पष्टताको समर्थन गरेका छन् भने कसैले उनको बुझाइ सङ्कुचित भएको टिप्पणी गरेका छन्।

    धेरैले राजनीतिक आस्थाकै आधारमा मानिसलाई मूल्याङ्कन गर्नु गलत भएको भन्दै कोस्केलाको बचाउ गरेका छन्।

    अनि भेहभिलाइनेनले यो निम्तो स्विकार गर्छन् वा गर्दैनन् भन्नेमा धेरैको उत्सुकता देखिन्छ। 

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप