यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- स्पेन र स्विडेनलाई उछिन्दै फिनल्यान्ड बन्यो बेरोजगारी दरमा एक नम्बर।
- लागत कटौती र संरचनात्मक परिवर्तनले रोजगारीमा असर।
- यो वर्षदेखि बेरोजगारी दरमा सुधार आउने अपेक्षा।
फिनल्यान्डको अर्थतन्त्रमा आएको सुस्तताका कारण यहाँको बेरोजगारी दर युरोपेली युनियन (EU) का सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा उच्च विन्दुमा (१०.६%) पुगेको छ।
युरोपेली तथ्याङ्क निकाय ‘युरोस्टाट’ ले सार्वजनिक गरेको नोभेम्बर महिनाको प्रतिवेदनले यस्तो देखाएको हो।
विगत लामो समयदेखि उच्च बेरोजगारीका कारण पहिलो स्थानमा रहेको स्पेन अहिले दोस्रो स्थान (१०.४%) मा झरेको छ। स्विडेन बेरोजगारीका हिसाबले तेस्रो खराब देश बनेको छ। स्विडेनमा बेरोजगारी दर ९.१% रहेको छ।
फिनल्यान्डको आर्थिक मामिला तथा रोजगार मन्त्रालयकी उप-सचिव एलिना पुल्क्यानेनले यसको मुख्य कारण संरचनात्मक परिवर्तन भएको स्थानीय फिनिस भाषाका संचार माध्यमलाई दिएको प्रतिक्रियमा बताइन्।
उनका अनुसार कम्पनीहरूले नयाँ लगानी गर्नुको सट्टा लागत कटौती गरेर उत्पादकत्व बढाउन खोजेका छन्। यसको प्रत्यक्ष असर रोजगारीमा परेको छ। निजी र सार्वजनिक दुवै क्षेत्रमा कर्मचारीहरूको संख्यामा व्यापक कटौती गरिएको छ।
फिनल्यान्डको बेरोजगारी दर अहिले विगत १५ वर्षयताकै खराब अवस्थामा पुगेको छ। स्पेनमा भने पछिल्ला वर्षहरूमा बेरोजगारीको स्थितिमा केही सुधार आएको देखिन्छ।
दक्षिण युरोपेली देशहरूमा बेरोजगारी घट्दै जाँदा उत्तरी युरोपमा भने यो बढ्दो क्रममा छ। विशेषगरी फिनल्यान्ड र स्विडेनको श्रम बजारमा दबाब बढेको देखिन्छ।
दक्षिण युरोपमा कम बेरोजगारी
दक्षिण युरोपका जर्मनी र नेदरल्यान्ड जस्ता देशहरूमा भने बेरोजगारी दर निकै कम छ। नोभेम्बरमा यी देशहरूको बेरोजगारी दर ४ प्रतिशतभन्दा तल रहेको थियो।
जर्मनीको आर्थिक वृद्धिदर कमजोर भए पनि त्यहाँको श्रम बजारमा खासै नकारात्मक असर परेको छैन। तर फिनल्यान्डमा भने आर्थिक मन्दीको प्रभाव रोजगारीमा प्रस्ट देखिएको छ।
फिनल्यान्डमा काम खोज्ने मानिसहरूको संख्या पनि पछिल्लो समय बढेको छ। यसमा विदेशबाट आएका आप्रवासी र कामको खोजीमा रहेका स्थानीय दुवै पर्छन्।
काम खोज्नेको तुलनामा नयाँ रोजगारीका अवसरहरू सिर्जना नहुँदा समस्या जटिल बनेको हो। यद्यपि विज्ञहरूले आगामी दिनमा अवस्था सुध्रिने आशा गरेका छन्।
सन् २०२५ भित्र बेरोजगारी दर बिस्तारै घट्न थाल्ने प्रक्षेपण छ। केही औद्योगिक क्षेत्रहरूमा अहिले नै नयाँ रोजगारीका संकेतहरू देखिन थालेका छन्।
गत वर्षको तुलनामा रोजगारीमा रहेका मानिसहरूको संख्या पनि करिब २५,००० ले बढेको छ। यसले बजारमा केही सकारात्मक चहलपहल सुरु भएको संकेत गर्छ।
युरोस्टाटले १५ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई श्रम बजारको तथ्याङ्कमा समावेश गर्छ। यो बेरोजगारी दर ‘सिजनली एडजस्टेड’ (मौसमी प्रभाव हटाइएको) हुन्छ, जसले गर्दा चाडपर्व वा बिदाका कारण हुने अस्थायी घटबढले तथ्याङ्कलाई असर गर्दैन।
फिनल्यान्डमा आप्रवासीहरूको सङ्ख्या बढ्नु र स्थानीयहरू पनि सक्रिय रूपमा काम खोज्न थाल्नुलाई बेरोजगारी दर बढ्नुको एक प्राविधिक कारण पनि मानिएको छ, किनकि काम खोज्ने सबै व्यक्तिलाई बेरोजगारको सूचीमा राखिन्छ।





